२ दिन पहिले
असोज-२३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका बेला सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी गर्दैछ ।
जेनजी आन्दोलनको जगमा सक्रिय युवा अभियन्ताहरू संस्थागत रूपमा प्रत्यक्ष राजनीतिमा होमिने तयारी गरिरहेका बेला राजनीतिक वृत्तमा रास्वपा सभापतिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई भित्र्याउन लागिएको हल्ला चलेको छ ।
यसले प्रश्न जन्माएको छ, रवि बिनाको रास्वपा सम्भव छ ? गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको जीत सम्भव भएको देखेर हौसिएका सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी टेलिभिजन छाडेर रास्वपा खोलेका थिए । सञ्चारकर्ममा रहँदा उनले गरेका कामको लोकप्रियतामा रास्वपा जन्मिएको थियो । तर उनले छाडेको ग्यालेक्सी टेलिभिजनकै आर्थिक कारोबारका कारण उनी पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
आसन्न चुनावको मिति नजिकिँदै गर्दा सभापति रविलाई हटाएर कुलमानलाई सभापति बनाउने र काठमाण्डु महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ पनि रास्वपामै सक्रिय हुने हल्ला चलेको छ । तर रविको सचिवालय निकट स्रोतले यसबारे कुनै प्रारम्भिक छलफल समेत नभएको दाबी गरेको छ ।
‘रास्वपा सभापतिकै लोकप्रियतामा स्थापना भएको पार्टी हो, उहाँलाई सभापतिबाट हटाउने भन्ने कुरै छैन,’ स्रोतले भन्यो, ‘विचार र भावना मिल्नेहरूसँग एकता गर्ने भन्ने हो तर सभापति नै हटाउने कुरा भएको छैन ।’ अनुमानका भरमा कुलमानलाई रास्वपा सभापति बनाउने हल्ला फैलाइएको उनले बताए ।
सामाजिक सञ्जालका टिप्पणीहरू हेर्दा रवि र बालेनका समर्थकहरू एकअर्काको आलोचना गर्ने र खुइल्याउने अभियानमा लागेका छन् । एकअर्काको आलोचना र विरोधलाई रोक्न पनि यस्तो हल्ला फैलाइएको हुनसक्ने स्रोतको दाबी छ । मेयर बालेन निकट भएका कारण यसअघि पूर्वसांसद सुमन श्रेष्ठले रास्वपा परित्याग गरिसकेकी छन् ।
स्रोतका अनुसार मेयर बालेनले जेनजी अभियन्ताहरू रक्षा बम, केपी खनाल, धिरज जोशी लगायतको अगुवाइमा छुट्टै पार्टी स्थापनाको अभ्यास गरिरहेका छन् । तर मेयर बालेन अन्य पुराना पार्टीका युवा नेताहरूको सम्पर्कमा समेत रहेको बताइन्छ । बालेनले सम्भव भएसम्म पुराना पार्टीका युवा नेताहरूलाई समेत नयाँ पार्टीमा समेट्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ ।