

६ घण्टा पहिले
चैत्र-२२,सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ आँबुखैरेनीको रामशाहघाट–मनकामना सडकखण्डमा सचेतनामूलक बोर्डहरु राखिएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक बोर्ड राखेको हो ।
उक्त सडकखण्डको पाँच स्थानमा बोर्डहरु राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले बताए । ‘दुर्घटना जोखिम स्थानलाई ब्ल्याक स्पट पनि घोषणा गरेका छौ,’ उनले भने, ‘सोही क्षेत्रहरुमा सचेतनामूलक साइनबोर्डहरु राख्यौ ।’ उक्त सडकखण्डमा ठाडो ओरालो र उकालो भएकाले दुर्घटनाको जोखिम बढ्दो रहेको उनले जानकारी दिए ।
केही दिनअघि सोही सडकखण्डमा इभी माइक्रो दुर्घटना हुदाँ सात जनाको ज्यान गएको थियो । यसअघि पनि सोही सडकखण्डमा भएको इभी माइक्रो दुर्घटनामा एक जनाको ज्यान गएको थियो । दुर्घटना बढेपछि केही समयका लागि कार्यालयले इभी गाडीलाई सो क्षेत्रमा रोक समेत लगाएको थियो । अहिले खुल्ला भइसकेको र सावधानीका लागि सचेतनमूलक बोर्ड राखिएको बताइएको छ ।
दुर्घटना बढेपछि न्यूनिकरणका लागि कार्यालयले सचेतनामूलक बोर्ड राख्ने अभियान सुरु गरेको हो । सवारी चालक तथा यात्रुलाई सडकको अवस्थाबारे सचेत गराउने उदेश्यले बोर्डहरु राखिएको ट्राफिक प्रहरी इन्चार्ज अर्यालले बताए । उनका अनुसार सचेतनामूलक बोर्डमार्फत गति सीमित राख्न, सानो गियरमा सवारी चलाउन, न्यूट्रलमा सवारी नचलाउन र ओरालोमा ब्रेकले राम्रोसँग काम नगर्ने हुदाँ आवश्यक सावधानी अपाउन भनिएको छ ।