

१ कार्तिक २०८१, शुक्रबार
कार्तिक -२, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवालको प्रमुख आतिथ्य, गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्य तथा संस्थाका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सहकारीको २४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री कृष्णप्रसाद सिलवालले सहकारी वित्तीय संस्था नभएकोले संस्थालाई फाइदा हुने कारोबार मात्रै नगरेर हरेक सदस्यको जीवनस्तर परिवर्तन हुने खालको कार्यक्रम गर्नुपर्ने र सहकारीमा गरिब जनताको जीवनभरका पूँजीहरू जम्मा हुने भएकोले कसैले पनि जनताको सम्पत्ति ठग्न नहुने बताउनु भयो।
मन्त्री सिलवालले मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था ले जनसमुदायमा पु–याएको योगदान र प्रगतीको प्रशंसा गर्दै आगामी दिनमा इच्छाकामना जनताको जीवन परिवर्तन हुने कार्यक्रमहरू ल्याउन सुझाव दिनुभयो।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले इच्छाकामना गाउँपालिकाको ३१ वटा सहकारीहरूमध्ये अग्रणी सहकारी मर्स्याङ्दी सहकारीले गाउँपालिकाको समृद्धिका लागि अन्य सहकारी संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाको अध्यक्ष किशोर गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव ज्ञानु पाण्डेले आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी संस्थाका कोषाध्यक्ष राधा कँडेलले आर्थिक बर्ष ८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको सेयर पुँजी ३ करोड ८७ लाख ७४ हजार रहेको छ । संस्थाका एक हजार ९ सय २७ जना सदस्य आवद्ध भएका छन् । यस अवधिमा संस्थाको जगेडा कोषमा ५ करोड ८५ लाख १५ हजार ४ सय ५७ रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
त्यस्तै संस्थाले २८ करोड ८२ लाख २८ हजार ३ सय ५९ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति ३५ करोड ९७ लाख ४५ हजार ४१ रहेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका ब्यबस्थापक कुमार श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा संस्थामा आबद्ध उत्कृष्ट महिला समुह, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।