× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    १८ घण्टा पहिले

    असोज -१६, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताएको छ । यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ ।

    दसैँको भिडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यक नभई सकेसम्म घरभन्दा टाढा र विशेष गरी राति यात्रा नगर्न आग्रह गरेको छ । सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन सक्ने र सो निर्णय पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

    त्यस्तै, पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र डुबान हुने सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ ।

    प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको छ । जोखिमयुक्त सडक र राजमार्गमा तुरुन्त परिचालन गर्न डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।