× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोङ्गबु बसपार्क क्षेत्रबाट लुटिएका मोबाइल एमडीएमएसको सहयोगमा फेला पार्न सकिने

    १ वर्ष पहिले

    फागुन -२, सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा भएको हुलदङ्गाका क्रममा मोबाइल पसलहरूबाट करिब आठ करोड रुपैयाँका सामान चोरी भएको बताइएको छ । मोबाइल व्यवसायी संघले त्यसको जानकारी दिन मध्यान्ह १२ बजे पत्रकार सम्मेलन समेत डाकेको छ ।

    पसल चोरी भएको विषयमा प्रहरीमा समेत उजुरी दिइएको र अनुसन्धान सुरु गरेको मोबाइल व्यवसायी संघले जनाएको छ । चोरी भएका मोबाइलहरू नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को सहयोगमा फेला पार्न सकिने बताइएको छ ।

    प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले कानूनी रूपमा टाइप अप्रुभल लिएर तथा भन्सार तिरेर नेपाल भित्र्याइएका मोबाइलहरू पत्ता लगाउन गाह्रो नहुने बताए । चोरी भएका मोबाइलमा सिम कार्ड राखेपछि आईएमईआई नम्बरको आधारमा ट्र्याक गर्न सकिन्छ ।

    त्यसपछि मोबाइल नम्बर र त्यस्तो मोबाइल रहेको स्थान ट्र्याक गर्न सकिने पौडेलको भनाइ छ । प्राधिकरणको एमडीएमएसका एक प्राविधिकले नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर चोरी भएका मोबाइलको बारेमा रिपोर्ट गर्न सकिने बताए ।

    “प्राप्त अनलाइन आवेदनको आधारमा त्यस्ता मोबाइल सिम प्रयोग हुने बित्तिकै ट्र्याक गर्न सकिन्छ,” ती प्राविधिकले भने, “ट्रेस हुने बित्तिकै प्रहरी प्रधान कार्यालयमा त्यसको रिपोर्ट पुग्छ । यसका लागि प्राधिकरणमा अनलाइन आवेदन दिइसकेपछि प्रहरीमा छुट्टै निवेदन दिइरहन जरुरी पनि हुँदैन ।”