१६ घण्टा पहिले
असोज-१९, सरकारले शनिबार वर्षा प्रभावित ५ प्रदेशमा लामो दुरीका सवारीसाधन संचालनमा रोक लगाएको थियो। जसकारण कयौं गाडी र हजारौं मानिस बीच सडकमै बस्न बाध्य भएका थिए।
आज मोसमका क्रमिक सुधार आएको छ। तर, सरकारले हिजोदेखि लगाएको रोक हटाएको छैन। अहिले पनि पूर्वी भेगमा वर्षा भइरहेको छ। कयौं राजमार्गमा पहिरो गएको छ भने केही सडक बाढीले बगाएको छ। जसकारण तत्काल सडक खुलाउने अवस्था छैन।
त्यसैले सडकको अवस्था हेरेर सवारीसाधन छाड्ने तयारी भइरहेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी नायव महानिरिक्षक विनोद घिमिरेले जानकारी दिए। अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ।
सरकारले काठमाडौं आउजाउ हुने सवारीमा पनि ३ दिनसम्म रोक लगाएको थियो। अहिले अवस्था सामान्य रहेकाले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई आवतजावत गर्ने बाटोको अवस्था हेरेर संचालन गर्न दिने तयारी भइरहेको उनले बताए।
‘हामीले अहिले सडकको अवस्था बारे जानकारी लिइरहेका छौं। सडक मर्मत गर्न पनि स्ट्यान्डबाई डोजर र स्काभेटरहरु फिल्डमा छन्। पहिरोहरु पन्छाउने काम भइरहेको जानकारी आएको छ,’ उनले भने, ‘रोड क्लियर भएपछि मात्रै जोखिम हेरेर सवारीसाधन संचालन गर्ने तयारी छ।’
यस्तै सडक विभागले पनि अहिले प्राय राजमार्गहरुमा एकतर्फी रुपमा भए पनि सडक संचालन गर्न सकिने जनाएको छ। त्यसका लागि विभागले सडकहरु पन्छाएर संचालन गर्न सक्ने स्थानमा काम सुरु गरिसकेको छ।