× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन आँबुखैरेनी जोड्ने नयाँ ४ लेनको सडक निर्माण हुने, भुवनटारवाट मर्स्याङ्दी नदीमा पुल निर्माण गर्ने

    २ दिन पहिले

    मुग्लिन-पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन आँबुखैरेनी सडक खण्डको पुननिर्माण गर्न मर्स्याङ्दी जलविद्युत् केन्द्र भन्दा केही माथिबाट करिब ७ किलोमिटर सडक घुमाएर मुग्लिन आँबुखैरेनी जोडिने भएको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरातर्फ जाँदा बाटोमा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको सुरक्षाका लागि त्यहाँ सडकको डिजाइन र स्थान परिवर्तन गर्नुपरेको हो ।

    भुवनटारवाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फको गोर्खाको पहाडमा राजमार्ग निर्माण हुने छ । पुल पार गरेर फेरि सडक मुग्लिन बजारमा जोडिने छ ।

    सडक आयोजनाका निर्देशक चुडाराज ढकालका अनुसार मुग्लिनदेखि ४ किलोमिटर उत्तर (पोखरा जाने सडकमा पर्ने)मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको सुरक्षाका लागि राजमार्गको करिब ७ किलोमिटर क्षेत्र पल्लो डाँडाबाट नयाँ सडक निर्माणको काम सुरु हुने भएको छ । जल विद्युत्‌को सुरक्षाका लागि त्यहाँ राजमार्ग घुमाउनु परेको हो ।

    जलविद्युत् केन्द्र छल्न त्यहाँ वाटो परिवर्तन गर्न परेको ढकालले जानकारी दिए । अहिले चालु बाटोभन्दा पूर्वतर्फको डाँडैडाँडा नयाँ सडक निर्माणको काम सुरु हुने भएको हो । जलविद्युत् केन्द्र भन्दा ४/५ सय मिटर उत्तर (आँबुखैरेनी तर्फबाट) मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पल्लो डाँडामा ४ लेनको (दुई/दुई लेनको) सडक निर्माण हुने छ ।

    ‘त्यो सडक मुग्लिनमा आएर जोडिन्छ’, ढकालले भने, ‘दुबै स्थानमा आर्क डिजाइनका २ वटा नयाँ पुल निर्माण गरिने छ ।’ ४ अर्ब लागतमा करिब ७ किलोमिटर राजमार्ग र २ वटा पुल निर्माण हुने छ । मुग्लिनमा हाल रहेको पक्की पुल भन्दा केही उत्तर पूर्वबाट मुग्लिन बजारमा त्यो सडक सञ्जाल जोडिने छ ।

    जलविद्युत् केन्द्र हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएका कारण त्यहाँ करिब ७ किलोमिटर सडक पूर्वतर्फको डाँडाबाट लैजान परेको हो । जलविद्युत् केन्द्रको क्षेत्रमा सडक विस्तार गर्दा विद्युत् गृहलाई असर पर्न सक्ने जोखिम भएकाले त्यो क्षेत्रमा सडक घुमाएर मुग्लिन लैजान परेको ढकालले बताए । मुग्लिन पोखरा सडक ९० किलोमिटर लामो छ ।