× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाको बजेट ७८ करोड १५ लाख, गत वर्षको भन्दा २६ लाख बढी

    १ हप्ता पहिले

    असार-८, इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ बजेट ल्याएको छ । यो बजेट गत आर्थिक वर्षको भन्दा २६ लाख ४४ हजार बढी हो ।

    गाउँपालिकाको आइतबार आयोजित सत्रौं गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालद्वारा प्रस्तुत बजेटमध्ये केन्द्र सरकारबाट ४६ करोड ३६ लाख र प्रदेश सरकारबाट छ करोड ९८ लाख ५७ हजार आय हुने अनुमान गरिएको छ ।

    त्यसमा पनि सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड ६८ हजार र प्रदेशतर्फको राजस्व बाँडफाँडबाट चार करोड ३५ लाख रूपैयाँ आय हुने अनुमान गरिएको छ । आन्तरिक राजस्व दश करोड ३२ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको विनियोजित बजेटमा उल्लेख छ । यस्तै व्ययतर्फ भने चालू खर्चको लागि ४३ करोड ३२ लाख ३६ हजार र पुँजीगततर्फ ३४ करोड ५३ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    सङ्घ र प्रदेशबाट हस्तान्तरित अनुदान फिर्ताको लागि दुई करोड ५० लाख र गत आर्थिक वर्षको भुक्तानीका लागि ७० लाख रूपैयाँ विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिलवालले बताइन् । आर्थिक विकासतर्फ छ करोड ४० लाख ८५ हजार, सामाजिक विकासतर्फ ३५ करोड १६ लाख ९१ हजार, पूर्वाधार विकासतर्फ २५ करोड ७९ लाख छ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ५६ लाख ३० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक करोड २२ लाख २१ हजार विनियोजन गरिएको उनले बताइन् ।

    आउँदो आर्थिक वर्षको लागि पाँच वटै विषयगत क्षेत्रलाई समेट्ने प्रयास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । ‘गाउँपालिकावासीको हितमा काम गर्ने गरी बजेट प्रस्तुत भएको छ,’ उनले भने, ‘यसले विगतमा भएका कमिकमजोरीलाई पनि सच्याएर अघि बढ्ने मौका मिल्नेमा हामी विश्वस्त छौँ ।’

    उपाध्यक्षले आगामी वर्षको बजेट प्रस्तुत गर्नुपूर्व अध्यक्ष दानबहादुर गुरूङमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । पालिकाको नीति तथा कार्यक्रममा समग्र इच्छाकामना गाउँपालिकाको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने, सीमान्तकृत तथा पिछडिएका वर्ग, लिङ्ग र क्षेत्रलाई आर्थिक लाभमा रूपान्तरण गर्नेलगायतका विषय समेटिएको छ । यस्तै युवालाई आफ्नै ठाउँमा स्वरोजगार बन्ने, उद्यमशीलमार्फत गरिबी न्युनीकरण गर्ने दिशामा इच्छाकामना गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको अध्यक्ष गुरूङले बताए ।

    सबै वडाको सडक स्तरोन्नति, ग्रामीण क्षेत्रमा भरपर्दो बिजुली बत्तीको व्यवस्था, अव्यवस्थित बसोबास र भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने, फोहोरमैला व्यवस्थापनलाई आयसँग जोड्नेलगायतका विषयले पनि प्राथमिकता पाएको छ । पालिकाका अध्यक्ष गुरूङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, उपाध्यक्ष सिलवालद्वारा प्रस्तुत वार्षिक बजेटसँगै गाउँपालिकाको वार्षिक कार्यक्रमलाई गाउँसभाले सर्वसम्मतरूपमा पारित गरेको गाउँपालिकाले जनाएको छ ।