३ घण्टा पहिले
साउन-२०, आउँदो ३ भदौदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा ‘उड्ने कार’ प्रदर्शनीमा राखिने भएको छ । चिनियाँ अटोमोबाइल कम्पनी चाङ्गनले उत्पादन गरेको उड्ने ट्याक्सी नेपालमा एमएडब्लू वृद्धिले डिपल इभीटोल फ्लाइङ ट्याक्सीको नाममा नाडा अटो शोमा उक्त कार शोकेस गर्न लागेको हो ।
नाडा अटो शोको विषयमा जानकारी दिन मङ्गलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उड्ने ट्याक्सी प्रदर्शनीमा राखिने जानकारी गराइएको थियो । अटो शोमा फरक प्रकृतिको सवारीसाधन प्रदर्शन हुन लागेपछि यसलाई चासोका साथ हेरिएको छ ।
नाडाका अध्यक्ष करण चौधरीले डिपल इभीटोल फ्लाइङ ट्याक्सी अटो शोमा आएर महसुस गर्ने मौका दिइने जानकारी गराए । “नाडाको मुख्य ध्यान भनेकै नेपाली उपभोक्ता हो । हामी नेपाली उपभोक्तालाई भविष्यसम्म अँगाल्न चाहन्छौँ । नाडा किन भिन्न छ भनेर आभास हुन्छ,” चौधरीले भने ।
चिनियाँ कम्पनी चाङ्गन अटोमोबाइलले चिनियाँ इन्टेलिजेन्ट एयरक्राफ्ट कम्पनी इहाङसँगको सहकार्यमा उड्ने कारको विकास र व्यवसायीकरण गर्न रणनीति साझेदारी गरेको छ । उड्ने कारको विकास, उत्पादन, बिक्री तथा सञ्चालन गर्न दुवै कम्पनीले आगामी पाँच वर्षसम्ममा २० अर्ब युआनसम्म संयुक्त लगानी गर्ने बताइएको छ ।
चाङ्गनले उड्ने गाडीको परीक्षण उडान यही वर्ष गर्ने योजना बनाएको छ । नाडा अटो शोमा फ्लाइङ ट्याक्सीसँगै युनिट्रीको रोबर्ट पनि प्रदर्शनीमा राखिने छ । नाडामा १९ वटा चार पाङ्ग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारी साधन ब्रान्ड र ४ वटा दुईपाङ्ग्रे सवारी ब्रान्ड सहभागी हुँदैछन् । अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने नाडाले जनाएको छ । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
३ लाख वर्गफिट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफिट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो अटो शो हुने नाडाको दाबी छ । अटो शोमा सहभागी हुन चाहनेले खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सक्ने छन् । भदौ २ गतेसम्म अग्रिम टिकट काटेमा २०% क्याशब्याक पाइने नाडाले जनाएको छ ।