२२ घण्टा पहिले
साउन-१५, विश्वविख्यात अमेरिकी अखबार न्यु योर्क टाइम्सले नेपालको विद्युतीय सवारीमा आएको क्रान्तिको समाचारलाई अखबारको प्रमुख समाचार बनाएको छ । बुधबारको अन्तर्राष्ट्रिय संस्करणमा आएको समाचार शीर्षक छ– नेपालको वायु सफाइमा विद्युतीय सवारीको सहयोग ।
समाचार पत्रकार लिडिया लेपिडिस र भद्र शर्माले तयार गरेका छन् भने काठमाडौंको सडकका सवारी फोटो रेबिका कनवेले खिचेकी छन् । समाचारमा नर्वे, सिंगापुर र इथियोपियापछि विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारी प्रयोग गर्ने चौथो देश नेपाल भएको बताइएको छ ।
पाँच वर्षअगाडिसम्म झण्डै विद्युतीय सवारीको हिस्सा शून्य भएको नेपालमा गतवर्ष मात्रै नयाँ सवारी खरिदमा ७६ प्रतिशत विद्युतीय भएको र नेपालजस्तो जलविद्युत् भएको देशमा यो कामकाजी भएको समाचारमा उल्लेख गरिएको छ ।
यमुना श्रेष्ठले सोलार पावर प्यानलबाट विद्युतीय सवारी बिक्रीमा बीवाईडीबाट सुरु गरेको भन्दै समाचारमा श्रेष्ठका अहिले देशभर १८ डिलर भएको र सन् २०२५ मा ४ हजार विद्युतीय कार बिक्रीको लक्ष्य भएको बताइएको छ ।
विद्युतीय सवारीको कर छुट, चीनका कम्पनीहरूको विद्युतीय सवारी बेच्ने बल र देशभर बनेका चार्जिङ स्टेसनले गर्दा नेपालमा विद्युतीय सवारी बढेको दाबी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ समाचारमा लिइएको छ । ‘कसरी स्थापना गर्ने होला, यो चल्छ चल्दैन भन्दै सुरुमा त सबै जना डराएका थिए,’ घिसिङले न्यु योर्क टाइम्ससँग भनेका छन्, ‘तर, हामीले प्रयास गरेको गर्यै गर्याैँ ।’