

२० आश्विन २०८२, मंगलवार
असोज-२१, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जान लागेका छन् ।
अखिलका नेताहरूको बैठकले जाहेरी दिन जाने निर्णय लिएको स्रोतले बतायो । सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको हो ।
अनेरास्ववियुका महासचिव दीपक धामीले अहिले ५ बजेभित्र किटानी जाहेरी दर्ता गराउने गरीको तयारीमा रहेको बताए ।
हिजो सुधन गुरुङको समूहले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिने प्रयास गरेको थियो । तर, प्रहरीले जाहेरी दिन मानेन । यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरेकी थिइन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाहेरी दर्ताका लागि प्रधानमन्त्रीबाटै लिखित पत्र आउनुपर्ने सुझाव दिएको बताइएको थियो।
आज भने जेनजीको प्रदर्शनमा ज्यान गुमाएका युवाका परिवारका सदस्यले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको किटानी जाहेरी लिएको छ।