

३ घण्टा पहिले
चैत्र-६, देशका विभिन्न भागमा शुक्रबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमदेखि पूर्वसम्म पानी परेको छ ।
विभागले यसअघि नै शुक्रबार र शनिबार देशका धेरै स्थान, काठमाडौंसहित, वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो । केही स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ ।
शुक्रबार विभागले चैत ६ देखि १२ गतेसम्मको विस्तृत मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसमविद् डेभिड ढकालले शुक्रबार र भोलि शनिबार तराईका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ तथा असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताए ।
विशेषगरी कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको उनले जानकारी दिए ।
पहाडी भूभागमा पनि शुक्रबार र शनिबार अधिकांश स्थानमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको ढकालको भनाइ छ ।
केही ठाउँमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । आइतबारदेखि मंगलबारसम्म भने सीमित स्थानमा मात्र यस्ता गतिविधि देखिने सम्भावना छ भने बुधबार र बिहीबार कोसी र गण्डकी प्रदेशका केही स्थानमा मात्रै यस्तो मौसम रहने मौसमविद् ढकाल बताउँछन् ।
हिमाली क्षेत्रमा शुक्रबार र शनिबार धेरै ठाउँमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । केही स्थानमा हावाहुरी, चट्याङ र असिनासहित भारी वर्षा वा हिमपात समेत हुन सक्ने मौसमविद्ले बताएका छन् । आइतबारदेखि मंगलबारसम्म हिमाली क्षेत्रका थोरै स्थानमा मात्र यस्तो अवस्था रहनेछ भने बुधबार र बिहीबार कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सीमित रूपमा यस्तो मौसम देखिन सक्छ ।
मौसम छिटो–छिटो परिवर्तन भइरहने भएकाले अद्यावधिक जानकारीका लागि विभागको आधिकारिक स्रोत पछ्याउन मौसमविद्ले सुझाव दिएका छन् ।