६ घण्टा पहिले
असार-२८, गत वर्ष चितवनको सिमलताल पहिरोले दुई बस बगाएर ज्यान गुमाएका तथा हराइरहेका सवार यात्रुको सम्झनामा हाइवे समाचार डट कम तथा मुग्लिन फेसबुक पेजको तर्फबाट स्मृति सभा गरिएको छ।
हाईवे समाचार डटकम तथा मुग्लिन फेसबुक पेजको आयोजना, इच्छाकामना उद्योग वाणिज्य सङ्घ, सामुदायिक प्रहरी कार्यालय मुग्लिन, कर्तव्यनिष्ठ महिला समाज तथा हाइवे जनता केयर हस्पिटल मुग्लिन को सहयोगमा सम्पन्न स्मृति सभा हाइवे समाचार डमकमका अध्यक्ष राजेन्द्र लामाको अध्यक्षता, इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
सामुदायिक प्रहरी कार्यालयका सचिव विष्णु कुँवरले सञ्चालन गरेको स्मृति सभामा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक खिलराज ढकाल , कर्तव्यनिष्ठ महिला समाज पूर्व अध्यक्ष सिर्जना देवकोटा, उपाध्यक्ष निर्मला श्रेष्ठ, जनता केयर हस्पिटलका प्रतिनिधि, प्रहरी, समाजसेवी तथा स्थानीय ब्यक्तिहरु उपस्थित रहेका थिए।
ठूलो मानवीय क्षति हुने गरी भएको सिमलताल दुर्घटनाको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटनाको छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदन अनुसार सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायहरूले ध्यान दिनु पर्ने बताएका थिए।
स्मृति सभा पश्चात दुर्घटना न्यूनीकरणको लागि सवारी चालकहरूको स्वास्थ्य अवस्था चेक जाँच गर्नुका साथै सवारी चालकलाई दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीहरूद्वारा प्रशिक्षण पनि दिएका थिए।
गत वर्षको असार २८ गते शुक्रबार बिहानपख साढे ३ बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलोमिटर पूर्वोत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीन जना यात्रुले आफै पौडिएर ज्यान जोगाएका थिए । दुवै बसमा गरेर ६२ जना रहेका थिए । तीन जनाबाहेक अन्य यात्रु र दुई वटा बस त्रिशूलीमा बेपत्ता भए । खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २४ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको थियो ।परिवारले सनाखत गरेका ती १९ शवमध्ये तीन महिला र १६ पुरुष छन् । एउटा बसमा सात र अर्कोमा दुई गरेर नौ जना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये पाँच जना भारतीयको शव फेला परेको छ । सकुशल रहेका तीन र शव भेटिएर सनाखत भएका १९ जनाबाहेक बाँकी ४० यात्रुको अवस्था अज्ञात छ ।बस खोज्न भारतीय प्राविधिक टोली पनि गत वर्ष साउन ६ गतेदेखि एक सातासम्म त्रिशूली र नारायणी नदीमा खटेको थियो ।
भारतीय टोलीले पनि बस र अन्य शव भेटाउन सकेन । त्रिशूली नदीको उर्लँदो भेल र उच्च बहावले खोजी कार्यमा बाधा दिएको भारतीय प्राविधिकहरूले बताएका थिए । भारतीय फर्के पनि घटना भएको एक महिनासम्म सशस्त्र प्रहरीले खोजी कार्य जारी नै राखेको थियो ।