× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सुचना प्रविधि

    लकडाउनमा इन्टरनेट प्रयोगकर्ता ३ लाखले बढे, फोरजी प्रयोगकर्ता घटे

    ४ वर्ष पहिले

    सरकारले चैत ११ गतेदेखि कोराेना महामारी न्यूनीकरण गर्न बन्दाबन्दी आह्वान गरेपश्चात नेपालमा इन्टरनेट प्रयोगकर्ताकाे संख्या बढेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एक तथ्यांक अनुसार चैत २०७६ देखि असार २०७७ सम्मको चार महीनामा ३ लाख ३८ हजार ६१४ इन्टरनेट प्रयोगकर्ता बढेका छन्।

    प्राधिकरणले भदौमा जारी गरेको असारसम्मको तथ्यांक अनुसार नेपालमा विभिन्न सेवा प्रदायकबाट सेवा लिने इन्टनरनेट प्रयोगकर्ता ४४ लाख ९८ हजार ७७ रहेको छन्। यस्तो प्रयोगकर्ताको संख्या गत फागुनमा ४१ लाख ५९ हजार ४६३ रहेको थियो। तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या मासिक औषतमा ८५ हजारले बढिरहेको देखिन्छ।

    नेपालमा सेवा दिइरहेका ४० वटा कम्पनीमध्ये सक्रिय र ग्राहक संख्याका हिसाबले १०/१२ वटा मात्रै कम्पनी अगाडि छन्। यी कम्पनीले दिएको सेवा र प्राधिकरणमा बुझाएको विवरण अनुसार यस्तो तथ्यांक हरेक महीना सार्वजनिक हुने गरेको छ। प्राधिकरणले गर्ने यस्तो तथ्यांक तीन महीनापछि मात्रै सार्वजनिक गर्ने गरेको छ।

    प्राधिकरणको तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ता बढेको भएपनि मोबाइलबाट द्रूत गतिको इन्टरनेट चलाउने फोरजी प्रयोगकर्ताको संख्या भने घटेको देखिएको छ। प्राधिकरणका अनुसार फोरजी चलाउने ग्राहकको विवरण अनुसार हाल ४७ लाख ९४ हजार १०७ मात्रै छन्। यस्तो तथ्यांक फागुनमा ४८ लाख ३९ हजार १९४ रहेको प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ।

    तथ्यांक अनुसार बन्दाबन्दीपछि इन्टरनेटको प्रयोगकर्ता बढेका कारण सेवा प्रदायकबाट वितरण हुने ग्राहकको संख्या पनि बढेको देखिएको हो। इन्टरनेट प्रयोगकर्ता बढेको अनुपातमा चौंथो पुस्ताको मोबाइल इन्टरनेट फोरजीका ग्राहक भने घटेको देखिएको छ।

    प्राधिकरणको तथ्यांक अनुसार हाल नेपालमा मोबाइल इन्टरनेटको बजार हिस्सा ७४ प्रतिशत छन भने बाँकी २६ प्रतिशत मात्रै ब्रोडव्याण्ड इन्टरनेटका रहेका छन।