१३ घण्टा पहिले
असार-३२, चितवनको सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ मा पुँजिगत खर्च बढि गर्नेमा प्रथम भएका छन्।पुँजीगत खर्च गर्नमा सबभन्दा कमजोर राप्ती नगरपालिका देखिएको छ।
सामान्यतय पुँजीगत खर्च भन्नाले दीर्घकालीन भौतिक संरचना वा सम्पत्ति निर्माण, विकास निर्माण, भौतिक पूर्वाधार, सडक, भवन, पुल, जलविद्युतमा हुने खर्च, अस्पताल आदिलाई जनाउँछन्। जो विकासको मानक पनि हुन्।
इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ७७ करोड ८८ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६६ करोड ७३ लाख २९ हजार ३४१ रुपैयाँ खर्च गरेको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतकाअनुसार पुँजीगततर्फ २९ करोड ३७ लाख ३६ हजार ८१० रुपैयाँ (८७.२९ प्रतिशत) खर्च गरिएको छ। चालुतर्फ ३७ करोड ३५ लाख ९२ हजार ५३१ रुपैयाँ (८४.२७ प्रतिशत) खर्च भएको उनले बताए।
भरतपुर महानगरपालिकाले पुँजीगततर्फको बजेट ६१.७१ प्रतिशत खर्च गरेको छ।महानगरपालिकाले यस वर्ष ५ अर्ब ४९ करोड २ लाख ६३ हजार ८७८ रुपैयाँ बजेट विनियोजन गरेको थियो। कुल बजेटबाट ४ अर्ब ३ करोड ५४ लाख १८ हजार ७१० रुपैयाँ (७३.५० प्रतिशत) खर्च भएको सूचना अधिकारी मेनका पण्डितले जानकारी दिइन्।
महानगरपालिकाले पुँजीगततर्फ २ अर्ब ७२ करोड ४८ लाख ८० हजार ४१ रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसबाट १ अर्ब ६८ करोड १५ लाख २३ हजार ७१९ रुपैयाँ (६१.७१ प्रतिशत) खर्च भएको छ। जेठ मसान्तसम्ममा महानगरको पुँजीगत खर्च ३८ प्रतिशतमात्रै थियो।
चालुतर्फ २ अर्ब ७६ करोड ५३ लाख ८३ हजार ८३७ रुपैयाँ बजेट विनियोजन गरिएकोमा २ अर्ब ३५ करोड ३८ लाख ९४ हजार ९९० रुपैयाँ (८५.१२ प्रतिशत) खर्च भएको पण्डितले जानकारी दिइन्।
सबै नगरपालिकाले पुँजीगतभन्दा चालुतर्फको बजेट बढी विनियोजन गर्दा खैरहनी नगरपालिकाले भने पुँजीगत बजेट बढी विनियोजन गरेको थियो। यस नगरपालिकाले खर्च पनि चालुभन्दा पुँजीगततर्फ नै बढी गरेको छ। खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाकाअनुसार पुँजीगततर्फ ६२ करोड ३८ लाख ९२ हजार १२१ रुपैयाँ विनियोजन गरिएकोमा ५३ करोड ३ लाख ८ हजार ३०३ रुपैयाँ (८५ प्रतिशत) खर्च भएको छ। चालुतर्फ ४९ करोड ४५ लाख ९५ हजार ८ रुपैयाँमा ४३ करोड ७२ लाख २१ हजार ९८७ रुपैयाँ (८८.४० प्रतिशत) खर्च भएको छ।
खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेट १ अर्ब ११ करोड ८४ लाख ८७ हजार १२९ विनियोजन गरेकोमा कुल खर्च खर्च ९६ करोड ७५ लाख ३० हजार २९० रुपैयाँ (८६.५० प्रतिशत) रहेको सापकोटाले जानकारी दिए।
प्रतिशतको आधारमा माडी नगरपालिकाले पनि चालुभन्दा पुँजीगत खर्च बढी गरेको छ। माडी नगरपालिकाका लेखा अधिकृत हरिशरण सोतीले पुँजीगत खर्च ८०.४२ प्रतिशत र चालु खर्च ७९.८९ प्रतिशत गरिएको बताए। यस नगरपालिकाले पुँजीगततर्फ ३२ करोड १५ लाख ४२ हजार ३१३ रुपैयाँ विनियोजन गरेकोमा २५ करोड ८५ लाख ७९ हजार ४५२ रुपैयाँ खर्च गरेको थियो। चालुतर्फ ६४ करोड ७६ लाख ६६ हजार ४५ रुपैयाँमा ५१ करोड ७४ लाख १९ हजार ९०८ रुपैयाँ खर्च गरेको थियो।
माडीको आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेट ९६ करोड ९२ लाख ८ हजार ३५९ मा खर्च ७७ करोड ५९ लाख ९९ हजार ३६० (८०.०६ प्रतिशत) भएको सोतीले जानकारी दिए।
रत्ननगर नगरपालिकाले पुँजीगत खर्च ७४.७७ प्रतिशत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालकाअनुसार पुँजीगततर्फ ४५ करोड ६६ लाख ८१ हजार रुपैयाँ र चालुतर्फ चालुतर्फ ७३ करोड ६ लाख २२ हजार रुपैयाँ (८२.४८ प्रतिशत) खर्च भएको छ। यस नगरपालिकाले १ अर्ब ४९ करोड ६५ लाख ७५ हजार कुल बजेटमा १ अर्ब १८ करोड ७३ लाख ३ हजार (७९.३३ प्रतिशत) खर्च गरेको छ।
कालिका नगरपालिकाले पुँजीगत खर्च २८ करोड ४० लाख ७५ हजार ८९६ रुपैयाँ (६५.४४ प्रतिशत) गरेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए। चालुतर्फ ४२ करोड ९३ लाख ४९ हजार ९६० रुपैयाँ (८६.६१ प्रतिशत) खर्च गरिएको छ। यस नगरपालिकाले कुल ९२ करोड ९७ लाख ७४ हजार रुपैयाँ बजेटमा ७१ करोड ३४ लाख २५ हजार ८५७ रुपैयाँ (७६.७३ प्रतिशत) खर्च गरेको वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए।
राप्ती नगरपालिकाले पुँजीगत खर्च ३४.४५ प्रतिशतमात्रै गरेको छ। यस नगरपालिकाले पुँजीगततर्फ ४३ करोड १७ लाख ४१ हजार २५१ रुपैयाँमा विनियोजन गरेको थियो। चालुतर्फ ७३.७ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर ओलीले जानकारी दिए। चालुतर्फ राप्तीले ७१ करोड ९५ लाख ६८ हजार ७५० रुपैयाँ विनियोजन गरेको थियो। कुल बजेट १ अर्ब १५ करोड १३ लाख १० हजार रुपैयाँमा ५७.४४ प्रतिशत खर्च भएको ओलीले बताए।
राप्ती नगरपालिकामा मेयर र वडाध्यक्षहरु बीचको खिचलोले विकासका काममा असर परिरहेको छ। यही कारण यहाँ प्रमुख प्रशासकीय अधिकृतहरु टिक्नै मुस्किल हुन्छ। आर्थिक वर्ष २०८१/०८२ मा मात्रै यहाँ ५ जना प्रशासकीय प्रमुख फेरिएका छन्। विवादकै कारण असार १० गतेभित्र गरिसक्नुपर्ने नगरसभा २० गते भएको थियो।