

२ घण्टा पहिले
चैत्र-७, देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ । शुक्रबार (चैत ६) बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो । यति बेला (शनिबार दिउँसो ३ः४० बजे) पनि काठमाडौंसहित केही भूभागमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले वर्षा गराउने यो प्रणाली कमजोर हुँदै पश्चिम नेपालबाट बाहिरिँदै आएको उल्लेख गरेका छन् । अबका एक–दुई घण्टामा काठमाडौंलगायत स्थानमा भइरहेको सिमसिम वर्षा घट्दै/हट्दै जाने उनको पूर्वानुमान छ ।
“पश्चिमी वायुको प्रभावले आएको वर्षा गराउने प्रणाली कमजोर हुँदै पश्चिम नेपालबाट बाहिरिँदै आएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अबको एक–दुई घण्टामा काठमाडौंलगायतमा भइरहेको सिमसिम वर्षा घट्दै – हट्दै राति कोसी प्रदेशबाट बाहिरिने सम्भावना छ ।
”आइतबार (चैत ८) मौसम सफा हुने सम्भावना बलियो रहेको उनले जनाएका छन् ।