७ घण्टा पहिले
कुरिनटार- निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन), इच्छाकामना प्याब्सनद्वारा एसइई २०८१ मा उत्कृष्ट जिपिए ल्याउने तथा उत्तीर्ण हुने ४५ विद्यार्थीलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको छ ।
इच्छाकामना प्याब्सनका फोकल पर्सन तथा प्रगति पाठशालाका प्राचार्य टंक प्रसाद त्रिपाठीको अध्यक्षता तथा इच्छाकामना गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका क्षेत्रमा संस्थामा आबद्ध विद्यालयहरुबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नजिता ल्याउने तथा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा इच्छाकामना अभिभावक संघका अध्यक्ष वासु सिलवाल, समाजसेवी विष्णु कुँवर, विभिन्न विद्यालयका प्राचार्य, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
इच्छाकामना गाउँपालिकाबाट यसपटक छात्र तर्फ उत्कृष्ट हुने प्रगति पाठशालाका ३.८६ जिपिएस सहित रायन श्रेष्ठ र छात्रातर्फ ग्रीनफिल्डका ३.७२ जिपिएस सहित खुसी सिलवाललाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
यस पटक संस्थागत विद्यालयबाट परीक्षा दिने ४६ मध्ये उत्तीर्ण हुने ४५ विद्यार्थीलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको कार्यक्रममा विषयगत शिक्षक, शिक्षिकालाई समेत खाँदा लगाएर सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुद्र प्रसाद उप्रेतीले संस्थागत तथा सामुदायिक विधालयलाई पालिकाले कुनै भेदभाव नगरेको र आर्थिक अवस्था कमजोर भएका संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो।
प्रगति पाठशालाका सह प्रचार्य ईश्वर विलास अधिकारीले सञ्चालन गरेको कार्यक्रममा मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलका प्राचार्य दीपक श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो। त्यसैगरी शिक्षकहरुको तर्फबाट सुदर्शन कट्टेल, अभिभावको तर्फबाट विष्णु कुँवर, संस्थागत विद्यालय अभिभावक संघ इच्छाकामनाका अध्यक्ष वासुदेव सिलवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।