

१७ पुष २०७७, शनिबार
पुस -१८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध दोस्रो चरणको एक महिने आन्दोलनको घोषणा गरेको छ।
शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
सार्वजनिक तालिका अनुसार पौष ३० गते सबै वडाहरुमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यतालिका रहेको छ । तर यो पौष महिना २९ गतेसम्म मात्रै छ । नेपाली क्यालेण्डरमा नै नभएको मितिमा कार्यक्रम गर्ने तयारी प्रचण्ड नेपाल पक्षको छ । उनीहरुले क्यालेण्डर नै नहेरी कार्यक्रमको तालिका बनाउन हतारो गरेको देखिन्छ ।
आन्दोलनको कार्यक्रम पुस २० गतेदेखि सुरु भएर माघ २३ गते सकिने छ। यस्तै, पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग र २३ पुसमा नागरिक समाजसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।
प्रचण्ड–नेपाल समूहले पुस २४ गते जिल्लाप्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र, संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्नेछ। यस्तै, पुस २० गतसम्म पालिकास्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टीका भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने छ। यस्तै, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गरिने छ।
यसैगरी, पुस २६ मा सडक संविधान वाचन व्याख्या कार्यक्रम, पुस २७ मा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला गरिने छ।
यस्तै, २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने, पुस २९ मा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला, पुस ३० मा सबै वडामा विरोध प्रदर्शन र सभा, माघ ५ मा सबै पालिकामा विरोध प्रदर्शन र सभा गरिने छ।
यसैगरी, माघ १० मा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली गरिने छ भने माघ १६ मा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा गरिने श्रेष्ठले जानकारी दिए। यस्तै, श्रेष्ठका अनुसार माघ २२ मा वडा तहमा मसाल जुलुस र माघ २३ मा राजधानीमा विरोध प्रदर्शन गरिने छ।