१० घण्टा पहिले
जेष्ठ २, २०८१
गोरखाको केवर पानीमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरमा १ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । रुइट फाउण्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा केवर पानी टोल विकास संस्था मनकामनाले आयोजना गरेको आँखा शिविरमा १ सय २२ जना सर्वसाधारण लाभान्वित भएका हुन् । जसमध्ये २ जनालाइ मोतिया विन्दु देखिएको थियो ।
आँखा जस्तो संबेदनशिल अङ्गको बेलाबेला चेकजाच गर्नुपर्ने तर आँखा अस्पताल नजिकै नभएको र गाउँघरमा धेरैजना आँखा सम्बन्धि समस्या भएको कारण स्वास्थ्य शिविरको आयोजना गरेको केवर पानी टोल विकास संस्थाका अध्यक्ष चन्द्र गुरुङ्गले बताए । शिविरमा बेतेनी, सिलिङ्ग, लामाछाप तथा मनकामनाबाट चेक जाचको लागि आएको उहाँले बताउनुभयो ।
मोतिया बिन्दु भएका बिरामीको भरतपुर आँखा अस्पतालले निःशुल्क रूपमा शल्यक्रिया गरिदिने छ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई भरतपुरसम्म जान र आउन गाडी भाडा समेत उपलब्ध गराइने छ भने बिरामीलाई औषधि र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको केवर पानी टोल विकास संस्थाका अध्यक्ष अध्यक्ष चन्द्र गुरुङ्गले बताए ।
गाउँमा पहिलो पटक आँखा शिविर सञ्चालन भएपछि आँखा चेक गराउँन पाउदा स्थानीयहरु खुसी भएका थिए । टोल विकासले यस अघि पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि शिविर सञ्चालन गरिसकेको छ भने आउने दिनहरुमा अन्य रोग सम्बन्धि चेक जाच गराउन सिविरहरु सञ्चालन गरिने अध्यक्ष गुरुङ्गले बताए ।