× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेवा समुदायमा मोहनी नख: अर्थात् दशैँ तिथिको विवाद- फ्रेन्की फ्रेन्ज

    २ वर्ष पहिले

    असोज-२४, यस वर्ष मोहनी नख:को तिथिमिती थपघट भएर चतुर्थी दुई दिन परेको छ भने त्यस्तै, महाअष्टमी र महानवमी तिथि एकैदिन परेको छ। प्राय: अरु समुदायमा विजयादशमीलाई मुख्य दिनको रुपमा मानी आएता पनि नेवा: समुदायमा भने विशेष गरि अष्टमी, नवमी र दशमी – यो तीन दिनलाई अति नै महत्वपूर्ण मानिन्छ। यस तीन वटै दिनमा भिन्न भिन्न कार्य तथा पूजा गर्ने गरिन्छ। अष्टमीको दिन कुछिभ्वय्, नवमीको दि स्याकोत्याको र दशमीको दिन चालं गरि मोहनी नख: मनाउने चलन रहेको छ। यस कारण यो वर्ष अष्टमी पर नवमी भइ दुबै तिथि एकैदिन पर्न जाँदा समुदायभित्र अन्योलता तथा विवाद खडा भएको देखिन्छ।

    नेवा: समाज,एउटै वर्ग, एउटै धर्म, एउटै परम्परा र एउटै रीतिरिवाज बोकेको समुदाय होइन! यो आफैंमा एउटा राष्ट्र हो। विभिन्न कालखण्डमा विभिन्न स्थानबाट नेपाल उपत्यकामा आई यहाँको संस्कृती, रीत परम्परा अनि भाषालाई सहर्ष स्वीकार गरेर आफ्नो पुर्खाको धर्म अनि संस्कृतिलाई निरन्तरता दिई यहाँको संस्कारलाई आत्मसात गरि घुलन भएको एउटा ठूलो समुदाय हो। नेवा: समुदायमा भाषा साझा भएपनी यस भित्र रहेका विभिन्न जात-जाती र समुदायको आ-आफ्नै संस्कृती अनि परम्परा छ — यसै अनुरुप सबैको पर्व मनाउने र मान्ने तरिका अनि चलन फरक छ। यहि विविधता भित्रको साझापन नै वास्तवमा नेवा: हो।

    यसै सन्दर्भमा नेवा: समुदायमा पर्व दुई किसिमले मनाइन्छ – प्रभातकालिन पर्व र सन्ध्याकालिन पर्व ! बिहानी पख पूजा विधि गरेर मनाउन पर्वलाई प्रभातकालिन पर्व भनिन्छ – जस्तै: सापारु, गुंपुन्ही, आदि। त्यस्तै साँझ वा राती पूजाबिधी गरेर मनाउने पर्वलाई सन्ध्याकालिन पर्व भनिन्छ – जस्तै : लक्ष्मीपूजा, पहाँचह्रेको लुकुमाद्य: पूजा, चथा पूजा आदि।

    नेवा: समुदायलाई पर्व मनाउने कुरामा पनि दुई भागमा विभाजन गर्न सकिन्छ –

    १. तिथि गणना र पर्व अनुसार मनाउने नेवा:

    २. सूर्योदयको समयमा जुन तिथि लागेको छ, अर्को सूर्योदय नभएसम्मको लागि सोही तिथि मान्ने नेवा:

    विशेष गरि बज्राचार्य, शाक्य, बुद्धाचार्य, ब्रम्हाचार्य, कर्माचार्य राजोपाध्याय, शर्मा, झा, जोशी, ताम्राकार, तुलाधर आदि जस्तो समुदायमा तिथि गणना अनुसार पर्वहरु मान्ने र मनाउने गरिन्छ। पर्व कस्तो खालको हो, त्यही अनुसार सो पर्वको लागि तिथि कहिले परेको छ भनी गणना गरि तिथि गणना अनुसार मनाइन्छ।

    त्यस्तै ज्यापू समुदाय, खड्गी समुदाय तथा अन्य नेवा: वर्गहरुमा भने सूर्योदयको तिथिलाई मान्ने गरेको पाइन्छ। सबैमा यो लागू नभएपनी यो हिसाबले पर्व मान्नेको बाहुल्यता रहेको पाइन्छ। पर्वको प्रकार जे भएता पनि बिहान सूर्योदय हुँदा जुन तिथि देखिन्छ, त्यसैलाई आधार मानी अर्को दिनको सूर्योदय नभएसम्मको लागि सोही तिथिलाई मान्यता दिएर पर्वहरु मान्ने गरिन्छ।

    यसपालीको असोज २४ गते फुलपाती भएता पनि बिहान ७:२७ बाट अष्टमी तिथि लाग्ने छ। त्यस्तै असोज २५ गते अष्टमी भएता पनि बिहान ६:५२ बाट नवमी तिथि लाग्ने छ। अनि असोज २६ गते बिहान करिब ९ बजे बाट दशमीको तिथि रहेको छ।

    अब तिथि गणना अनुसार पूजा कार्य सम्पादन गर्नेहरुले यहि तिथि लागेको अनुसार नै पूजा गर्ने भयो। तसर्थ असोज २४ गते अष्टमी पूजा, २५ गते नवमी पूजा र २६ गते चालं गर्ने भयो।

    त्यस्तै सूर्योदयको तिथीलाई मान्यता दिनेहरुको लागि असोज २४ गते त सूर्योदयको समयमा सप्तमी अर्थात् फुलपाती छ , तसर्थ अर्को दिनको सूर्योदय नभएसम्मको लागि सप्तमी नै मान्यता दिइने भयो। त्यस्तै असोज २५ गते सूर्योदय हुँदा अष्टमी, २६ गते सूर्योदय हुँदा नवमी र २७ गते सूर्योदय हुँदा दशमी छ। यसकारण सूर्योदय हुँदा जे छ सो दिनको लागि त्यही तिथि मान्य गरेर पूजा गर्नेको लागि असोज २५, २६ र २७ तीन दिन मोहनी नख: हुने भयो।

    तिथिमिती अहिले मात्र घटबढ हुँदै आएको चीज होइन। परम्परादेखि नै चाडपर्व अन्योल हुँदा काठमाडौंमा स्वयम्भू र जनबहाल, पाटनमा हिरण्यवर्ण महाविहार र भक्तपुरमा तलेजुबाट आफ्नो आफ्नो क्षेत्रको लागि निर्णय दिइँदै आएको छ जुन अहिले पनि कायम नै छ।

    आफ्नो कूल परम्परा र मान्यता अनुसार नेवा:हरुले मनाउँदै आइरहेको पर्वहरुमा तिथिमा गडबडी तथा तलमाथी हुँदा नेवा:मा एकरुपता भएन भनेर नारा लगाउनु कत्तिको सहि होला ? बरु, सकिन्छ भने राम्रोसँग समन्वय गरि एकै दिनमा सबैले मान्न मिल्ने गरि छुट्टै पात्रो निकाल्न सके सुनमा सुगन्ध हुने थियो।

    तपाईंहरु पनि अन्योलमा हुनुहुन्छ भने आफ्नो कूल परम्परामा के चल्दै आएको छ, आफ्नो बाबुबाजेदेखी के गरिँदै आएको छ त्यही अनुसार गर्नुस्। परिवारजनमा अन्योलता भएमा आफ्नो कुल गुरुज्यूहरुलाई सोध्नुस्, आ-आफ्नो क्षेत्रको प्रमुख मन्दिरमा बुझ्नुस् र त्यही अनुरुप मोहनी नख: मनाउनुहोस्। तिथि मिति तलमाथी भयो भनेर कराउनु भन्दा पनि यसको कारण के हो, किन भएको हो भन्ने कुरा बुझ्न खोज्नुस्, सिक्नुस् र सिकाउनुस्। यहि नै हामीले जान्ने-बुझ्ने मौका हो।

    मेरो कुल परम्परा सूर्योदयको तिथिलाई मान्यता दिने र सधैं यहि गर्दै आइरहेको हुनाले हामीले यस वर्षपनी यसैलाई निरन्तरता दिँदै

    असोज २५ – महाअष्टमी — कुछिभ्वय्

    असोज २६ गते – महानवमी — स्याकोत्याको

    असोज २७ गते – दशमी — चालं ~~~~~~~ गर्दैछौं। सबैले आफ्नो कुल परम्परा अनुसार भव्यताका साथ मोहनी नख: मनाऔं !!

    सबैलाई मोहनी नख:को मंगलमय शुभकामना