

६ जेष्ठ २०८२, मंगलवार
जेठ-६, काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे खण्ड जेठ १० गतेदेखि आंशिक रुपमा बन्द हुने भएको छ।
नागढुंगा– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले मंगलबार सूचना प्रकाशित गरी सडक बन्द हुनेबारे जानकारी दिएको हो।
नागढुंगा–नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा जेठ १० गतेदेखि २५ सम्म बिहान १०ः३० बजेदेखि दिनको ३ बजेसम्म सवारीसाधनहरू रोकी निर्माण कार्य गरिने सूचनामा उल्लेख छ।
उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन्।
साथै साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्नसमेत आग्रह गरिएको छ।
साथै दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने सडक योजनाले जनाएको छ।
