

४ घण्टा पहिले
चैत्र-२३,पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको हो ।यस्तो आदेशले २६ चैतमा ओली र लेखक हिरासतमुक्त हुनेछन् ।
ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले जारी गरेको हो ।
प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले जारी गरेको हो ।
गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा प्रहरीले ओली र लेखकलाई गत चैत १४ गते पक्राउ गरेको थियो ।
दुवै जनालाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जीलाई समर्थन गराई पटक-पटक म्याद थपको समेत अनुमति पाएको हो ।
प्रहरीले ओली र लेखक दुवैको बयान समेत लिने कार्य सम्पन्न गरिसकेको भए पनि थप अनुसन्धानको कार्य बाँकी नै रहेको भन्दै आइतबार मात्र जिल्ला अदालतबाट ५/५ दिनको म्याद थप लिएको थियो ।