४ दिन पहिले
भदौ-१९, सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपनि नेपालमा पाँच ओटा प्लेटफर्म निर्वाध चल्ने भएका छन् । सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म रहेकोमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन लगायतका प्लेटफर्म सम्पर्कमा समेत आएका छैनन् ।
सूचीकरण नगर्ने सामाजिक सञ्जाललाई कसरी बन्द गराउने भन्ने विषयमा अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रीस्तरीय छलफल चलिरहेको छ ।
“बुधबारसम्म पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । अरू कुनै पनि सामाजिक सञ्जाल सूचीकरण हुन सम्पर्कमा आएका छैनन् । क्याबिनेटले गरेको निर्णयअनुसार मन्त्रालय अब अघि बढ्छ,” मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले भने । उनका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।
टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि मात्रै सूचीकरण गर्न आएको थियो । यस्तै, टेलिग्राममाथि प्रतिबन्ध लागेपछि उसले पनि सूचीकरणका लागि ईमेलमार्फत सञ्चार मन्त्रालयमा निवेदन दर्ता गराइसकेको छ । टेलिग्रामले बुझाएका कागजात अध्ययनकै क्रममा रहेकाले सूचीकृत गर्ने/नगर्ने निर्णय लिइसकेको ठाकुरले जानकारी दिए
सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै कात्तिक २०८० मा नेपालमा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यसको करिब १० महिनासम्म प्रतिबन्ध खेपेको टिकटक ६ भदौ २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार फुकुवा भएको थियो ।
टिकटक फुकुवा गर्दा सरकारले टिकटक सूचीकृत हुनुपर्ने, सम्पर्क विन्दु तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने, नेपाली र नेपालमा बोलिने अन्य भाषा फिल्टर गर्नुपर्ने लगायतका सर्त राखेको थियो । सर्त मान्न राजी भएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।
टिकटक कात्तिक २०८१ मा सञ्चार मन्त्रालयमा सूचीकृत भएको थियो ।सूचीकरण भएपछि टिकटकले गएको ७ जेठमा सञ्चार मन्त्रालयलाई आफ्नो प्रगति प्रतिवेदन बुझाइसकेको छ । सूचीकरण भएपछि तोकिएको सर्तअनुसार टिकटकले नेपालको पर्यटन प्रवर्धन गर्न भदौ पहिलो साता नेपाल पर्यटन बोर्डसँग सम्झौता गरिसकेको छ ।
छोटो भिडिओ कन्टेन्टका लागि टिकटक नेपालमा धेरै रुचाइने सामाजिक सञ्जालमध्ये पर्छ ।
त्यस्तै, मेसेजिङ एप भाइबर फागुन २०८० मा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार सञ्चार मन्त्रालयमा सूचीकृत भएको थियो । सबै प्रक्रिया पुर्याएर सञ्चार मन्त्रालयमा सूचीकृत भएसँगै भाइबरमाथि प्रतिबन्ध लाग्ने छैन ।
त्यसैगरी, सञ्चार मन्त्रालयमा सूचीकरण हुने अर्को सामाजिक सञ्जाल हो, निम्बज । असोज २०८१ मा सञ्चार मन्त्रालयमा सूचीकरण भएको निम्बज सुपर एपको रूपमा उदाइरहेको प्लेटफर्म हो । मेसेजिङ, भिडिओ/अडियो कल, फाइल ट्रान्स्फरलगायतका लागि निम्बज प्रयोग हुँदै आएको छ ।