३ वर्ष पहिले
पुष-१५, तमु ल्होसार गुरुङ जातिको महान चाड हो।यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ ।
सामान्यतया ल्होछार दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ ।
यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ। ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ।
गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।हिजो गाई बर्षलाई विदाई गरेर आजबाट बाघ बर्ष शुरु भएको छ।प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पतिभएको मानिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।
ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् ।