

६ मंसिर २०८१, शुक्रबार
मंसिर-७, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) इच्छाकामना कमिटीद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिन विजयी भएको छ।

चितवन जिल्लाको पालिका स्तरीय लोक नृत्य प्रतियोगिताको छनोटको लागि मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनको प्राङ्गणमा भएको भब्य कार्यक्रममा मर्स्याङ्दी शिक्षा सदन स्कुल विजयी भएको हो। प्रतियोगितामा इच्छाकामनाका चार निजी विद्यालयहरू सहभागी रहेका थिए।

इच्छाकामना प्याब्सनका सदस्य एवं कुरिनटार बोर्डिङ स्कुलका प्रधानाध्यापक नारायण थापाको सभापतित्व तथा मर्स्याङ्दी शिक्षा सदन स्कुलका अध्यक्ष किशोर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विशिष्ट अतिथिको रूपमा इच्छाकामना होटल व्यवसायी सङ्घका अध्यक्ष मिनबहादुर श्रेष्ठ, मर्स्याङ्दी शिक्षा सदन स्कुलका सदस्य एवं समाजसेवी विष्णु कुँवर, विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेकाे थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय डान्सर केन्द्रीय समितिका सदस्य देव आले मगर, राष्ट्रिय लोकदोहोरी गायक पृथ्वी गुरुङ तथा इच्छाकामना त्रिवेणी कला केन्द्रका अध्यक्ष काजीमान थापा रहेका थिए।

मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनका प्रधानाध्यापक तथा कार्यक्रम संयोजक दिपक श्रेष्ठको स्वागत मन्तव्य तथा सोही विद्यालयका शिक्षक सनम पन्तले सञ्चालन गरेको कार्यक्रममा प्रगति पाठशाला दोस्रो तथा कुरिनटार बोर्डिङ स्कूल तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।

विजयी मर्स्याङ्दी शिक्षा सदन स्कुलले मङ्सिर १४ गते चितवनको भरतपुरमा हुने अन्तर पालिका स्तरीय लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउने छन्।
