× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चर्चित हास्यकलाकारबाट युक्रेन राष्ट्रपति बनेका जेलेन्स्की देश र जनताको रक्षार्थ आफै मैदानमा उत्रिए

    २ वर्ष पहिले

    तीन वर्षअघि यतिबेला पूर्वी युरोपेली मुलुक युक्रेनमा चुनावी माहौल थियो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको युक्रेनको चुनावमा उम्मेदवारी दिएर भोलोदिमिर जेलेन्स्कीले संसारको ध्यान तानेका थिए।

    त्यतिबेला ४१ वर्षमात्रै पुगेका जेलेन्स्कीको चर्चा युवा भएकाले मात्रै थिएन, उनी टेलिभिजन सिरियलमा पनि देशको कार्यकारी पद सम्हालेको अभिनय गर्थे। एउटा हास्य कलाकार कसरी राष्ट्रपति हुन्छ भनेर विरोधीले उनलाई उडाएका थिए।

    जेलेन्स्की युक्रेनका लोकप्रिय हास्य कलाकार थिए।  त्यही लोकप्रियताका कारण उनी ७३ प्रतिशत मत पाएर युक्रेनको छैठौं राष्ट्रपति निर्वाचित भएका थिए।

    त्यतिबेला जेलेन्स्कीसँग पराजित भएका युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेका थिए- अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।

    तीन वर्षपछि  पोरोसेन्को भनाइ गलत सावित भएको छ। जेलेन्स्की रूसी प्रभावको कक्षमा परेका छैनन् बरू रूसले युक्रेनलाई आफ्नो प्रभावमा पार्न सेना पठाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभमा जेलेन्स्कीको  सरकार ढालेर आफूले भनेको मान्ने मान्छेको सरकार बनाउन चाहेका छन्।

    पहिलो पटक कार्यकारी पद सम्हालेका जेलेन्स्कीले दोस्रो विश्वयुद्धपछि युरोपको कुनै एउटा मुलुकले अर्को मुलुकमा गरिरहेको सबैभन्दा ठूलो सैन्य आक्रमण झेलिरहेका छन्। सानो मुलुक युक्रेन अहिले संसारको शक्तिशालीमध्येको एक रूसको सैनिकसँग लडिरहेको छ।

    दुई लाख बढी रूसी सैनिकले जल, जमिन र हवाई मार्गबाट गरिरहेको आक्रमण जेलेन्स्की एक्लै लड्नु पर्नेछ। विश्वका शक्ति राष्ट्रका नेताहरूले उनलाई ‘हामी छौं’ भनेर ढाडस त दिएका छन् तर युक्रेनमा रूसी सैनिकविरूद्ध लड्न न अमेरिकाले सेना पठाउने छ न त उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का सैनिक आइपुग्ने छन्।

    जेलेन्स्कीलाई राम्ररी थाहा छ, रूसी आक्रमणको पहिलो निशाना उनी नै हुन्। उनले शुक्रबार भनेका छन्- उनीहरूले पहिलो निशाना मलाई बनाएका छन्। त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मारेर उनीहरू युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।

    आफू युक्रेन नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्।

    ‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि युक्रेनमै रहनेछ,’ उनले भनेका छन्।

    जेलेन्स्कीको राष्ट्रपति यात्रा

    सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका थिए।

    तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए। तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो। त्यही असन्तुष्टिलाई  जेलेन्स्कीले आफ्नो पक्षमा पारेका थिए।  

    उनले आम मानिसका दैनिक जीवनका विषयहरूलाई आफ्नो एजेन्डा बनाएका थिए।

    जितपछि उनले भनेका थिए- युक्रेनी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छु- हामीलाई हेर, जे कुरा पनि सम्भव छ।

    राष्ट्रपति बनेपछि इयू र पश्चिमाहरूसँगको सम्बन्धलाई जेलेन्स्कीले कसिलो बनाएका थिए। सरकार कार्यालयमा राष्ट्रपतिको साटो आफ्ना बच्चाको तस्बिर राख्न निर्देशन दिएका थिए। अनुभव नभए पनि उनले राष्ट्रपति राम्ररी नै चलाइरहेका थिए।

    युक्रेनमा समर्थकलाई निराश नपारे पनि जेलेन्स्कीले भूराजनीतिको खेलमा आफूलाई अब्बल साबित गर्न सकेनन्। रूसले युक्रेनमाथि बिहीबार सैनिक हमला नै गर्‍यो।

    एउटा सानो छिमेकीमाथि रूस र राष्ट्रपति पुटिनले गरेको यो आक्रमणको समीक्षा इतिहासले गर्ला तर अहिले भने जेलेन्स्की युक्रेनका सबैभन्दा कमजोर राष्ट्रपति देखिएका छन्।

    पुटिन युक्रेनबाट के चाहन्छन्?

    रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ। 

    गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए।

    ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। अहिले झन्डै दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।

    यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन्।

    रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।

    बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ  र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।

    डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए।

    किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।

    सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको  पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्‍यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।

    रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।

    युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।

    पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन्।

    (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)