× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २ महिना पहिले

    चितवन। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा “सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” चितवनको सौराहामा सम्पन्न भएको छ।

    कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको समन्वयमा आयोजित यो कार्यक्रम सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो।

    कार्यक्रमको अध्यक्षता सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा सहकारी विभागका शाखा अधिकृत हरि पौडेलले प्रशिक्षण दिनुभएको थियो। अतिथिका रुपमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला र कोअपरेटिभ म्यानेजर्स क्लब चितवनका अध्यक्ष मेघनाथ लामिछाने उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रमको उद्घाटन गर्दै रजिष्ट्रार पिताम्बर घिमिरेले भन्नुभयो, “सहकारी संघ संस्थाहरुले आफ्नो वित्तीय जोखिमलाई न्यूनिकरण गर्नका लागि प्रभावकारी रणनीति अपनाउनु जरुरी छ। यो कार्यक्रमले सहकारीलाई वित्तीय सुरक्षा र स्थायित्व प्राप्त गर्न महत्वपूर्ण योगदान दिनेछ।”

    प्रमुख प्रशिक्षक हरि पौडेलले प्रशिक्षणका क्रममा वित्तीय जोखिम व्यवस्थापनका विविध पक्ष तथा सूचकहरुका बारेमा जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सहकारी संस्थाहरुले आफ्नो वित्तीय जोखिम व्यवस्थापनमा आधुनिक सूचक, उपकरण र प्रविधिको प्रयोग गर्न आवश्यक छ, जसले गर्दा जोखिमलाई पहिचान र न्यूनीकरण गर्न सकियोस्।”चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइरालाले आफ्नो मन्तव्यमा सहकारीको जोखिम व्यवस्थापनमा पारदर्शिता र इमान्दारीता महत्त्वपूर्ण रहेको बताउनुभयो। “

    सहकारी संस्थाहरुले आफ्नो सदस्यहरुलाई विश्वासमा लिएर काम गर्नुपर्दछ। सदस्यहरुको सहभागिता र समर्पणले मात्र सहकारीको वित्तीय जोखिम न्यूनीकरण सम्भव छ,” उहाँले बताउनु भयो ।

    कोअपरेटिभ म्यानेजर्स क्लब चितवनका अध्यक्ष मेघनाथ लामिछानेले सहकारी संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको बताउनुभयो।

    “सहकारी संघ संस्थाहरुले एक आपसमा सहयोग र अनुभव साटासाट गरी वित्तीय जोखिमलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ,” उहाँले जोड दिनुभयो।

    विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले कार्यक्रमको महत्व र सहकारी संघ संस्थाहरुमा वित्तीय जोखिम व्यवस्थापनको आवश्यकता प्रष्ट पार्नुभयो।

    “सहकारी संस्थाहरुले दीर्घकालीन सफलता हासिल गर्न वित्तीय जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्दछ। यसका लागि निरन्तर शिक्षा, प्रशिक्षण र सुधारको आवश्यकता छ,” उहाँले बताउनुभयो।

    कार्यक्रममा सहभागीहरुले वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी बिभिन्न विषयमा छलफल गरेका थिए। यो कार्यक्रमले सहकारी संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा चितवन र नवलपुरका ४३ सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।