१७ घण्टा पहिले
साउन-२९, निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने आन्दोलनको कार्यक्रम अन्तर्गत इच्छाकामना प्याब्सनले पनि इच्छाकामना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
इच्छाकामना प्याब्सनका अध्यक्ष टंक त्रिपाठीको नेतृत्वमा गएको टोलीले पालिकाका कार्यवाहक कार्यालय प्रमुख वासुदेव पण्डितलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । निजी विद्यालयहरूले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाइ नजरअन्दाज गर्दै आएको प्रस्तावित विधेयकका प्रावधानहरूप्रति आपत्ति व्यक्त गरिएको थियो।
निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने, तथा शिक्षण शुल्क, पोशाक, यातायात लगायतका सम्पूर्ण सेवा निःशुल्क गर्नुपर्ने जस्ता प्रावधानहरू व्यावहारिक र नैतिक दृष्टिले अव्यवहारिक भएकोले इच्छाकामना प्याब्सनको बिमति रहेको ज्ञापन पत्रमा भनिएको छ।। गलत प्रावधानले निजी विद्यालयहरूलाई धराशायी बनाउने, र समग्र शैक्षिक तथा आर्थिक प्रणालीमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ।
प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा हिजो सार्वजनिक गरेको कार्यक्रम अनुसार भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरेका छन् ।
यस्तै, भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लागि राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन/एनप्याब्सले गरेका छन् । भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र ६–७ गते केन्द्र/प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम राखिएको छ।