

६ आश्विन २०८३, बुधबार
असोज-७, बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन सुरु भएको छ । मनसुनसहित उक्त प्रणालीको प्रभावका कारण बुधबार (असोज ७) देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ । न्यूनचापीय प्रणालीको आंशिक प्रभाव सुरु भएको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए ।
“आंशिक प्रभावचाहिँ देखिन थाल्यो । त्यसमा पनि विशेष गरी वाग्मती प्रदेशबाट पूर्वतिर,” उनले भने । गण्डकीमा यसको खासै प्रभाव परिनसकेको उनले बताए ।
अहिलेको वर्षामा मनसुन पनि कारक रहेको उनले उल्लेख गरे । “जुन न्यूनचापीय प्रणाली छ, त्यसको कारणले पनि देखिन्छ,” उनले भने, “मनसुनी वायुको प्रभाव पनि रहेको देखिन्छ ।”
वाग्मती प्रदेशमा आज दिनभरिजसो पानी पर्ने सम्भावना रहेको उनले बताए । तर, पानी निरन्तर नपर्ने उनले स्पष्ट पारे ।
“आज दिनैभरिलाई सम्भावना परेको परेकै गर्नेजस्तो देखिँदैन, यद्यपि वर्षाको सम्भावना देखिन्छ,” उनले भने, काठमाडौंमा पनि दिनैभरिजस्तो लगातार नपरे पनि घाम लाग्न सक्ने सम्भावना अलि कम कमै छ ।”
मधेसमा पनि अहिले (बुधबार बिहान १०ः१० बजे) बादल लागिरहेको उनले जानकारी दिए । “विशेष गरी वाग्मतीकेन्द्रित मात्रै वर्षा भइरहेको छ,” उनले भने ।त्यो गहिरो न्यूनचापीय प्रणालीमा विकास भइसकेको उनले बताए ।
“गहिरो न्यूनचापीय क्षेत्रमा विकास भएको छ,” उनले भने, “जमिनको सतहतिर प्रवेश गर्दै छ । आज बेलुका या भोलिसम्ममा त्यो जमिनको सतहमा प्रवेश गर्छ जस्तो देखिन्छ ।”वर्षाको गतिविधि बिस्तारै बढ्दै जाने उनले बताए ।
“भोलि, पर्सि अलिकति बढी हुन्छ जस्तो देखिन्छ,” उनले भने, “आजको भन्दा भोलि बढी, भोलिको भन्दा पर्सि बढीजस्तो देखिन्छ ।”
यो अवधिमा बाक्लो हिमपातको पनि सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए । “हिमपातको बढी नै सम्भावना छ,” उनले भने, “पर्वतारोहणमा जुन याम छ अहिले, उहाँहरूको मध्यनजर गरेर रेड अलर्ट जारी गरिसकेका छौँ ।”