

३ घण्टा पहिले
कवि मनु वि. क. (जन्मः वि. स.ं २०४१) नेपाली काव्य जगतमा २०६० को दशकदेखि नै सक्रियतापूर्वक प्रकाशनमा देखिएको नाम हो । उनको ‘विद्रोही बनेर निस्क’ कविता २०६० सालमा पाल्पाबाट प्रकाशित भएको ‘युग प्रवाह’ पत्रिकामा पढ्न सकिन्छ । उमेरको २० औं वर्ष पनि नपुग्दै आफूलाई विचारका यात्रीका रुपमा परिचित तुल्याउने प्रयासमा कवि मनुले गरेको आँट आजसम्म आउँदा योगदानमा बदलिएको छ । २०८१ सालसम्म आइपुग्दा मनुका झण्डै आधा दर्जन साहित्यिक कृतिले मुहार देखाइसकेको पाइन्छ । उनको फुटकर कविताहरुको सङ्ग्रहको रुपमा ‘युगको आह्वान’ (२०७५), ‘भान्से महिला’ खण्डकाव्य, ‘कालीको वेग’ खण्डकाव्य, ‘मान्छ’े खण्डकाव्य, र केही लामा कविताहरुका साथै केही कथाहरु पनि प्रकाशित भएका छन् । नेपाली समाजमा दलित परिवारमा जन्मिएर सङ्घर्षको आँधी बेहरीसँगै विचारलाई साहित्यमा प्रकट गर्ने कवि मनु अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक छिन् ।
राजनीति चेतना, अन्तरजातीय विवाह अनि निरन्तर सङ्गठनका जिम्मेवारीले मात्र उनको परिचय पुग्दैन, उनको परिचय त वैचारिक रुपमा सर्जक बनेर अनि एउटा विचारको प्रतिनिधि बनेर परिचित हुन थाल्छ । समयसँगै मान्छे दुःखको यात्रामा धेरै कुरा सिक्दछ । मनु पनि यो वर्गीय समाजमा वर्गको विषय मात्र सिक्दिनन् उनले त वर्गभित्र पनि गहिरो दलन र दमनको सिङ्गो यात्रा छिचोलेर नारीले व्यहोर्नु परेको पीडालाई बुझिने भाषामा पाठहरु तयार पारेको भेट्न सकिन्छ ।
यस छोटो लेखमा कवि मनु वि. क. को कविता सङ्ग्रह ‘युगको आह्वान’ (२०७५) भित्रको विचारको झिल्को खोज्ने सानो प्रयास गरिएकाले लेखको सीमा यही नै बनेको छ । प्राथमिक सामग्रीका रुपमा ‘युगको आह्वान’ कवितासङ्ग्रह रहेको छ । यस लेखमा प्रस्तुतिको ढाँचा व्याख्यात्मक र विवरणात्मक साथै दृष्टिकोण आलोचकीय हुन गएको छ । ‘युगको आह्वान’ कवितासङ्ग्रहमा जम्मा ४३ ओटा कविताहरु सङ्गृहीत रहेका छन् । केही लोकलयका कविता समावेश गरिएको भए पनि उनका धेरै कविता गद्यलयमा रचना गरिएको भेटिन्छ । कविता सङ्ग्रहभित्र साठीको दशकका चार ओटा कविता समावेश भएको पाइन्छ । भूमिका र उनकै लेखकीयमा पनि पहिलो कविताका बारेमा केही सूचना फेला नपारिए पनि २०६० साल आषाढको युगप्रवाह अङ्क ५ मा छापिएको ‘विद्रोही बनेर निस्क’ कविता नै उनको प्रकाशित पहिलो कविता हो । यो कविता पनि यस सङ्ग्रहमा परेको हुनाले उनको साहित्य यात्राको पहिलो खुड्किलोमा उनको विचारको गति मूल्याङ्कन गर्न सकिन्छ । त्यसपछिका ‘तर हामी नै अछुत किन ?’ (२०६१ माघ संवाहक, वर्ष २ अङ्क २) जस्ता शोषण र दमनको बोध र विरोध गरिएको कविता पनि यस सङ्ग्रहमा रहेका छन् । ‘तिम्रा ती थोपाहरु’ २०६१ साल असोज २४ गते तानसेन पाल्पा सूचना रहेको भएपनि छापिएको पत्रिकाको सूचना भने छैन । २०६९ माघ २३ लेखिएको ‘परिचय’ शीर्षकको कविता यस सङ्ग्रहमा परेको छ । यी चार कविताहरु बाहेक अन्य कविताहरुको कतिको मिति उल्लेख छैन भने कतिको मिति उल्लेख २०७० को दशक अर्थात् सङ्ग्रह प्रकाशन मिति आसपासका रहेको देखिन्छ ।
यस कविता सङ्ग्रहभित्रका कविताहरुको अध्ययन गर्दै जानेक्रममा कविको विचारमा आएको गतिशीलता र लेखनमा देखिएको परिस्कार दुवै पक्षलाई ध्यान दिनु जरुरी रहेको छ । कविता सङ्ग्रहभित्र फुटकर ४३ ओटा कविताहरु सङ्कलित रहेका छन् । यी कविताको लेखन अवधि पन्ध्र वर्षभित्र देखिन्छ भने सत्तरीको दशक अर्थात् पाँच वर्षभित्रका कविताको सङ्ख्या धेरै रहेको छ । कवि आफ्ना रचनाहरुमा सामाजिक जीवनको चित्रलाई उतार्न प्रयासरत् रहेको पाइन्छ । यस कवितासङ्ग्रहभित्रका कवितालाई खासगरी दुई आधारमा अध्ययन गर्न सकिन्छ ।
(क) राष्ट्रिय भावले ओतप्रोत कविता
(ख) दलन, उत्पीडन विरुद्धका कविता
कवि मनु प्रगतिशील विचारले प्रशिक्षित कवि हुन् । उनले जुन धरातलमा आफूलाई उभ्याएकी छिन् त्यो न्याय र समानताको लागि एउटा सङ्घर्षको मैदान हो । नेपाल र नेपालीको सार्वभौम सिमानाभित्रको नेपाली हुनुको भाव सिङ्गो पहिचानको खोजी सबैको विषय हो । यसभित्र पनि धेरै चोट खपेर उत्पीडनमा बाँच्ने एउटा वर्ग छ । वर्गीय चरित्रको समाजमा वर्गहरुभित्रको सङ्घर्षले एउटा छुट्टै अनुभूति दिलाउँछ । जातिका आधारमा, क्षेत्रका आधारमा, लिङ्गका आधारमा र वर्गका आधारमा हुने गरेको दमन र शोषणको शृङ्खलाबाट मुक्त नभएसम्म राष्ट्रिय स्वाधिनताको यात्राममा लामबद्ध हुन नसकिने भएकाले सो पाटोमा कविका अधिकांश कविता केन्द्रित रहेको पाइन्छ । यस हिसाबले हेर्दा दुई आधारमा कविताहरुको प्रतिनिधिमूलक उदाहरणद्वारा पुष्टि गर्ने चेष्टा गरिएको छ ।
(क) राष्ट्रिय भावले ओतप्रोत कविता
सचेत कवि शासकको गुणगान गाउँदैन । उसले समाजको असल उदाहरणलाई शक्तिको रुपमा र कमसल स्थितिलाई सोच र नयाँ योजनाका रुपमा अगाडि बढाउँछ । समाजलाई हेर्ने दृष्टिकोण नबनेसम्म समाजको अध्ययन गर्न सकिँदैन । त्यसका लागि सिङ्गो समाजको शक्तिलाई एउटा संरचना र योजनामा ढाल्नै पर्दछ । राजनीतिले राष्ट्रिय एकताभित्र अनेक राष्ट्र हुन्छ र ती राष्ट्रहरुको कुल योग नै राष्ट्रिय शक्ति निर्माणको ऊर्जा हो भन्ने विषयमा ध्यान दिन जरुरी छ । आवरणमा सुकिलो तथापि वस्तुमा तीब्र गतिको सडन प्रक्रिया छ भने जति नै आदर्शको कुरा गरेपनि त्यसले कुनै सकारात्मक परिणाम दिन सक्दैन । त्यसैले त कविता मार्फत् कवि बोल्न चाहेको प्रस्ट हुन्छ;
भावना र भाका मिली
गाउनु नेपाल नाम
नेपाल अनि नेपाली
साझा पहिचान ।
(पृ. २, पहिचान)
राष्ट्रिय भावना, संस्कृति अनि एकता भन्ने शब्दहरु आफैमा सजिला खालका छैनन् । सारमा शोषणको जालो यथावत रहँदा पनि देशको नामले उच्च गौरव गर्न सकियोस् भन्ने कुरा पोटिलो जीवन आदर्श नभएर खोक्रो आदर्श मात्र हो । कवि शुभभाव व्यक्त गर्दै आफूले असल चाहेको विचार व्यक्त गर्न पुग्छिन् । ‘अनुरोध आमालाई’ भन्ने कविता पनि त्यस्तै भावबाट परिपोषित छ । एकातिर सृष्टिको आमा अर्को तर्फ नेपाली धरती जहाँ हामी जन्मियौं दुई ओटै अर्थ वहन गर्ने जटिल विषय तथापि व्यक्ति आमाको जीवन सङ्घर्षका पदचापलाई कविले मिहिन बनाउन प्रयास गरेको देखिन्छ । कवि नेपाल आफैमा प्रकृतिको एउटा सुन्दर भण्डार भएपनि यहाँ हुने गलत खेलको सङ्केत गर्दछिन्;
सम्पदाले पूर्ण देश छ
गिद्धे नजर पर्छ आमा
नजागेमा देश जोगाउन
पराइले हर्छ आमा ।
(पृ. ४, अनुरोध आमालाई)
कवि आफू जन्मिएको भूमिप्रति निकै जिम्मेवार भएर विचार राख्दछिन् । यो चिन्ता र चासो शासकमा रहँदो हो त । आम मानिसले त कामना मात्र गर्न सक्ने रहेछ । जोगाउने जिम्मा त निर्णायक ठाउँमा बसेकाहरुको नै हुने रहेछ । कवि गौमुखीलाई शुभकामना दिँदै आफ्नो जन्मभूमिको प्रकृतिलाई एकपटक चित्रण गर्दछिन्;
उसले पवित्रता र समानताको स्वाद
जगतलाई चखाउनु छ
मरुभूमिमा छटपटाइरहेकाहरुलाई बचाउनु छ
गौमुखीलाई दुषित गर्न र
यात्रा रोक्न खोज्नेहरुबाट
सतर्क बन्न आग्रह गर्दै ।
(पृ. २४, शुभकामना छ गौमुखीलाई)
निरन्तर बगिरहने गौमुखीहरुको समष्टि रुप हो देश । देशलाई आफ्नै लयमा अगाडि बढाउन अने खालका अवरोध हटाउनै पर्दछ । जल, जमिन र जङ्गलको मान्छेसँगको सम्बन्ध निकै स्नेहपूर्वक अगाडि बढ्नै पर्दछ । आखिर मान्छे त यसैको उत्पादन हो । यी तीन चीज नभए मानव जीवनले प्राप्त गर्ने ऊर्जा कहाँबाट आउँछ र ! नेपालभित्रका सुन्दर प्राकृतिक मनोरम स्थलहरुले हामीलाई मात्र लोभ्याउँदैन । यो विश्व परिदृश्यमा छुट्टै परिचय बोकेर उभिएको छ । प्राकृतिक सुन्दरताले भरिएको स्थानको सुरक्षा हामी सबैको चासोको विषय हो । सानो सानो क्षेत्रको सुन्दरपन नै राज्यको शक्ति हो भन्दै ‘सुक्नु हुन्न फेवा’ कवितामा आफ्नो अभिमत प्रस्तुत हुन पुगेको छ ।
कवि मुनको कवितामा भूगोल र सम्पदाप्रतिको आदर्श विचार अभिव्यक्त भएको पाइन्छ । कतिपय कवितामा प्रस्तुत भावनात्मक कुराले कविलाई सतही विचारको प्रवक्ता बनायो कि ! जस्तो पनि अनुभूत हुन्छ । प्रकृतिको चित्रण गर्दा मानवीय पक्षको कलात्मक चेत जोडिएन भने त्यसले ऊर्जा भर्न सक्दैन, केवल सस्ता नारा र खोक्रो आदर्श त राष्ट्रवादीहरुले लेखिरहेका छन् भन्ने पनि कताकता खड्किरहन्छ ।
(ख) दलन, उत्पीडन विरुद्धका कविता
‘युगको आह्वान’ कविता सङ्ग्रहभित्रका दुई तिहाइ कविताहरुमा नेपाली समाजले सदीयौंदेखि भोग्दै आएको दलन र उत्पीडनको आलो डोबहरुलाई प्रस्तुत गरिएको छ । नेपाली समाजको विकासलाई अवरोध गर्ने तत्वले पटक पटक अर्कालाई सानो तुल्याउने र आफूलाई अवसरमा पुर्याएर सुविधा भोगी बनाउने खेलले समग्र प्रगति बिथोलिएको विषय प्रस्तुत भएको छ । कवि आफैले आफूलाई चिन्दा मात्र आफू कहाँ छु भन्ने थाहा हुने विचार कवितामा पोख्छिन्;
हो, मेरा कयौं पुस्ताका
आशाहरु निमोठिए
बस्तीहरु चिमोटिए
मुटुहरु चिथोरिए ।
(पृ. ५९, परिचय)
मान्छे भएर बाँच्न नपाउँदाको पीडा बाँच्ने क्रममा भोगिएका असमान व्यवहारहरुले पुष्टि गर्दछ । एउटा वर्गीय जाँतोमा दलित भएर व्यहोर्नु परेको पीडाबोध कविताको समग्र विचार बनेको छ । हुन त मूल विषय अर्थ नै हो तथापि आर्थिक उपार्जन गरेर जीवनयापन गर्न नदिने राज्य जतिबेला पनि दमनमा उत्रन्छ । त्यो लिङ्गगत, जातिगत मात्र नभएर दलित र गैरदलित भनेर तोकेर नै प्रस्तुत हुन्छ । पहुँचविनाको परिचय कति निरीह हुन्छ कविताका पङ्क्तिहरुले बोध गराएको छ । कविता लेखन र प्रकाशनको उषाकालमा नै उनले आफूलाई चुनौती लिएर अगाडि बढ्ने पात्रको रुपमा उभ्याएको प्रमाण ‘विद्रोह बिनेर निस्क’ कविताका पङ्क्ति–पङ्क्तिहरुले प्रस्तुत गरेको छ ।
पुरुष हैकमवाद र वर्गीय शोषणको जातोमुनि पिल्सिएर
पिँजडाको सुगा बनी नबाँच
सारा अन्याय र बेथितिको अन्त्य गर्न
न्याय र समानताको जग बसाल्न
चुलाचौका छोडेर मैदानमा निस्क
नयाँ संसार निर्माण गर्न विद्रोही बनेर निस्क
(पृ. ७६, विद्रोही बनेर निस्क)
असमानता र विद्वेषको जाँतोले पिसेको छ नारीलाई । पुरुषको अहङ्कारी राज्यले नारीलाई हेपेको छ । त्यसमा नारीको नवचेतनाको कमी पनि त कारक छ । समयको हिसाब गर्दा झण्डै दुई दशक अगाडि प्रकाशित कविताको मर्म आज पनि हुबहु मिल्ने स्थिति छ । सक्षमता हुँदाहुँदै पनि निर्णय गर्ने थलोमा नारीले एकताबद्ध भएर आफ्नो उपस्थिति देखाउन नसकेको पक्का हो । एकातिर रुपबजारमा आफ्नै मोलतोल गर्न लगाउने नारीहरु छन् भने सङ्घर्षको पर्याय मोतिदेवी श्रेष्ठ, साहना प्रधान, साधना प्रधान, मंगलादेवी सिेह, शान्ता श्रेष्ठ, शहिद शारदा श्रेष्ठ, कौशिला तमु र चुनु गुरुङ आदि पनि त महिला नै हुन् नि । नेपाली समाजमा नारीहरुलाई एउटा कोणबाट मात्र पछाडि पारिएको छैन । त्यसतर्फ ध्यान दिन कविको थप अनुरोध छ ।
हावामा टिलपिलाएका छन् फोस्रा विज्ञापनहरु
मार्ट कुरिरहेका छन् कृतिम मानवहरु
चाहे तिनीहरु बोलून वा नबोलून
जे लगाइदिए पनि भएकै छ
जे बनाइदिए पनि भएकै छ
मौन मौन नै बसिरहेछन्
मालिकले मोल कसिरहेछन्
निम्छरो नाङ्लो ग्राहक
विज्ञापनको पासोमा फसिराछ
(पृ. ४३, मेरो देशमा मार्टहरु)
आम श्रमिक महिलालाई मार्टको विज्ञापनको माध्यम र बेच्ने वस्तु बनाएर व्यापार चलाउनेप्रति कविको गतिलो जवाफ छ । राज्यले जबसम्म नारीको अधिकारलाई सही ढङ्गले प्रयोग गर्नबाट रोकिरहन्छ, नारीमा यही तहको सचेतना र विद्रोहको स्वर जगाइरहनु जरुरी छ । विश्वमा खुलाबजार अर्थतन्त्र सामान्य नागरिकलाई निल्दै सीमित मान्छेको लागि जुटिरहेको छ । अर्थव्यवस्था दलाल अर्थतन्त्रको हिस्सा भएको छ । श्रम गर्ने र उपभोग गर्ने दुवै निराश छन् भने बिचको व्यवस्थापन गर्नेहरुले बजार निर्धारण गरिरहेको छ । कति जटिल बनिरहेको छ विश्वमा श्रमिकहरुको अवस्था । यस अवस्थामा सुधार ल्याउन सचेतना र चुनौती नै आधार बन्न सक्छ ।
यो पुँजीवाद हो
आफू मोटाइरहेछ
ऊ देख्दैन आफ्नो मोटाइ र समृद्धिमा
निर्धन दुःखीको रगत मिसिएको
ऊ हेरिरहेछ गरिबका ख्याउटे शरीर
रोदन क्रन्दन सुनिरहेछ
सायद मनोरञ्जन प्राप्त हुँदो हो
(पृ. २५, पुँजीवाद)
पुँजीवादको देखिने रुप र नदेखिने शोषणका विरुद्ध श्रमिकहरुलाई जगाउन आवश्यक छ भन्ने विचार कविको छ । कविताको पछिल्लो भागमा कवि उद्घोष गर्दछिन्;
गरिबहरुको पनि चेतना छ
सोच्ने एउटा मस्तिष्क छ
चल्ने दुई हातहरुले
उनका इशारा मात्र मान्दैनन्
(पृ. २६)
यही त आखिर वर्गीय चेतनाको आधार हो । कवि मनुले वर्गीय पक्षधरतालाई राम्ररी बुनेकी छिन् यस कवितामार्फत् र आशाको दियो जलाएकी छिन् । एउटा शिक्षित स्रष्टा जब निडर भएर केही कुरा खोल्छ भने उसले शोषणको विपक्षमा विचार व्यक्त गरेकै हुन्छ । कवि राजनीतिक चेतलाई पनि कवितामा उतार्छिन् । विगतमा भएका आन्दोलनहरुबाट प्राप्त उपलब्धि नेतृत्वले आफ्नो स्वार्थमा प्रयोग गर्दा जनता कमजोर बनेको अवस्था छ । देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सकेको छैन अनि युवाहरु विदेश धपाइने स्थितिमा पुगेका छन् । समय अब आएको छ, बोल्न छाड्नु हुँदैन अनि वर्गीय मुक्तिका लागि लड्ने यात्रा यहाँ रोकिनु हुन्न । हाम्रो समाजमा भएका समस्या देखिएका मात्र हुन्, समाधान भएकै छैन । समाधान गर्नका निम्ति हामी सुतेर हुँदैन ।
सपना बजारमा जानु हुँदैन
मलाई त लागी रहेछ
सपनाले हल्लिनु हुँदैन
मलाई त लागी रहेछ
सपना भत्किनु हुँदैन ।
(पृ. ४६–४७, भत्किएका सपनाहरु)
निस्कर्ष
युगको आह्वान कविता सङ्ग्रहभित्र सुन्दर अर्थात समानतामा आधारित युगको आह्वान गरिएको छ । आजको हाम्रो मानव समाजलाई पसिनाको महत्व नबुझाइकन ऊ लुटाहा राज्य संयन्त्रका विरुद्ध आवाज उठाउन सक्ने बन्दैन । समाजले आफ्नो स्थिति सुधार्न चेतनाको गति सुधार्नु पर्दछ । कवि मनु वि. क. आशाको सञ्चार गरेर निम्न चेत भएकालाई चेतना भर्दै निम्न वर्गीय नागरिकहरुको अधिकारको अस्तित्वपूर्ण समाज स्थापित गर्न निरन्तर लाग्न कवितामार्फत् पोखिएकी छिन् । उनका कविताहरुमा रुपात्मक संरचनाको मूल्यभन्दा विचारधारात्मक यात्राको मूल्य उच्च रहेको छ । गति र यति मिलाएर कविता लेख्नेहरु स्तुति गाइरहेको वर्तमान अवस्थामा गद्यलय मै भएपनि आफ्ना
समाजप्रतिको असहमति र राज्यप्रतिको आक्रोश कविले इमान्दार भएर पोखेको प्रष्ट देखिन्छ ।