× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अप्प दिपो भव!-सुनिल उलक

    ३ वर्ष पहिले

    बैशाख-२२, बुद्ध बन्न कठिन हुन्छ । सिमामा बाँधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ गौतम, बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिडेका थिए तव नै बुद्धत्वको नजिक पुगेका हुन् । युद्धको अस्विकृत गर्ने सिद्धार्थलाई उनकै शाक्य संघले दण्डित गरेको थियो । कोलिय गणराज्य र कपिलवस्तु गणराज्य बीच बहने रोहिणी नदीको पानी दुवै राज्यले बराबर बाड्नुपर्छ भन्ने सिद्धार्थको मतमा विवादित भएर जनमत हुदा सिद्धार्थको हार भए पछि मृत्युदण्ड र राज्य त्याग रोज्न लगाएका थिए शाक्यसंघले । सिद्धार्थले जीवनको बैराग्यताबाट मुक्ति चाहेका थिए यसर्थ स्वेच्छाले राज्यबाट निस्कन तैयार भए । तर पछि यिनै सिद्धार्थ गौतम, बुद्ध बनेपछि बिरक्तिएर राज्य त्यागेको वर्णित गरे तिनै शाक्य संघले । बुद्धको महापरिनिर्माण हुनु पूर्व उनका काका महानाम शाक्यको राज्यकालको समयमा कोलिय राज्यका राजा विडूडभले आक्रमण गरेर कपिलवस्तु राज्य नै ध्वस्त बनाएका थिए । यसरी कपिलवस्तु ध्वस्त गराइदा हजारौ शाक्यहरुको मृत्यु भयो भने हजारौ जीवन बचाउन भागे । यसरी भागेका शाक्यहरुको अस्तित्व पश्चिममा अफगानिस्तान र पूर्वमा थाइलैण्डसम्म भेटिएका छन् । यसरी शाक्यहरुको मूल राज्य कपिलवस्तुको बिलुप्त भयो । जसको खोजी सयौ वर्ष पछि सिद्धार्थ गौतमको जन्मस्थलको खोजीको क्रममा बिशेष महत्व दिएर पून शुरु भयो ।

    सिद्धार्थ गौतमको जन्म

    सिद्धार्थ गौतमको जन्मको बारेमा अश्वघोषले २००० बर्ष पहिले नै बुद्ध सम्बन्धी पुस्तक बुद्धचरितम् मा लेखेका थिए ।

    ततः प्रसन्नश्च बभूव पुष्यस्तस्याश्च देव्याव्रतसंस्कृतायाः

    पाश्र्वात्सुतो लोकहिताय जज्ञे निर्वेदनं चैव निरामयं च । ९ ।

    ऊरोर्यथौर्वस्य पृथोश्च हस्तान्मान्धातुरिन्द्रप्रतिस्य मूर्घ्य ।

    कक्षीवतश्चैव भुजांसदेशात्तथाविधं तस्य बभूव जन्म । १० ।

    सिद्धार्थको जन्म अलौकिक शक्तिबाट भएको थिएन, तर केही अस्वभाविक थियो । जयसेनका नाती तथा सिंहहनुका छोरा शुद्धोधनको जन्म साधारण किसान परिवारमा भएको थियो उनि कपिलवस्तु गणराज्यमा राजा चुनिएका थिए । मायादेवी छिमेकी कोलिय राज्यमा बसोबास गर्ने अञ्जन तथा सुलक्षणाका छोरी थिइन । बिबाहको केही वर्ष सम्म पनि सन्तान प्राप्ति नभए पछि बहिनी प्रजापती गौतमीसंग शुद्धोधनले दोश्रो बिबाह गरेका थिए । तर यस बिबाह पछि पनि सन्तान भएन । औषधोपचार तथा बिभिन्न पूजा अर्चना पछि पनि दुबै रानीबाट सन्तान भएन । अन्तमा ४५ वर्षे बुढ्यौली उमेरमा गर्भवती बनेका मायादेवीको लागी निकै स्याहार सुसार गरियो । तर पनि गर्भ रहेको दश महिनामा पनि बालकको जन्म हुन सकेन । दश महिने गर्भ पछि पनि ४५ वर्षिय आमा मायादेवीले बालकलाई जन्म दिन नसके पछि माइत देवदहमा रहेका सिपालु सुँडेनी कहाँ लगिएको थियो । तर बाटोमा रहेको लुम्बिनी वनमा पुगेपछि पिडाले धेरै छटपटाहट भएपछि सबै रोकिएका थिए । यसै समयमा अचानक भूकम्प गयो, भूकम्पले सबै अट्टालिए । मायादेवी पनि नजिकै रहेको साल वृक्षको हांगामा समातेर आफूलाई ठाम्न खोजे । भूकम्पको कम्पन साथै गर्भको शिशुको छटपटाहटले गर्भमा रहेको शिशु बाहिरियो । अस्वभाविक रूपले बालकको जन्म पछि अत्यधिक रक्तप्रवाह भयो । यसरी ५४ वर्षिय राजा शुद्धोधन बुढ्यौली उमेरमा पिता बने तर आमा मायादेवीको अत्यधिक रक्तश्रावले सातौ दिनमा देहावसान भयो । सानीआमा प्रजापति गौतमीले नै सिद्धार्थ गौतमलाई हुर्काए ।

    बालकको जन्म अलौकिक थिएन, तर अस्वभाविक थियो । जन्मना साथ दाहिने हातको औला ठड्याएर सात पाइला हिडेको भन्ने कथन लेखेर अश्वघोषले अद्भूत शक्ति भएको सावित गर्न खोजे भने हिन्दुवादीले बिष्णुको अवतार भनेर कथा लेख्न थाले । अश्वघोषले बुद्धचरितम् लेख्ने समय बुद्ध धर्म उत्कर्षमा पुगेको थियो । तसर्थ सिद्धार्थ गौतमलाई भगवान मान्न थालि सकिएको थियो । त्यसैले उनलाई जन्मदा नै भगवान बनाउने कोशिस गरिएको थियो । उनि जन्मदा भगवानका रुपमा जन्मेका थिएनन्, केवल राजकुमार थिए । उनि भन्दा पहिले २७ जनाले बुद्धत्व पाएर बुद्ध कहलिसकेका थिए । उनकै समयमा पनि महावीरका अनुयायीहरु धेरै भइसकेका थिए । उनको राज्यमा जैन धर्मको प्रभाव शुरु भईसकेको थियो । राज्यबाट निस्कासित हुनु अगाडी पनि सिद्धार्थ गौतमले महावीरका अनुयायी भिक्षु बप्प शाक्यसंग भेटेका थिए । आषाढ पुर्णिमाको रात केवल २९ वर्षको उमेरमा सिद्धार्थ गौतम महाभिनिष्क्रमणमा भए ।

    यसरी महाभिनिष्क्रमण भए पछि सिद्धार्थले बिभिन्न योगी मुनिहरू संग शिक्षा लिए, बिभिन्न साधना गरे । अन्तमा ३५ पुरा भइ ३६ लागेको दिन गयाको बृक्ष मुनि तपस्यारत सिद्धार्थले बुद्धत्व प्राप्त गरे । यसपछि बुद्धत्व प्राप्त गरेको बृक्ष बोधीबृक्ष र सो स्थानलाई बौद्धगया भन्न थालियो ।

    सिद्धार्थले बुद्धत्व प्राप्त गरे पछि सबैभन्दा पहिले तपुस्स र भल्लुक दुई ब्यापारीलाइ शिक्षा दिदै भने, “अप्प दिपो भव !”

    जीवनको यथार्थ यहि नै हो । आफैले आफुलाइ दुखी बनाइरहेको हुन्छौ तसर्थ यसबाट मुक्त हुन पनि आफैले प्रयत्न गर्नुपर्छ । अरू कसैले गरिदिदैन । यो नै जीवनको सार हो ।

    बुद्धको पुनरागमन

    मौर्य सम्राट अशोकले भारत विजय अभियानमा लागेपछि अन्तमा कलिङ्ग युद्ध लडे । हालको ओडिसा र आन्ध्र प्रदेशको उत्तरी भाग बलियो कलिङ्ग राज्यका रुपमा रहेको थियो ।

    सम्राट अशोकले इ. पू. २६२ मा कलिङ्गमा आक्रमण गरे । करिव एक वर्ष लडिएको यस युद्धमा करिव एक लाख कलिङ्गका जनताको मृत्यु भए पछि सम्राट अशोकलाई निकै ग्लानि भयो । उनले यस पछि कुनै पनि राज्यमा आक्रमण नगर्ने कसम खाए ।

    सम्राट अशोकका एक रानी वेदिसा महादेवी शाक्य कूलकी थिइन् । त्यसैले उनले केही बुद्ध शिक्षाहरु सम्राट अशोकलाई दिएकी थिइन् । जसले गर्दा युद्ध पछि पश्चाताप गर्दै बुद्ध भूमीको खोजिमा लुम्बिनी आएका थिए ।

    ईसा पूर्व २४९ मा सम्राट अशोकको आगमन पछि पकाएको इँटाले चिन्ह लगाएर बुद्धको जन्मस्थल भएको स्थान पहिचान गरेका थिए । साथै बुद्धको जन्मस्थलको रुपमा पहिचान गराउदै अशोक स्तम्भ गाडेर गएका थिए ।

    अशोक स्तम्भका रूपमा चर्चित त्यसमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि बुद्ध जन्मेको ठाउँमा आएर पूजा गरी त्यसको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनी गाउँलाई करमुक्त गरिदिए ।’

    त्यस पछि बिभिन्न समयमा बिभिन्न भिक्षु तथा श्रद्धालुले लुम्बिनीको भ्रमण गरे । सन ४०३ मा Seng-Tsai र Fa-Hsien, सन ६३६ मा Hsuan-Tsang ले भ्रमण गरेका थिए । सन ६७१ मा भने चौधौ शताब्दी सन १३१२ मा कर्णाली प्रदेशका राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेको प्रमाणहरु भेटिएको छ ।

    यसरी समय समयमा बिभिन्न ब्यक्तित्वले भ्रमण गरेको भए तापनि १५औं शताव्दी पछि भने पूर्णरुपमा बेवास्ता हुँदा समयसंगै जंगलमा हराउन पुग्यो । यसको खोज बि.सं. १९५३ को मंसिरमा पाल्पाको बडाहाकिम खड्ग शम्शेरको साथ खोजमा लागेका जर्मन पुरातत्वविद एन्टोन फ्यूयररले पत्ता लगाएका थिए । उनले लुम्बिनी क्षेत्र पत्ता नलगाएको भए यहाँका कतिपय पुरातात्विक महत्वका वस्तुहरु विलुप्त हुन सक्थे । अशोक स्तम्भको पूर्वमा रहेको ढिस्को माथीको छाप्रोमा शिरविहिन मूर्ति भेटिएको थियो । पछि डा. ह्वेले सो मूर्ति मायादेवीको रुपमा पहिचान गरेपछि संरक्षण गर्न थालियो । यसको केही वर्ष पछि बि.सं. १९५५ मा जापानी भिक्षु इकाइ कावागुची लुम्बिनी भ्रमणमा आएका थिए । उनले लुम्बिनीमा रहेको शिरविहिन मायादेवीको मूर्तिलाई वनदेवी रुम्मिनदेइको रुपमा पशुवलि सहित गाँउलेहरुले पूजा गरेको देखेका थिए । त्यहि वर्ष भारतबाट आएका अन्वेषक पूर्णचन्द्र मुखर्जीले शिर भेट्टाए । यसको धेरै वर्ष पछि खुट्टा पनि भेटिए पछि मायादेवीको मूर्तिमा जोडियो । साथै मायादेवीको मूर्तिको रुपमा पूजिन थालियो ।

    बि.सं. १९७६ मा केशर शम्शेरले यस स्थानको भ्रमण गर्नुका साथै यस स्थानमा रहेको जंगल फडानी गराई सुरक्षित गर्ने प्रयासको थालनी गरेका थिए । यस पछि भारतीय इञ्जिनियर गोकुलचन्द्र नग्रथ लुम्बिनी आएका थिए । उनले लुम्बिनीमा केही पूनर्निर्माण तथा जिर्णोद्वारका योजनाहरु लिएर आएका थिए । यहि समय नेपालमा १९९० सालको ठूलो महाभूकम्प गए पछि नग्रथलाई जुद्धशम्शेरले काठमाडौमा भत्केका दरवारहरुको पूननिर्माणको कामको लागी काठमाडौ बोलाए । यसरी दरवारहरुको पूननिर्माणको क्रममा नै उनको अचानक काठमाडौमा नै मृत्यु भयो । यस पछि लुम्बिनीको संरक्षण तथा यस क्षेत्रको सम्वर्धनमा बि.सं. १९९६ मा पून केशर शम्शेर खटिए । उनले अन्वेषणको क्रममा उत्खनन गरेको माटोलाई थुपारेर ढिस्को बनाएर राखे । जसलाइ सुरक्षित गर्न बाहिरबाट इटा छापे । यसैलाई पछि मायादेवीको मन्दिर भनेर नामाकरण गरे । पछि अशोक स्तम्भको पूर्वमा रहेको यहि मन्दिरको स्वरुप परिवर्तन गर्दै मायादेवीको मन्दिर बनाइयो ।

    बि.सं. २०१६ साल चैतमा संयुक्त राष्ट्र संघका महासचिव ड्याग हामर्सकोल्डको लुम्बिनी भ्रमण गरेका थिए । बि.सं. २०२४ को बैशाख ३ गते संयुक्त राष्ट्र संघका महासचिव उ थान्त नेपाल भ्रमणमा आएका थिए । उनको जन्म बर्मामा भएको हुदा बुद्ध धर्मका अनुयायी थिए । अचानक उनले सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी घुम्ने चाहना राखे । राजा महेन्द्रले उनको भ्रमणको चाहना पुरा गराइ दिए । भ्रमणबाट सिद्धार्थ गौतमको जन्मस्थल जस्तो देखे । उनि धेरै निराश बने । उनको भ्रमणको समय मायादेवीको मन्दिर बिशाल खेतको बिचमा थियो । छेउमा रहेको अशोक स्तम्भको पनि बेवास्ता थियो । उनले त्यति बेलै राजा महेन्द्रसंग केही परिवर्तनका खाका बुने ।

    यहि उ थान्तको भ्रमण नै लुम्बिनीको आमुल परिवर्तनको प्रमुख आधार स्तम्भ बन्यो । लुम्बिनीलाई धार्मिक पर्यटकिय स्थल बनाउन सकिने सुझाब सहितको लुम्बिनी गुरूयोजनाको चाहनामा साथ दिन आग्रह गरे । त्यसपछि २०२६ को पौषमा UNDP को एउटा टोलीले आगामी योजनाको लागी पूर्वाधारको थालनी गरे । २०२७ मा बुद्ध धर्मका अनुयायी १३ राष्ट्र सम्मिलित International Committee for the Development of Lumbini गठन भयो । २०२९ मा Kenzo Tange बाट गुरूयाेजनाको खाका तैयार भयो । जसलाई Kenzo Tange Master Plan भनिन्छ । यसलाई नेपाल सरकारले स्विकृती दिए पछि यो कार्यले निरन्तरता पायो । उ थान्तको सपनाले साकार रूप पायो । त्यसैले उ थान्तले आफ्नो जीवनीमा “लुम्बिनी भ्रमण मेरो जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो” भनेर लेखेका छन् ।

    तिनै लुम्बिनी गुरुयोजनाका सपना साकार गराउन सहयोग गर्ने उ थान्त को सालिक लुम्बिनीमा स्थापना गरिएको छ । सो सालिक अनावरणका लागी आएका उनका नाति डा. थान्त मि उ निकै खुशी भएका थिए ।

    २०३७ सालको माघमा महासचिव कुर्त वाइल्हाइमले लुम्विनी भ्रमण गरेका थिए । २०४५ को फागुनमा हाभिएर पेरेज डि कुरियारले भ्रमण गरे । त्यसपछि घाली र अन्नानले भ्रमण नगरे पनि लुम्विनी गुरू योजनालाई पूर्ण सहयोग गरिरहे । २०५३ बाट विश्व सम्पदा सूचीमा सूचिकृत हुन पुग्यो । जसले गर्दा लुम्बिनी आजको अवस्थामा हेर्न पायौ । अन्तमा २०६५ को मंसिरमा वान कि मुनले लुम्विनी भ्रमण गरे ।

    यसरी संयुक्त राष्ट्र संघले ध्यान पुर्वक लुम्विनीलाई प्राथमिकतामा राखिरहेको स्पष्ट देखिन्छ । यसर्थ सिद्धार्थ गौतम नेपालमा जन्मेको प्रमाणित गर्न कुनै तामझाम वा केवल चर्चामा आउन टुडिखेलमा भिड जम्मा पार्नु पर्ने आश्यकता छैन । युद्ध र हिंसालाई प्राथमिकता मान्ने माओवादी जस्ता दल त शान्ती नै सर्वोपरि मानेर राजनैतिक धरातलमा उभिसकेको अवस्थामा बुद्धलाई राजनैतिक मुद्दा झै तामझाम नगरौ । भारतले लुम्विनी हाम्रो भन्दैमा विश्वले मान्दैन । बुद्ध कहा जन्मेको मुद्दालाई सार्नु भन्दा शान्तीको अभियानको मुद्दा सारौ । भोली फेरी देशले हत्या र हिंसाको कुवाटो समाउन नपरोस् भन्ने अभियानमा लागौ । माओवादी जस्ता हिंसा त्यागी आएका राजनैतिक दललाई सदैव राजनैतिक मुलधारमा बसेर राजनिती गर्ने प्रेरणा दिउ ।

    र अन्तमा बुद्धको पञ्चशीललाई कहिल्यै नबिर्सौ । सबै अवलम्बन गर्न नसके पनि केहीलाई अवश्य पालन गरौ । जसले सबैको कल्याण हुनेछ ।सबैमा बुद्ध पूर्णिमाको शुभकामना ।