× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    चाउचाउ लगायतका एमएमसीजीमा अन्तःशुल्कको दर वृद्धि, स्वदेशी उत्पादन महँगो हुने

    ३ घण्टा पहिले

    जेठ-१६, तयारी चाउचाउ, स्न्याक्स, टेट्राप्याक जुस लगायतका एफएमसीजीमा अन्तःशुल्कको दर घट्ने आशा लिएर बसेका उद्योगी हिस्स परेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा चाउचाउ लगायतका एमएमसीजीमा अन्तःशुल्कको दर वृद्धि भएपछि उद्योगी निराश भएका हुन्।

    नेपालमा भ्याट र अन्तःशुल्कका कारण चाउचाउ र एमफसीजीमा ३० प्रतिशतसम्मको मूल्यवृद्धि हुँदै आएको थियो। उता भारतमा जीएसटी ५ प्रतिशत मात्र हुँदा नेपालका उद्योगले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। भारतमा सस्तो जीएसटीका कारणले अवैध आयात मौलाएको छ। उद्योगीले अवैध आयातका एफएमसीजीसित प्रतिस्पर्धा गर्न नसकेको भन्दै अन्तःशुल्कका दर हटाउन लामो समयदेखि लबिइङ गर्दै आएका थिए।

    तर मन्त्री वाग्लेले बजेट भाषणमा २७३ वस्तुको अन्तःशुल्क खारेजीको घोषणा गरे पनि दैनिक उपभोगका खाद्यवस्तुमा यथावत् राखेका छन्। जसअनुसार चाउचाउ, नुडल्स, पास्ता, म्याकरोनी, कुसकुस लगायतका वस्तुको आयातमा अन्तःशुल्क किलोको २० रुपैयाँबाट ३५ बनाइएको छ। तर, यिनै वस्तुको स्वदेशी उत्पादनमा भने अन्तःशुल्क किलोको ३५ रुपैयाँमा ४० प्रतिशत छुट दिने घोषणा गरिएको छ।

    यस हिसाबले आन्तरिक उत्पादनमा किलोको २१ रुपैयाँ हुनेछ। किलोको २० रुपैयाँ तिरिरहेका उद्योगीले अब २१ बुझाउनु पर्नेछ।

    अवैध आयात भएको नुडल्स र पास्तासित प्रतिस्पर्धा गर्न नसकिरहेका बेला औद्योगिक वातावरणलाई निराश पार्ने गरी अन्तःशुल्कको दर प्रस्ताव गरिएको उधोगीहरुले बताए।

    त्यस्तै कुरकुरे, चिप्स, कुरमुरे, चिज बल्सको अन्तःशुल्क आन्तरिक उत्पादनमा किलोको २० बाट २५ र आयातमा किलोको २० बाट ७५ रुपैयाँ प्रस्ताव गरिएको छ। उद्योगीले यसले राजस्वमा कुनै सकारात्मक प्रभाव नपार्ने बरु उल्टो असर हुने प्रतिक्रिया दिएका छन्।

    उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले भने, ‘आयातित वस्तुलाई महँगो शुल्क लगाएपछि अवैध आयात अझ मौलाउनेछ। यसको सट्टा आन्तरिक उत्पादनमा अन्तःशुल्क छुट गरिएको भए स्वदेशी उद्योग र उत्पादनको प्रवर्धन हुने थियो।’

    इनर्जी ड्रिंक्समा स्वदेशी उत्पादनमा अन्तःशुल्क लिटरको ५२ बाट ५५ गरिएको छ भने आयातमा लिटरको ५२ बाट १२० बनाइएको छ। त्यस्तै टेट्राप्याक जुसमा लिटरको १३ रुपैयाँ ५० पैसाबाट १४ रुपैयाँ प्रस्ताव गरिएको छ।

    उपाध्यक्ष काबराले मन्त्री वाग्लेले बजेट भाषणमा अन्तःशुल्क छुट गरेको बताएर आवश्यक वस्तुमा भने झन् वृद्धि गरेको भन्दै रोष व्यक्त गरे। उनले भने, ‘कहिल्यै कारोबार नहुने खालका वस्तुको अन्तःशुल्क हटाएर पपुलिस्ट तरिकाले भाषण गरेको देखियो। चलनचल्तीका वस्तुमा अन्तःशुल्कका दर हटाएको नभई झन् बढाएर स्वदेशी उत्पादन महँगो बनाउने काम भएको छ।’