× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिका स्थानीय तहको मूल्याङ्कनमा जिल्लैमा पहिलो हुन सफल

    २ घण्टा पहिले

    फागुन-१, चितवनका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा इच्छाकामना गाउँपालिका जिल्ला प्रथम भएको छ । चितवनकै राप्ती नगरपालिका ‘फेल’ भएको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकमा अङ्कसहित स्थानीय तहको मूल्याङ्कन गरेको हो । आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार इच्छाकामनाले यसवर्ष ७४.३३ अङ्क ल्याई चितवनका अन्य छ पालिकालाई उछिनेको छ । अघिल्लो वर्ष इच्छाकामनाले ७२ अङ्क ल्याएको थियो ।

    कुल एक सय अङ्क भारमा भरतपुर महानगरपालिकाले ६८.४ अङ्क ल्याएर यसवर्ष जिल्ला दोस्रो भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटकको भरतपुरको नम्बर आठ अङ्कले कमी छ ।

    अघिल्लो वर्ष भरतपुरले ७६.२ अङ्क ल्याएको थियो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महानगरभित्र भरतपुर तेस्रो भएको थियो । त्यतिबेला भरतपुरले ८६.५० अङ्क ल्याएको थियो । मूल्यांकनमा भरतपुरको आरालो यात्रा छ ।

    माडी नगरपालिका यसवर्ष ६७.१३ अङ्क ल्याई जिल्ला तेस्रो हुन सफल भएको छ । अघिल्लो वर्ष माडीले ६९.१ अङ्क ल्याएको थियो । वित्त आयोगको नतिजाअनुसार यसपटक जिल्लामा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाले मात्र अङ्क बढाएका छन् ।

    खैरहनी नगरपालिकाले यसवर्ष ६५.१० अङ्क ल्याएको छ । अघिल्लो वर्ष खैरहनीले ६६.८ अङ्क ल्याएको थियो । अघिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्याङ्कनमा खैरहनी नगरपालिका देशभरमै दोस्रो भएको थियो ।

    संघीय मामिलाको मूल्याङ्कनमा पटकपटक उत्कृष्ट भइरहेको खैरहनी नगरपालिका वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा ओरालो लागेको छ ।कालिका नगरपालिकाले ६४.५२ अङ्क ल्याएको छ ।

    कालिकाको अघिल्लो वर्ष ६४.३ अङ्क थियो ।रत्ननगर नगरपालिकाको अङ्क पनि अघिल्लो वर्षको तुलनामा कम आएको छ । यसपटक रत्ननगरले ६३.२३ अङ्क ल्याएको छ ।

    अघिल्लोपटक रत्ननगरले ७०.१ अङ्क ल्याएको थियो । अघिल्लो वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्याङ्कनमा रत्ननगर देशभरका नगरपालिकाभित्र सातौँ भएको थियो ।चितवनको राप्ती नगरपालिका वित्त आयोगको मूल्याङ्कनमा ‘फेल’ भएको छ ।

    राप्ती नगरपालिकाले जम्मा ३६.२० अङ्क ल्याएको छ । अघिल्लो वर्ष राप्तीको ४३.३ अङ्क आएको थियो । देशभरमा सबैभन्दा कम अङ्क ल्याउने पालिकाभित्र राप्ती नगरपालिकाको नाम छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कुल १७ सूचकको मूल्याङ्कनमा असार १० गतेभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको विषय छ ।

    राप्ती नगरपालिकाले गत असार १० भित्र बजेट ल्याउन सकेको थिएन । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेकोसमेत मूल्याङ्कन गरिएको थियो

    ।आयोगका सूचना अधिकारी तथा उपसचिव विश्वरुप दाहालका अनुसार पालिकाको राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरूजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्नादर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपातको विषयमा पनि मूल्याङ्कन गरिएको थियो ।

    आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको विषयमा पनि मूल्याङ्कन गरिएको थियो ।

    माडी, रत्ननगर, खैरहनी नगरपालिकाले चारपटक गर्भ जाँच गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुनेको महिलाको अनुपात, पूर्णखोप पाएका बालबालिकाको अनुपातका कागजात नै बुझाएनन्, जसका कारण यी विषयमा शून्य अङ्क पाए ।

    भरतपुरले पनि पूर्णखोप बालबालिकाको अनुपातको कागजात पेस गर्न सकेन, यसमा भरतपुरको शून्य अङ्क छ ।राप्ती नगरपालिकाको १७ सूचकमध्ये सातवटा सूचकमा शून्य अङ्क छ । कालिकाको पाँचवटा सूचकमा शून्य छ, इच्छाकामना चार सूचकमा शून्य छ, भरतपुर तीन सूचकमा शून्य छ । रत्ननगर र खैरहनीको छवटा सूचकमा शून्य अङ्क छ ।