× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    हरिबोधिनी ठूलो एकादशीकै दिनमा किन त्रिवेणी मन्दिरमा मेला लाग्छ ?

    ७ घण्टा पहिले

    बोध र सोध। राम बहादुर लामा

    हरिबोधिनी एकादशीलाई वर्षको २४ वटा एकादशीहरु मध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यसैले यस एकादशीलाई आमरूपमा ठूलो एकादशी पनि भनिन्छ।  आषाढ शुक्ल एकादशीको दिनबाट भगवान् विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनदेखि उठने बिश्वास रहेको छ। त्यसकारण आषाढ शुक्लमा पर्ने एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्लमा पर्ने एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ। हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन गरिएको पूजा पाठ र व्रतले अपूर्व लाभ प्राप्त गर्ने कुरा शास्त्रमा बताएको छ। यस एकादशीका दिन गरिएको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबर पुण्य लाभ हुन्छ । भक्तिपूर्वक उपवास गर्नाले ऐश्वर्य, सम्पत्ति, उत्तम बुद्धि, राज्य तथा सुख पाउन सकिन्छ । हरिबोधिनी एकादशीका दिन नदीको पूजा गर्ने, नदी वारपार गरेर तोरण टाँग्ने पराम्परा पनि रहेको देखिन्छ। यस दिन एकादशी माहात्म्य सुन्ने, हरि कीर्तन गरेर जाग्राम बस्नु भन्ने शास्त्रीय विधान रहेको गोरखा जिल्लाकै सबैभन्दा होचो भूभागको रूपमा परिचित र गोर्खाको प्रसिद्ध मनकामना देबीको कान्छी बहिनी मानिने त्रिवेणी भगवती मन्दिरमा हरिबोधिनी एकादशीका दिन भब्य मेला परापूर्बक कालदेखिनै  लाग्ने गरेको पाईन्छ। यस दिन त्रिशूली र मर्स्याङ्दी नदीको पवित्र संगम स्थलमा स्नान गरी त्रिवेणी भगवतीमा पूजा पाठ गर्न वरपर नजिकका जिल्लाहरुबाट भक्तजनहरु आउने गरेको पाईन्छ ।  हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ ।

    त्रिवेणीलाई दुर्गा भगवतीको स्वरूप मानिन्छ। दुर्गा भगवतीले संसारको अन्धकार चिर्न शक्ति जागृत गर्दा क्षीर सागरमा हलचल पैदा भई निद्रित विष्णु भगवान जाग्नु भयो। त्रिवेणी भगवतीको गर्भगृहमा रहेको जलकुण्डलाई सो क्षीर सागरको प्रतीक मानिन्छ। यसै कारण यस दिन त्रिवेणीमा मेला लागेको भन्ने पौराणिक मत रहेको छ।

    विष्णु भगवानलाई नारायण पनि भनिन्छ। जसको जल स्वरूप नारायणी हो। जुन नारायणीको शिर त्रिशूली र मर्स्याङ्र नदीको पवित्र संगम स्थल हो । सो संगम स्थलको सूक्ष्म स्वरूप मानिन्छ, त्रिवेणीको जलकुण्ड।  यस कारण विष्णुको शिरको संगमस्थलको किनारमा अवस्थित त्रिवेणी भएकोले सो दिन विष्णु भगवान जागृत भएको दिनको स्मरणमा यहा मेला लागेको बताईन्छ।

    ठूलो एकादशीमै किन त्रिवेणीमा मेला लाग्छ ?

    मन्दिर र मेला बिच गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध रहेको हुन्छ। दुबै एक अर्काको परी पूरक रही सदियौदेखि आफ्ना महिमा र महत्वलाई ब्यक्त गर्दे आइरहेको पाईन्छ। यसले एकसाथ  धर्म र समाजलाई जोडने महत्वपूर्ण कार्य गर्दछ। मन्दिर देव वा देवीको बासस्थान हो जहा भगवानको पूजा गरिन्छ।  भने मेला ती देव वा देवीलाई सम्मान जनाउन आयोजित उत्सब हो। जुन मूलत देवताको जन्म जयन्ती, बिशेष अवसर वा कुनै पवित्र दिनको स्मृतिमा आयोजित हुन्छ। जस्तो कुम्भ मेला, ईन्द्र जात्रा, पाटनको कृष्ण मन्दिरमा लाग्ने कृष्ण जन्मष्टमी मेला, शिव रात्रीको बेला लाग्ने पशुपतिको पुजा, चैते दशैमा लाग्ने बाग्लुङ कालिकाको मेला आदि। यस पृष्ठभूमिलाई केलाउदा ठूलो एकादशीको दिन त्रिवेणी मन्दिरमा लाग्ने मेलाको पनि आफ्नो बिशिष्ट अर्थ र कारण निहित रहेको छ । जसलाई यहा उल्लेख गरिएको छ।

    धार्मिक  मान्यता:

    जनश्रुति अनुसार सृष्टिका पालन कर्ता भगवान विष्णु जलशैय्यामा चीर निद्रामा रहदा सारा संसारमा अन्धकार छायो।  आसुरी शक्ति र राक्षसहरुको जगजगी भई देवताहरु समेत बस्न र टिक्न कठिन भयो। जगतको स्तिरता र शान्तिमा संकट उत्पन्न भयो । यो सब भयावह स्थितिसँग परिचित हरि हरकै बासस्थानको रूपमा परिचित त्रिशुली र मर्स्याङदी नदीकै संगमस्थलको किनारमा रहेको जलकुण्डमै बिराजित त्रिवेणी भगवतीले शक्ति जागृत गरी जल तरंग पठाउनु भयो। फलस्वरुप सो जल तरंगको कम्पनले क्षीर सागरमा हलचल पैदा भयो, र  क्षीर सागरको शैय्यामा निद्रित विष्णु भगवान जागृत हुनु भयो। र यो दिनबाट जगतमा स्थिरता र शान्ति कायम भयो।  यसरी भगवतीले सृजित गरेको शक्तिकै कारण विष्णु भगवान जागृत हुनु भएकोले आजको पावन दिन हरि बोधिनी एकादसीका दिन सो दिनको स्मरण स्वरूप भगवान विष्णु र भगवती त्रिवेणीलाई संयुक्त रूपमा पूजा गर्ने चलन शुरु भएको हो। जात्रा लाग्ने परम्परा शुरु भयो। सो दिन टाढा टाढाबाट भक्तजनहरु संगम स्थलको तटमा नदी स्नान गर्छन्। त्रिवेणी देवी र विष्णु भगवानको संयुक्त आराधना गर्दछन्। गाउँ गाउँबाट डोला बोकेर नदी किनारमा लगेर विसर्जन गर्ने , पूजा गर्ने , देव-देवी प्रतिमाहरु सेलाउने, पूजा आरती गर्ने र  मेलामा जम्मा भई भजन कीर्तन गर्ने चलन शुरु भएको हो। 

    धार्मिक कारण:

    हरिबोधिनी एकादशीको दिन भगवान विष्णुको जागरण सँग सम्बन्धित रहेको छ।  नारायणी नदी स्वंय भगवान विष्णुको जल स्वरूप मानिन्छ । नारायणी नदीको शिर ठीक त्रिवेणी मन्दिर रहेको स्थान हो। जहा त्रिशूली र नदीको मिलन हुन्छ। आषाढ शुक्लमा पर्ने हरिशयनी एकादशीको दिन विष्णु भगवान क्षीर सागरमा सुत्ने र कात्तिक शुक्लमा पर्ने हरिबोधिनी एकादशीका दिन जाग्ने गरिन्छ। हरिबोधिनी एकादशीको दिन विष्णु भगवानले गंगा नदीमे स्नान गरेपछि जागृत भएको मान्यता रहेको छ। सुत्ने र जाग्ने दुबै कार्य जलमानै निवृत्त हुने भएकोले त्रिशूली र मर्स्याङदी नदीको पवित्र संगमको किनारमा अवस्थित त्रिवेणी मन्दिरको गर्भ गृहमा अखण्ड जलकुण्डलाई क्षीर सागरको प्रतीक मानिन्छ। स्वंय विष्णु भगवानकै जल स्वरूप गंगाको पवित्र संगम स्थल भएको स्थानमा बिराजित त्रिवेणी देवी मन्दिरमा भगवान विष्णु जागृत भएको दिन विशेष अवसरमा  त्रिवेणी मेला लाग्नुमा रहेको धार्मिक कारण निहित रहेको देखिन्छ। यसका अतिरिक्त त्रिवेणी जलकुण्ड यस भेगका शक्तिपीठ ८ दिदी बहिनीहरुको साँझा घर र कुल देवी समेत रहेकोले सो दिन गंगा स्नानको लागि सबै ८ दिदी बहिनी देवीहरु एकादशीको रात यहा वास बस्न आउने र बिहान गंगा स्नान गरी आ-आफ्नो थलोमा फर्किन्छन् भन्ने मान्यता रही आएको छ । यस पवित्र भेट र स्नानलाई सम्मान स्वरूप त्रिवेणीमा हरिबोधिनी एकादशीका दिन मेला लाग्ने गरेको अर्को कारण निहित रहेको देखिन्छ। भगवान विष्णुलाई जागृत गर्ने शक्ति देवी शक्तिको कृपालेनै प्राप्त भएकोले गंगाको काखमा रहेको त्रिवेणी देवीमा श्रद्धा र आस्था जनाउन मेला लाग्ने गरेको भन्ने जनश्रुति रहेको छ। सबै स्थानीय अष्ट मातृका देवीहरु तान्त्रिक शक्तिसिद्ध भएकोले ठूलो एकादशीको रात शक्ति आराधना र त्रिकाल साधनाको लागि उपयुक्त मानिन्छ। जसको कारण यो रात सबै देवीहरु आराधना र साधनाको लागि यहाँ आउने गरिन्छ भन्ने किंवदन्ती रहेको छ। शास्त्रमा देवीलाई ” विष्णु माया ” पनि भनिन्छ। अर्थात विष्णु भगवान् को  लीलालाई चलाउने शक्ति स्वंय देवी भएकोले देवी मन्दिरमा स्मरण स्वरूप यो दिन मेला लाग्ने गरेको हो। त्यसकारण हरिबोधिनी एकादशी मेला केवल एक उत्सव मात्र नभएर हाम्रो सांस्कृतिक चेतनाको प्रतीक पनि हो। जहाँ भक्ति, समर्पण, सौभाग्य र मुक्तिको सुन्दर गठजोड समेत  देखिन्छ।

    सांस्कृतिक एवं सामाजिक कारण:

    मेला, पर्व र उत्सव आयोजना हुनुमा धार्मिक कारणको अलवा सांस्कृतिक एवं स्थानीय कारणहरु पनि बलियोरूपमा निहित रहेको हुन्छ। यस्ता आयोजनाले एकसाथ जगत र जीवनको सौन्दर्य र सुगन्धलाई सम्प्रेषण गर्दछ। विष्णु भगवान र भगवती त्रिवेणीको मिलन हुने दिन भएकोले यस दिन स्थानीय भक्तजनहरु डोला ( देवी-देवताको मूर्ति वा प्रतिमा ) बोकेर त्रिवेणी संगममा आउछन्। पूजापाठ, आरती  भजन-कीर्तन र गण्डकी स्नान गरी सगै रहेको भगवतीको दर्शन र पूजापाठ गर्दछन्। र सो दिन लाग्ने मेला भेटघाट गर्ने एक थलोकोरूपमा पनि स्थानीयहरुले लिने गर्दछन् । उत्साहस्वरूप लोकभाकामा आधारित परम्परागत नाचगान गर्दछन्। युवा युवती देखि बृद्ध सवै भेला भई रमाईलो गर्दछन्। सामानहरु किनबेच गर्दछन्। वैदिक कालदेखिनै एकादशीको दिन ” स्नान, दान, जप , होम ” को दिन भएकोले मानिसहरु श्रद्धा र भक्तिपूर्वक यस दिन यहा टाढा टाढाबाट आउने गर्दछन्। यसरी यो मेला सांस्कृतिक रूपमा समाजलाई जोडने कडीको रूपमा रहेको देखिन्छ।

    त्रिवेणीलाई मनकामना लगायत स्थानीय मातृ देवीहरुको कान्छी बहिनी मानिन्छ। र सवै दिदीबहिनी देवीहरुको माईती मानिन्छ। कुल देवी मानिन्छ।  यस दिन सवै देवीहरु र स्वर्गवाट सवै देवताहरु स्नान गर्न यस पवित्र संगमा आउने हुदा यस दिन मेला लागेको भन्ने कथन रहेको छ।

    – लेखक वृहत् त्रिवेणी क्षेत्र धार्मिक सर्किट विकास अभियानका संयोजक हुनुहुन्छ।