× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    ‘खैनी-सुर्तीले मुख खोल्न गाह्रो हुनेदेखि क्यान्सर सम्मको जोखिम’

    १ वर्ष पहिले

    चैत्र -६, खैनी-सुर्तीको प्याकेटमा चेतावनी दिइएको हुन्छ, ‘यसको सेवनले क्यान्सर हुन सक्छ ।’ तैपनि मान्छेले ओठमा सुर्ती, खैनी च्याप्न छाडेका छैनन् । त्यसैले त बजारमा सुर्तीजन्य पदार्थ छ्यापछ्याप्ती देखिन्छन् । यसमा मधु, पराग, गुड्खासमेत थपिएका छन् ।

    सामान्य हिसाबले बुझ्दा पनि यो स्वास्थ्यमैत्री खानेकुरा होइन । यो लत हो । जब हामी खैनी-सुर्ती च्याप्छौं, त्यसले गिजा, दाँत, ओठ आदिलाई ध्वस्त बनाउँछ । दाँत कालो हुने, गिजा सुन्निने, मुख गन्हाउने, संक्रमण हुने मात्र होइन क्यान्सर नै हुन सक्छ ।

    खैनी-सुर्तीले मुखलाई रोगको भण्डार बनाउँछ

    तपाईं आफैं सोच्नुहोस् त, मुख समग्र स्वास्थ्यका लागि एउटा प्रवेशद्वार जस्तो हो । त्यही मुखलाई दूषित र फोहोर बनाएपछि के होला ?

    जब हामी सूर्ती-खैनी खान्छौं मुख दुर्गन्धित हुन्छ । ओठका छाला उप्किन थाल्छन्, जलन हुन्छ, दाँत मक्किन थाल्छ, दाँत भाँच्चिन थाल्छ । गिजा पाक्न थाल्छ । मुखभित्र खटिरा आउँछ ।

    यस्तो मुखमा चपाएर निल्ने खानेकुरा पनि त दूषित नै हुने भयो । मान्छेको नजिक गएर खुलस्त बोल्न पनि सकिंदैन । मान्छेले घिन मान्न थाल्छन् । खुलेर हाँस्दा दाँत र गिजाको हालत सम्झेर आफैंलाई ग्लानि महसुस हुन थाल्छ । खैनी-सुर्तीले वास्तवमा मान्छेको व्यक्तित्वमै आँच पु¥याउँछ ।

    खराब केमिकल मुखभित्र

    सुर्ती, खैनी खानु भनेको मन्द विष लिनु नै हो । खासमा हाम्रो मुखभित्र खाना पचाउन, मुखलाई स्वस्थ राख्न राम्रो खालको जीवाणु हुन्छ । जब हामी खैनी, सुर्ती खान थाल्छौं त्यसको रसायनले गर्दा ती जीवाणु नष्ट हुन्छ ।

    बजारमा पाइने खैनी, सुर्ती, गुट्खा, पराग जस्ता सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एनिमिया, आर्सनिक आदि जस्ता करिब सात हजार बढी रसायन पाइन्छन् । यी रसायनहरुले ओठ, मुख, दाँतलाई नराम्ररी बिगार्छ ।

    मुख सानो हुनेदेखि क्यान्सरसम्म

    खैनी, सुर्ती खाएपछि यसको असर त देखिन्छ नै, तर त्यो कति अवधिपछि देखिन्छ भन्ने टुंगो हुन्न । कसैलाई दुई, तीन भित्रमा देखिन्छ भने कसैलाई वर्षौंपछि । कतिलाई चाहिं यी चीज खाएर छाडेको केही वर्षपछि पनि समस्या देखिन सक्छ ।

    खैनी, सुर्तीको कारण मुख वरिपरि खटिरा आउने, जिब्रोको स्वाद कम हुँदै जाने जस्ता सुरुवाती समस्या देखिन्छन् । पछि पछि मुख खोल्न गाह्रो हुने, मुखको आकार सानो हुँदै जाने, चपाउनै कठिन हुने, खाना निल्न नसकिने जस्ता समस्या हुन्छ । यसले ल्याउने अर्को जटिल समस्या भनेको मुखको क्यान्सर हो ।

    पाचनमा पनि समस्या

    सुर्तीले मुखमा मात्रै नभई पेट र आन्द्रामा पनि उत्तिकै असर पारिरहेको हुन्छ । गुट्खा सेवन गर्ने व्यक्तिमा पाचन प्रणालीमा समस्या देखिन्छ । खानानली, आन्द्रा र पेटमा घाउ, अल्सर र क्यान्सर हुने गर्छ ।

    लामो समयदेखि सुर्तीजन्य पदार्थ सेवन गरिरहेको व्यक्तिमा श्वासप्रश्वासको समस्या हुने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ । रक्तचाप बढ्ने र मुटुमा अन्य समस्या देखापर्ने गर्छ ।(लेखक डा. नियुक्ति अर्जेल गिजा तथा दन्तरोग विशेषज्ञ हुन्।)