४ वर्ष पहिले
४० वर्षदेखि भारतका विभिन्न जेलमा बिना सुनुवाई कैद भुक्तान गर्दै आएका इलामका दीपक जोशी भनिने दुर्गा प्रसाद तिम्सीनालाई अन्तत कोलकत्ता उच्च अदालतले छाड्ने प्रक्रिया अन्तर्गत २७ फागुनमा सुनुवाइ गरेको छ। सुनुवाइपछि मुख्य न्यायाधीशले जारी गरेको आदेशमा दीपकलाई अन्याय भएको जनाइएको छ ।
सुनुवाइपछि मुख्य न्यायाधीश राधाकृष्णनले जेलमा रहेका अरू सबै ‘मानसिक अवस्था कमजोर भएका’ कैदीहरूका लागि केही दिनभित्रै महत्वपूर्ण फैसला गर्ने बताएका थिए।
‘डाक्टरहरूले उहाँलाई मानसिक रूपमा समस्या भएको ९-१० वर्षको बच्चाले जसरी सोच्नुहुन्छ भनेर रिपोर्ट दिनुभएको छ रे,’ कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासका अफिस सेक्रेटरी सतिश थापाले जेलमा भने,’त्यसैका आधारमा न्यायाधीशले यस्ता समस्या भएका सबैका लागि २-३ दिनमै ‘रिमार्कएबल’ फैसला सुनाउने भन्नुभएको छ।’
यसअघि दुर्गाप्रसादलाई भेट्न गएका उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले दाइमा कुनै मानसिक समस्या आफूले नदेखेको बताएका थिए।
सन् १९८० मा भारतको दार्जीलिङमा पक्राउ परेयता मुद्दाको ‘ट्रायल’बिना नै जेल जीवन बिताउँदै आएका दुर्गाप्रसाद पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा रहेका छन् ।
४२ वर्षअघि घरबाट निस्केका दुर्गाप्रसाद दार्जिलिङको एउटा चिया बगानमा काम गर्न थालेछन्। एकदिन चिया बगानमा एक जना महिलाको शव भेटियो। अरू सबै कामदार अफिसमा गए। दुर्गाप्रसाद डराएर भागेछन्।
अनि यसैले मारेको हो भनेर प्रहरीले उहाँलाई पक्रेर लगेछ,’ प्रकाशचन्द्रले भने,‘शंकाको भरमा पक्रेर लगेका उहाँलाई कहिल्यै पनि अदालत लगिएनछ।’त्यो दिन ठ्याक्कै के भएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन।
विदेशी भूमिमा दुर्गाप्रसादबारे बोलिदिने कोही भएन। उनलाई कहिले दार्जिलिङ, कहिले बहरमपुर जेल, कहिले अलिपुर जेल त कहिले मनोरोग चिकित्सालय हुँदै उनी दमदम केन्द्रीय जेलमा पुगेका रहेछन्।
सम्भवतः उनी जेलबाट छुटछन् । तर चालिस वर्षसम्म सुनुवाइ नै नगरी जेलमा राखिएको छ। दोषी नै भएको भए पनि केही वर्षमा त छुट्नुहुन्थ्यो। कुनै पनि कानुनले यति लामो समय मानिसलाई थुन्न नपाइने हुनाले यस्तो लापरबाही गर्नेले क्षतिपूर्ति दिनैपर्छ ।