× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    ईच्छाकामना गाउँपालिकाको समृद्धिको निम्ति पर्यटनको भूमिका र चुनौती (भाग २)

    ४ वर्ष पहिले

    – श्री राम बहादुर लामा

    ईच्छाकामना गाउँपालिकामा रहेका प्रमुख पर्यटकिय गन्तब्यहरु

    ईच्छाकामना मन्दिर:

    यस गाउँपालिकाको बडामा नं ५ मा प्रसिद्ध ईच्छाकामना मन्दिर अबस्थित रहेको छ। फिस्लिङ र मुग्लिङ माथि करिब १८ सय मीटरको उचाईको एकलास मनोरम डाडामा मन्दिर रहेको छ।  मन्दिर सम्म पुग्ने २ वटा मार्गहरु रहेका छन। चलन चल्तीको प्रमुख मार्गमा  फिस्लिङ बजार देखि कच्ची मोटरबाटोबाट २ घण्टामा ग्रामीण सडक मार्गबाट मन्दिर पुग्न सकिन्छ भने मुग्लिङ बजार देखि तामिन गाउँ हुदै मोटरमा नै या करिव ३ घण्टाको रोमाञ्चक पैदलयात्राबाट पनि उक्त मन्दिर पुग्न सकिन्छ। छिमेकी गोरखा जिल्लाको मनकामना, त्रिबेणी, गोरखकाली र तन्हूँको छिम्केश्वरी र चितवनको ईच्छाकामनालाई सहोदर दिदी बहिनीको रुपमा पराम्परा देखि मानी पूजी आएको देखिन्छ। ईच्छाकामना देबीलाई गोरखाको मनकामना देबीको साईली बहिनीको रुपमा पूजिदै आएको छ।  शुद्ध भाबका साथ बिधिपूर्बक पूजा पाठ गरे भक्तजनहरुको ईच्छा पूरा गरिदिने भएकोले यस देबीलाई ईच्छाकामना भनिएको हो भन्ने पौराणिक कथन रहेको पाईन्छ। गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने ईच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो। जस अनुसार ईच्छाकामना मन्दिरको स्थापना मकवानपुरे सेन राजाले सामरिक महत्वको यस स्थानमा मन्दिर स्थापना गरेका हुन भन्ने कुरा यसको ऐतिहासिकताको श्रोतलाई केलाउदा प्रष्टिन्छ। सम्भबत: पाल्पाली राजा मुकुन्द सेनले यी देबीको प्रतिस्थापन गराएको सम्भाबना बलियो देखिन्छ। अर्को भनाई अनुसार  १९६५ सालमा स्थानीय मनिराम दर्लामी गोठाला जाँदा देउता देखेको भन्दै पछि ढुंगाले बारेर पूजा गरी मन्दिरको नामाकरण गरी स्थापना गरेको बताईन्छ। बाह्रैमास चीसो मन्द हावाले सेक्ने र तापिलो घामका किरणहरुले मन्दिर परिसरको डाडा पाखालाई लपक्क ढाक्ने यस क्षेत्र आकर्षक दृश्यावलीको लागि चितवन जिल्लाकै प्रमुख स्थान हो । फागुन चैत महिनामा लाली गुँरासका फूलहरुले लटरम्म ढाक्छ भने मौसम सफा भएको बेला मनास्लु, माछापुच्छ्रे र गणेश हिमालका मनोरम टाकुराहरु आखा अगाडिनै झुण्ड्याउन सकिन्छ। पगौडा शैलीमा निर्मित सामान्य दुई वटा छानाले छाएको मन्दिरलाई भूकम्पले क्षति पुरयाए पछि भत्काएर मनकामना मन्दिरको शैलीमा नब निर्माण गरिदैछ। चेपाङ र गुरुङ जातिको बसोबास भएको यस क्षेत्रमा प्रांगरिक तरकारी खेतीको लागि प्रख्यात मानिन्छ। यहा हरेक बर्ष मंसिरको पंचमीको दिन गुठी पूजा लाग्ने गरिन्छ। सो बेला भेला भर्न चितवनको अलवा गोरखा, तन्हूँ, लमजुङ र धादिङ जिल्ला देखि काठमाण्डौ सम्मका जात्रालु भक्तजनहरुको भीड लाग्ने गर्छ।

    सिराईचुली:

    चितवन जिल्लाको सबैभन्दा अग्लो ठाउँको रुपमा परिचित चितवनकै शिर शिराईचुली ईच्छाकामना गाउँपालिकाको वडा नं १ मा अबस्थित रहेको छ। यो समुन्द्री सतह देखि १९४७ मीटरको उचाईमा रहेको यस स्थलबाट बिहान सूर्योदयको दृश्य देखि साँझमा सूर्यास्तको मनहर्ने सुन्दर दृश्य अबलोकन गर्न सकिन्छ। महाभारत पर्बत श्रृङलमा पर्ने सिराईचुलीबाट चितवनको समथर तराईका फाँट देखि छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नबलपरासीका सम्पूर्ण भूभाग देखि काठमाण्डौ नाकढुङगाका दृश्य समेत  हेर्न सकिन्छ। धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लामटाङ, गणेश, मनासलु लगायतका हिम श्रृङखलाहरुको दृष्टिपात गर्न सकिन्छ। बसन्त ऋतुमा लालीगुरासका फूलहरुले ढकमक्क ढाक्ने यस स्थलमा बर्षेनी आन्तरिक तथा बाहय पर्यटकहरुको संख्या बढिरहेको पाईन्छ। बिशेष गरेर यहा घुम्नको लागि  अक्टोबर देखि डिसेम्बर सम्म मौसम उपयुक्त मानिन्छ। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने काठमाण्डौबाट मुग्लिङ तर्फको राजमार्गको हुग्दी खोला भन्ने स्थलबाट करीब दुई घण्टाको मोटरबाटोको यात्रापछि हात्तीबाङ पुगिन्छ। त्यहाबाट करिब डेढ घण्टाको पैदल हिडेर सिराईचुली पुग्न सकिन्छ। भने अर्को रुट भनेको चितवनको कालिका नगरपालिकाबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगडी हुदै सवारी साधनबाट हात्तिबाङ सम्म आएर त्यहाबाट पैदय यात्राबाट पुग्न सकिन्छ। हात्तिबाङमा सुबिधा सम्पन्न होम स्टेको ब्यबस्था रहेको छ। सौराहबाट शक्तिखोर हुदै चेपाङ पदमार्ग अमलाचुली-उपरदाङगढी-चिसापानीटार-सौलाभन्ज्याङ हुदै हात्तिबाङबाट सिराईचुली पुग्न सकिन्छ।  आबश्यक पूर्बाधारको बिकास गरेर आकर्षक हिल स्टेशनको रुपमा बिस्तार गर्न सकिने यस स्थलमा प्याराग्लाईडिङ संचालनको समेत सम्भाबना रहेको देखिन्छ। सिराईचुली क्षेत्रमा सिद्धबाबाको ऐतिहासिक मन्दिर रहेको छ। नया बर्ष बैशाख १ गते यहा मेला पनि लाग्ने गर्छ।

    लामोझरना:

    मुग्लिङ बजारबाट नारायणगढ तर्फ लागेपछि ७ किमिको दूरीमा जलबीर भन्ने स्थल आईपुग्छ। त्यहाबाट आधा घण्टाको पैदल दूरीमा वा कच्ची मोटरबाटोबाट १० मीनेटको दूरीमा चितवनकै आकर्षक पर्यटक गनतब्यको रुपमा परिचित लामो झरना आईपुग्छ। हिउद होस वा बर्षा यहा चीसो झरनाको मजा लुटन चाहने पर्यटकहरुको ओईरो देख्न पाईन्छ। झरना अलौकिक लाग्छ। १०२ मीटर लामो झरनामा पानी निरन्तर झर्दछ। गर्मी मौसममा शीतल खोज्नेहरुको भीड झरनामा देखिन्छ। आन्तरिक तथा बाहय पर्यटकको लागि यो झरनामा क्यानोनिङका लागि चुम्बकिय आकर्षणको केन्द्रको रुपमा लोकप्रियता बढदै गएको देखिन्छ। खास गरेर सेप्टेम्बर देखि नोभेम्बर सम्म यहा क्यानोनिङको लागि उपयुक्त मानिन्छ। झरनाभित्र ९ वटा सहायक उप झरनाहरु ( छहरा ) भएकोले यो झरना क्यानोनिङको लागि बिश्वकै उत्कृष्ट १० औ स्थानको रुपमा सूचिकृत गरेको पाईन्छ। यहा महिला र पुरुषको लागि छुट्टा छुट्टै पौडी पोखरीको ब्यबस्था गरिएको छ। झरना माथि याकराङ गाँउ रहेको छ। जहा गुरुङ संस्कृतिको रसास्वादन गर्न पाईन्छ। सडक मार्ग पुगे पछि याकराङ गाउँ होम स्टेको लागि समेत प्रसिद्ध हुन थालेको छ।  सिँढी चढेर झरना पुग्न सकिन्छ। पानीको बहाब रोकेर पौडी खेल्न मिल्ने पोखरी बनाएको छ। गुरुङ र चेपाङ संस्कृतिलाई नजिकबा नियाल्ने अबशर समेत जुटछ।

    त्रिशुली नदीमा जल बिहार (राफ्टिङ):

    ह्ववाईट वाटर राफ्टिङको लागि बिश्वकै उत्कृष्ट टप टेनभित्र पर्ने त्रिशुली नदी यही गाउँपालिकाको भू-भाग भएर बग्छिन। साहसिक पर्यटनको क्षेत्रमा पर्ने रयाफ्टिङको लागि  फिस्लिङ बजार देखि मुग्लिङ हुदै जुगेडी सम्मको रुट रयाफ्टिङको लागि प्रचलित रुट हुन। एडभान्चर मन पराउने आन्तरिक तथा बाहय पर्यटकहरु त्रिशुली नदीमा जल बिहार गर्न झुत्तिन्छन। फिस्लिङ बजार त्रिशुली नदीमा गरिने रयाफ्टिङको लगि हबको रुपमा परिचित छन। यहा दर्जनौ कम्पनीका स्टोरहरु रहेको देखिन्छ। त्रिशुली नदीमा रयाफ्टिङ गराउने रिभर गाईडहरु बिश्वकै उत्कृष्ट रिभर गाईडको रुपमा प्रसिद्ध रहेका छन। फलस्वरुप यहाका झण्डै पचास जना गाईडहरु जापान र यूरोपतिर मौसमी रोजगारका लागि बर्षेनी आमन्त्रित हुन्छन।

    गुप्तेश्चर जलेश्वर महादेब मन्दिर:

    गुप्तेश्चर जलेश्चर महादेबको मन्दिर ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङ स्थित त्रिशुली नदी र मर्स्याङदी नदीको संगमस्थलमा रहेको छ। भीमकाय एउटै ढुङगामा अबस्थित शिबलिङ नेपालकै नौलो र अनौठो लाग्छ। उक्त मन्दिरको बारेमा स्कन्द पुराणमा समेत बर्णन भएको पाईन्छ। स्वंय शिब भगबानलेनै मूल फुटाई उत्पत्ति गरेको त्रिशुली नदीको जलले अहोरात्र एक निमेष पनि खाली नगरी अभिषेक गरिरहने यहाको शिबलिङ बिश्वकै अनुपम र अतुलिनय धार्मिक महत्व र कीर्तित्वले परिबेष्ठित भएको देखिन्छ। हरेक बर्ष शिबरात्रीको दिनमा यहा मेला लाग्ने गरिन्छ।

    मनकामना केबुलकार:

    लास्ट बट नट लिस्ट भने जस्तो नेपालको पहिलो केबुलकार मनकामना केबुलकार यसै गाउँपालिकाको वडा नं ३ स्थित चेरेसमा अबस्थित रहेको छ। नेपालको पर्यटन उध्योगलाईनै नबिन दिशा निर्देश गरेको गेम चेन्जर प्राेडक्टको रुपमा यस मनकामना केबुलकारलाई लिईन्छ। २०५५ साल मंसिर ८ गतेकाे दिनमा तत्कालिन यूबराजधिराज स्व. दीपेन्द्र बीर बिक्रम शाहको बाहुलीबाट उद्घाटन गरी सेवा प्रारम्भ गरेको मनकामना केबुलकारको माध्यमबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिरमा दर्शन गर्ने लाखौ भक्तजनहरु लाभान्वित भैसकेका छन। बार्षिक १२ लाख स्वदेशी तथा बिदेशी पर्यटकलाई सेवा दिने यस उध्योग दूरदर्शी ब्यबसायी स्वर्गिय लक्ष्यमणबाबु श्रेष्ठले सूत्रपात गरेको एउटा नमूनाको सर्बत्र गौरब लायक परियोजनाको रुपमा लिईन्छ।

    सम्भाबनाका क्षेत्रहरु:

    पर्यटन उद्योग आफैमा चलायमान र निरन्तर क्रियाशिल भईराख्ने हो। बदलिदो समयको प्रभाब र दवाब अनुकूल निरन्तर आफूलाई परिबर्तित र परिमार्जित गर्दे रुपान्तरण गर्न सकेन भने यसबाट अपेक्षित लाभ लिन सकिदैन। पूरानै ढर्रा र तौर तरिकाको राग मात्र अलापेर यस क्षेत्रको बिकास र बिस्तारलाई दौडाउन सकिदैन। नबिनतम सोच र निरन्तर क्रियाशिल क्रियाकलाप र अभियानले मात्र पर्यटन उद्योगमा ओज र तेज ल्याउन सक्छ। आज मरुभूमिको शुष्क बालुबाको थुप्रोमा दुबईले कृत्रिम आईस स्केटिङ स्टेडियम बनाएर बर्षमा लाखौ पर्यटक भित्राउछ। बाह्रै मास हिउले भरिपूर्ण हुने हाम्रा हिमाली टाकुराहरु भने  निर्जन भई ओझेल परेको छ। हिजो सशस्त्र द्धन्द र लडाईको कारण तहस नहस भएको हाम्रै जस्तो सानो मुलुक कम्बोडियामा आज बर्षको करौडौ पर्यटक भित्रिन्छ। आफ्नो बिशिष्ट भौगोलिक बनावट, बिधिबततायुक्त पहाडी भू-बनोट (५ सय मिटर देखि १९४६ मिटर सम्मको उचाई), ऐतिहासिक एबं धार्मिक सम्पदाहरु, नदी, झरना र बन जंगलहरु, थरी थरीका जाति र धर्मालम्बीहरु, सडकको राम्रो कनेक्टिभिटिको कारणले ईच्छाकामना गाउँपालिकामा पर्यटन बिकासको प्रशस्त सम्भाबनाहरु रहेको देखिन्छ। पर्यटन बिकासका लागि हामी सँग उपलब्ध सम्भाबनाका सम्भाबित क्षेत्रहरुलाई मोटामोटी ३ भागमा बिभक्त गरेर अध्यन गर्दा सान्दर्भिक देखिन्छ।

    – धार्मिक तथा ऐतिहसिक स्थल तथा सम्पदामा आधारित पर्यटन।

    – प्राकृतिक श्रोत र  साधनमा आधारित पर्यटन। 

    – मानबजन्य क्रियाकलापमा आधारित पर्यटन।

    धार्मिक तथा ऐतिहासिक स्थल तथा सम्पदामा आधारित पर्यटन
    यसमा ईच्छाकामना मन्दिर, उपरदाङ गढी, चिसापानी गढी, बालगौरी पाथीभरा मन्दिर, गुप्तेश्चर जलेश्चर महादेब मन्दिर, कुरिनटार ईच्छाकामना मन्दिर, शान्ति संगम बौद्ध गुम्बा, तोपा दुलो आदि रहेका छन।

    प्राकृतिक श्रोत र साधनमा आधारित पर्यटन।
    यसमा हामी ७०० मीटर भन्दा उचाईमा रहेका यहाका पहाडी डाडा, थुम्को र भन्ज्याङहरुलाई हिल स्टेशनको रुपमा बिकास गरी पर्यटक आकर्षण गर्न सकिन्छ। सिराईचुली, लामो झरना, त्रिशुली नदीमा कहिल्यै आकर्षण र रहर नहराउने स्थिति रहेको हुदा गुणस्तरिय हाई ईल्ड आन्तरिक तथा बाहय पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ। ईको टुरिज्मको लागि यहाका पहाडी भूभागहरु सुन्दर साधनको रुपमा दोहन गर्न सकिन्छ। अर्गानिक कृषि उत्पादनमा आधारित होम स्टेहरुको बिकास गरी राजधानी काठमाण्डौ, चितवन र पोखराका आन्तरिक पर्यटकहरुलाई वेयलनेस रिट्रिटको लागि आकर्षित गर्न सकिन्छ।

    मानबजन्य क्रियाकलापमा आधारित पर्यटन।
    यस श्रेणीमा हामी राफ्टिङ, क्यानोनिङ, पारा ग्याईडिङ, बम्पी जम्पिङ, जीप फ्यायर, डाउनहिल साईक्लिङ, बीच भलिबल, क्रिकेट, फूटबल प्रतियोगिता, अल्ट्रा दौड, जात्रा, पर्ब, फूड फेस्टिबल, कल्चरल ईभेन्ट, फिल्म सुटिङ, हाई किङ, ट्रेकिङ, फ्रुट पिकिङ, सभा सम्मेलन तथा ब्यापारिक ईभेन्ट  जस्ता गतिबिधि मार्फत फरक फरक स्वाद र भेराईटीका पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ।

    ईच्छाकामना गाउँपालिकामा पर्यटन बिकासको लागि गाउँपालिकामा रहेका सबल पक्षहरु निम्नानुसार रहेको पाईन्छ।

    • देशको राजधानी काठमाण्डौ, दोश्रो र तेश्रो प्रमुख पर्यटक गनतब्य पोखरा र चितवनलाई सडक मार्गमा जोडने मूल नाका।
    • गाउँपालिकामा रहेका प्रमुख पर्यटक गनतब्यहरुमा कच्ची सडक भएपनि सहज पँहचको अबस्था।
    • सेवा र सुबिधाको दृष्टिकोणले गुणस्तिरय पर्यटक स्तरिय होटल रिसोर्टहरुको उपलब्धता।
    • नेशनल हाईवेको मूल रुट।
    • नेपालकै नम्बर वान आन्तरिक पर्यटक भित्रयाउने गोरखाको मनकामना मन्दिर केबुलकार र सडक मार्गबाट  पुग्ने मूल ढोका।
    • चेपाङ, गुरुङ,मगर,तामाङ, थकाली, नेवार, क्षेत्री बाहुन, दलित, मुश्लिम जस्ता जातहरुको जातिय  र सांस्कृतिक बिधिबताको संगम।
    • बिजुली तथा संचारको बलियो कभरेज।
    • राफ्टिङको लागि नेपालकै नम्बर वान रिभर गाईड उत्पादन गर्ने स्थल।
    • मुग्लिङ, रमाईलो डाडा, कुरिनटार जस्ता नेपालकै प्रख्यात लाईन होटल रहेको स्थल।
    • नेपाल भारतको प्रमुख नाका बीरगंज र भैरहवा, नेपाल चीनको प्रमुख नाका तातोपानी र केरुङ सँगको निकट भौगोलिक दूरी।

    पर्यटन बिकासको लागि गरी आएका नियमित गतिबिधि र कार्यहरुको अलबा यस क्षेत्रको बिशिष्ट भौगोलिक, धार्मिक र ऐतिहासिक स्थल र सम्पदाहरुको प्रयोग गरी अन्यत्र भन्दा  तुलनात्मक लाभ र प्रतिष्पर्धी क्षमता बढी भएका पर्यटन बिकासका लागि प्रडक्टहरु डिजाईन र डेभलप गर्न सकियो भने यस क्षेत्रको आर्थिक र सामाजिक बिकासको लगि बरदाननै सिद्ध हुने सक्ने अनुकूलताहरु पनि देखिन्छ। मेगा प्रोजेक्ट प्रडक्टहरु यस प्रकार रहेका छन।

    गोरखकाली-मनकामना-त्रिवेणी-ईच्छाकामना धार्मिक सर्किट (परिपथ) टेम्पल टु टेम्पल ट्रेलको बिकास:

    मूलत पर्यटक कि मजा लिन घुम्छन, कि देब देबी, धाम धाउन पूजा गर्न घुम्छन। सौभाग्यले हामी सँग घुम्न पनि पूज्न पनि मिल्ने अनुपन अतुलनिय स्थान र सम्पदाहरु रहेका छन। गोरखा जिल्लाको मनकामना देबीको सहोदर दिदी बहिनीको रुपमा प्राचिन कालदेखिनै पूजिदै र मानिदै आएको मुग्लिङ बजार पारी गोरखा जिल्लामा पर्ने त्रिबेणी देवी, गोर्खा जिल्लाको गोरखकाली र चितवन जिल्लाको ईच्छाकामना मन्दिरलाई एक अर्कामा जोडी भारतको चार धामको कन्सेप्टमा धार्मिक यात्राको लागि गोरखकाली-मनकामना-त्रिवेणी-ईच्छाकामना धार्मिक परिपथ (Temple to Temple Trail को निर्माण गरी बिकास गर्न सकिन्छ। सडक संजालबाट यस तीर्थ स्थललाई जोडेर सुबिधा दिन सक्यो भने नेपालकै नम्बर वान रिलिजियस टुरिष्ट डेस्टिनेशन हुने कुरामा दुई मत छैन। स्थानीय, प्रदेश र संघिय सरकारको समन्बय र सहभागितामा यस प्रडक्टलाई मूर्त रुप दिन सकिन्छ। सडक र पैदल दुबै माध्यमबाट पुगी दर्शन गर्न सकिने छनौट दिन सकिन्छ। जसले गर्दा सबै प्रकृतिको धार्मिक तथा मनोरञ्जनात्मक पर्यटकहरुलाई आकर्षि गर्न सकिन्छ। जसको कारण बर्षमा अहिलेनै २०, २५ लाखको हाराहारीमा पर्यटक भित्र्याउन सकिन्छ।

    रोड र रिभर टुरिज्म।

    नेपालकै सबैभन्दा ब्यस्त र पूर्बाधारयुक्त सडकको रुपमा मानिने पृथ्बी राजमार्ग र मुग्लिङ-नारायणगढ राममार्ग यसै गाउँपालिकको भू-भाग भएर काठमाण्डौ, पोखरा र नारायणगढ तर्फ फैलिन्छ। यस अनुकूलतालाई पर्यटन बिकासको लागि मज्जाले दोहन  गर्न सकिन्छ। यस रोडमा हामी ड्राईभ टुरिज्मका ईभेन्टहरु बर्षैभरी संचालन गर्न सक्छौ। लिजर र होलीडे मेकर टुरिष्टहरुलाई आकर्षक प्याकेजमा काठमाण्डौबाट मनकामना केबुलकार, पोखरा र चितवनको सौरहा सम्म बिभिन्न रोड तथा ड्राईभ टुरिज्मका एक्टिभिटिहरु आयोजना गरी आकर्षण गर्न सकिन्छ। साहसिक र नौलो अनुभब लिन चाहने खासगरी यूवा बर्गलाई यो प्रोडक्टले लोभ्याउन सकिन्छ। यसमा हामी बाईक रयाली, रेस,  हाईवे साईक्लिङ, बिभिन्न मोडेल र स्थापना साल भएको यूनिक र क्लासिकल गाडीहरुको सवारी, छत नभएको दुई तले बस वा ट्रकको सवारी, ईलेक्ट्रिक भेईकलको सवारी आदि मार्फत पर्यटकलाई रोड टुरिज्मको मजा दिन सकिन्छ। जल बिहार रयाफ्टिङको लागि  नेपालकै नम्बर वान र बिश्वकै टप टेनभित्र पर्ने  त्रिशुली नदी पनि यसै गाउँपालिकाको भू-भाग भएर बग्छिन। त्रिशुली नदीमा आधारित रयाफ्टिङ प्रतियोगिता, डुङगामा बसेर कन्सर्ट, कबिता बाचन, प्रडक्ट लन्च गर्ने जस्ता आकर्षक ईभेन्टहरु आयोजना गर्न सकिन्छ। त्रिशुली नदीको किनारमा बीच भलिबल, बीच क्रिकेट जस्ता खेलकूद प्रतियोगिताको आयोजना गर्न सकिन्छ। बीच पार्कहरुको निर्माण गरी नौलो स्वाद चखाउन सक्छौ।

    अल्ट्रा दौड तथा डाउन हिल साईक्लिङ।

    फिस्लिङ बजारबाट ओकोलो लागी ईच्छाकामना मन्दिर पुगी त्यहाबाट तामिन बजार हुदै मुग्लिङ सम्म लगभग ३५, ४० किमीको अल्ट्रा दौड आयोजना गर्न सकिन्छ। यसै गरी ईच्छाकामना मन्दिरबाट फिस्लिङ सम्म र शक्तिखोर सम्म डाउनहिल साईक्लिनिङ गर्न सकिन्छ। यो चितवनकै लागि नौलो पर्यटन प्रडक्ट हुन सक्छ।

    गुप्तेश्वर जलेश्वर महादेब मन्दिरमा पितृ मुक्ति महादीप दान बहन कार्यक्रम (धार्मिक महोत्सब):

    मुग्लिङ बजार स्थित त्रिशुली नदीको किनारमा एउटै ढुङगाको भीमकाय शिबलिङग रहेको छ। जसको बर्णन स्कन्द पुराणमा समेत गरेको पाईन्छ। नेपालको कुनै पनि ठाउँमा नपाउने र नदेखिने यस्ता दुर्लभ सम्पदा रहेको यस स्थलको धार्मिक महत्व बढी रहेको छ। स्वंय शिबले सिर्जित गरेका त्रिशुली नदी र मर्स्याङदी नदीको दोभानमा मिश्रित नदीले सो शिबलिङलाई निमेष खाली नगरी पल प्रतिपल जल अभिषेक गर्छिन। यस्ता अनुपम स्थलमा हामीले मरेका बितेका आफ्ना पितृ पूर्खाहरुको मुक्तिको लागि धार्मिक अनुष्ठान गरी पुण्य आर्जन गर्ने अपुर्ब मौका उपलब्ध गराउन सकिन्छ। यसको लागि हामी भारतको काशी गया गईरहनु पर्देन। नेपालकै सबैभन्दा बढी सडक दुर्घटनाक कारण जीबन गुमाउनु परेका सडक क्षेत्र यसै स्थानमा पर्ने हुदा झन यसको सामयिकता र सान्दर्भिकता बढता जच्छ। यस धार्मिक उत्सबबाट बर्षमा लाखौ धर्मानुरागी पर्यटकहरु भित्र्याउन सकिन्छ। निरन्तर त्रिशुली नदीले अभिषेक गरिरहने भीमकाय शिबजीको बासस्थान भएकोले पितृमुक्ति उद्धारको लागि त्रिशुली नदीमा स्मृति स्वरुप महादीप दान गरी पुण्य आर्जनको निम्ति महा धार्मिक उत्सबको आयोजना गरी धार्मिक पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ। 

    हाई हिल मेडिटेसन एण्ड वेलनेस रिट्रिट सेन्टर:

    यस गाउँपालिकामा रहेका ईच्छाकामना मन्दिर परिसरको खाली स्थानमा हाई हिल मेडिटेसन एण्ड वेलनेस रिट्रिट सेन्टर स्थापना गरेर तनाबले थकित ब्यक्तिहरुलाई लाभ लिन आकर्षण गर्न सकिन्छ। उचाईमा रहेको मनोरम पहाडको थुम्कोमा अबस्थित साक्षत देबीको सन्मुख ध्यान गरेर आध्यात्मिक आनन्द लिन गुणस्तरिय कर्पोरेट क्लाईन्टहरु आकर्षण गर्न सकिन्छ।

    उपारदाङगढी खुल्ला संग्रहालय।

    चितवनको पुरानो सदरमुकान उपरदाङ गढी सँग चितबनसँग नाता जोडिएका सबै ब्यक्तिको भाबनात्मक लगाब हुन्छ। यही ईमोशनल एटेन्चमेन्टलाई क्यासिङ गर्न चितवन जिल्लाको सम्पूर्ण ईतिहास झल्किने चितवन बिकास यात्राको सम्पूर्ण परिचय प्रर्दशन गर्न सकिने गरी चितवन जिल्लाकै पुरानो सदरमुकान उपरदाङगढीमा खुल्ला संग्रहालय स्थापना गरी लाखौ पर्यटकहरुलाई भित्र्याउन सकिन्छ। सगै अर्गानिक रेष्टुरेन्टको पनि ब्यबस्था गर्न सकिन्छ।

    फ्रुट पिकिङ  टुरिज्म

    यस गाउँपालिकाको पहाडी भेगहरुमा उप्तादन हुने सुन्तलाको बगैचामा आफैले टिपी सुन्तला खाने प्रुट पिकिङ टुरिज्मको बिकास गर्न सकिन्छ। र त्यही सन्तलाले बनेको जुस, जामको पनि खरिद गर्न सकिन्छ। जसबाट सो क्षेत्रको गरिबी न्यूनिकरणको लागि पनि मद्धत पुग्न सकिन्छ।

    अबशर, सम्भाबना सगै चुनौतीका चाङहरु पनि बेग्रल्ती थुप्रिएका हुन्छ। ईच्छाकामना सिङगो गाउँपालिकालाई सुन्दर पर्यटन क्षेत्रको रुपमा बिकास र बिस्तार गर्ने भन्ने कुरा आफैमा ठूलो हाँक र चुनौती पनि हो। सम्भाबना बिस्तारको लागि देखिएका केहि प्रमुख चुनौतीहरु यस प्रकार रहेका छन।

    • पर्याप्त पूर्बाधारको कमी: बर्षको केहि महिना मात्र गुड्न मिल्ने ग्रामीण सडकहरुको गुणस्तरियता बृद्धि गर्दै स्तरोन्नति गर्न अत्याबश्यक देखिन्छ। यसको लागि प्रशस्त पूँजीकाे जरुरत पर्दछ। गाउँपालिकाको मात्र एक्लो प्रयासले यो कार्य सम्भब देखिदैन।
    • बिजुली, पानी तथा संचार सुबिधाको न्यूनता: यस गाउँपालिकामा राजमार्गले छोएको भेगहरु बाहेक धेरै जस्तो पहाडी स्थलहरुमा अझै पनि बिजुली, पानी र संचार सुबिधाको उपलब्धता हुन सकेको छैन। यसलाई दुर्त गतिमा बिकास गर्न जरुरी देखिन्छ।
    • अन्तर प्रदेश र तहका बीच समन्बय र सम्बन्धको अभाब: प्रदेस नं ३ र  ४ सँग जोडिएका यस गाउँपालिकाको पर्यटकिय स्थल र सम्पदाहरुको बिकास गर्नको लागि अन्तर तह र प्रदेश बीच जीबन्त र कार्यमूलक सम्बन्ध र समन्बयको जरुरी हुन्छ। यसको लागि उपल्लो स्तरको सचेतना र चाहना हुनु पर्दछ।

    यस गाउँपालिकाले आफ्नो समृद्धिको सपना पर्यटन र कृषिको बिकास बिना किमार्थ सम्भब छैन। तसर्थ प्रतिफलमा आधारित योजनाको निर्धारण गर्न पर्यटनलाई मूल प्रार्थमिकता निर्धारण गर्न जरुरी देखिन्छ। पर्यटनको ब्याकवार्ड लिंकेज कृषि सँग हुने हुदा पर्यटनको बिकास हुनासाथ अटोमेटिकल्ली कृषिको पनि साथ साथै बिकास हुन्छ। 

    प्रस्तुत चुनौती र सम्भाबनाका बीच तालमेल गराउदै अघि बढनुनै हाम्रो आगामी कार्यदिशा हुनेछ । सबै चुनौतीहरु एकसाथ हल गर्न सकिदैन। क्रंमश: योजनाबद्ध नीति र कार्यबिधि अनुसार प्रार्थमिकताको छनौट गरी कार्य सम्पादन गरिदै जादा समस्याहरु समाधान हुदै जानेछ। हाललाई हामीले आगामी कार्यदिशालाइ २ भागमा बिभाजन गरेर निर्माण गर्नु पर्ने हुन्छ। १) दीर्घकालिन २) अल्पकालिन

    दीर्घकालिन र अल्पकालिन कार्यदिशाको सम्बन्धमा ब्यापक बहस, छलफर र सरसल्लाहको बिधि मार्फत टुङगो लगाउनु पर्ने हुन्छ। हाललाई तुरुन्त थालिने पर्ने कदमहरु यस प्रकार रहेका छन।

    • ब्यापक प्रचार प्रसार:

    पर्यटन उध्योग सूचना र प्रचारमा आधरित ब्यबसाय भएकोले हामीमा रहेका स्थल र सम्पदाहरुको जानकारी गराउन हामीले ब्यापक प्रचार प्रसार गर्न जरुरी हुन्छ। यसको लागि हामीले प्रिन्ट तथा बोर्डकास्टिङ मिडिया र सोसल मिडियालाई ब्यापक प्रयोग गर्न सकिन्छ। नियमित अध्याबधिक गरिने गरी वयेप साईटहरु संचालन गर्न जरुरी देखिन्छ।

    • तहगत र क्षेत्रगत समन्बय:

    पर्यटन उध्योग बहुपात्र सम्मिलित उध्योग भएकोले हामीले ट्राभल एजेन्जी देखि गाईड, टुर अपररेटर, रेन्टल भेईकल प्रोभाईडर देखि होटल मालिक, स्टाफ, पत्रकार, एयरलाईन्स अपरेटर, बैक, प्रहरी सबै क्षेत्रका ब्यक्तिहरुसँग समन्वय र सम्पर्क गर्नु पर्ने हुन्छ। हाम्रो क्षेत्रमा भएका पर्यटकिय सम्पदा र स्थलका बिकासका निम्ति जोडिएका पात्रहरु सँग जीबन्त सम्पर्क गर्न स्थायी प्रकृतिको संयन्त्र बनाउन जरुरी देखिन्छ। जसले स्थानीय तह, प्रदेश देखि संघ र अन्य नीजि क्षेत्रसँग समन्वय पनि गर्दछ।

    • शिप तथा क्षमता बिकास:

    हाम्रो पर्यटन बिकासको लागि चाहिने जनशक्तिहरुको बिकासको लागि अध्यन अध्यापन हुने शैक्षिक संस्था देखि तालिम प्रदायक संस्थाहरु मार्फत नियमित तालिम र शिप प्रदान गरी जनशक्तिहरुको उत्पादन र पुर्नताजगी गर्न जरुरी हुन्छ।

    • भ्रमण ईन्सेन्टिभको ब्यबस्था:

    यस गाउँपालिकामा रहेका होटल रिसोर्टहरुमा रहदा बस्दा खाएको पिएको र बसेको बिलहरुमा निश्चित दरमा छुट दिने ब्यबस्था गर्न जरुरी देखिन्छ। जसको कारण पर्यटकहरुलाई आकर्षण पैदा हुन्छ। ब्यबसायीहरुलाई करमा राहत प्रदान गर्न सकिन्छ।

    • नियमित अभियानको संचालन:

    पर्यटन आफैमा चलायमान र गतिशिल सेवा क्षेत्र भएकोले पर्यटकहरुकल ध्यान र चासो जगाउन बिभिन्न  प्रकारको अभियानहरु नियमितरुपमा संचालन गर्न जरुरी हुन्छ। जसको कारण पर्यटकलाई आफ्नो भ्रमण तालिका बनाउन उत्प्रेरणा प्राप्त हुन्छ। जस्तो सुन्तलाको सिजनमा सुन्तला बगैचाको भ्रमण अभियान, हिउदमा राफ्टिङ र क्यानोनिङ अभियान आदि।

    सारांश: प्रचुर सम्भाबना र बिधिबता रहेको ईच्छाकामना गाउँपालिकाको पर्यटन बिकासको लागि आबश्यक पहल र प्रयासको लागि सरोकारबालहरुको गहिरो ध्यान जान जरुरी देखिन्छ। हाम्रो समृद्धिको सपना कृषि र पर्यटनको माध्यमबाट मात्र प्राप्त हुन सक्छ। दूर दराजका ती पिछिडिएका गरिब जनताहरुको गरिबी न्यूनिकरणको लागि र ती भेगहरुको पूर्बाधार बिकासको लागि पर्यटन एउटा अचुक साधनको रुपमा प्रयुक्त तर्न सक्ने प्रशस्त आधारहरु जीबित छन। त्यसको ब्यबसायिक दोहनका निम्ति हाम्रो चासो र चिन्ता कार्यमूलक नतिजामा चित्रित हुने गरी कार्यको थालनी गरिनु नै हाम्रो साझा कार्यभार रहनु पर्दछ।

    लेखक मुग्लिङ हाईवे हस्पिटलका अध्यक्ष एबं सामाजिक अभियन्ता हुनुहन्छ।