

४ घण्टा पहिले
बैशाख-१९, चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङमा शिक्षक नियुक्तिका विषयमा विवाद उत्पन्न भएको छ ।
इच्छाकामना गाउँपालिकाले पठाएको शिक्षक विद्यालयका प्रधानाध्यापक भवेश्वर गरुङले माग गरे अनुसार योग्य नभएको भन्दै हाजिर हुन नदिई पुन : परिक्षा लिन खोजेपछि विवाद उत्कर्षमा पुगेको हो ।
विद्यालयका प्रधानाध्यापक गुरुङका अनुसार कक्षा १ देखि ८ सम्म गणित, विज्ञान र स्वास्थ्य विषय अंग्रेजी माध्यममा अध्यापन गराउन सक्ने शिक्षकको माग गरिएको थियो । तर गाउँपालिकाले पठाएको शिक्षकले आफू प्राथमिक तह (प्रावि) का कक्षा मात्र लिन सक्ने बताएपछि विवाद बढेको हो । प्रधानाध्यापक गुरुङले भने, “हामीले कक्षा ६ र ७ मा स्वास्थ्य विषयको कक्षा लिन आग्रह गरेका थियौँ, तर उहाँले प्रावि तहसम्म मात्र पढाउने बताउनुभयो ।”
उनले थपे “राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङमा इच्छाकामना गाउँपालिकाको एकमात्र अंग्रेजी माध्यमबाट पढाइ हुने सामुदायिक विद्यालय भएको हुनाले विद्यालयको आवश्यकता अनुसार माध्यमिक तहसम्म नै अंग्रेजी माध्यममा अध्यापन गर्न सक्ने शिक्षक माग गरेका हौँ ।”
उनका अनुसार उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ र आगामी वर्ष कक्षा ९–१० समेत सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यसैले हाललाई प्रावि तहका लागि भए पनि मावि तहसम्म पढाउन सक्ने उच्च शैक्षिक योग्यता तथा क्षमता भएको शिक्षक आवश्यक रहेको बताए ।
प्रधानाध्यापक गुरुङले बिधालयलाई उत्कृष्ट बनाउने क्रममा कुनै दबाबमा नझुक्ने र यसको निर्णयको लागि आज शनिबार अभिभावक भेलाको निर्णयलाई कार्यान्वयन गर्ने बताए। यसै विषयमा गाउँपालिकाले स्पष्टिकरण सोधेको हुनाले अभिभावक भेलाको निर्णय बमोजिम आगामी सोमबार स्पष्टीकरण दिने पनि बताए।