× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फागुन १३ देखि नारायणगढ–मुग्लिन सडक बन्द नहुने

    ८ महिना पहिले

    फाल्गुन-१०, दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ।

    तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो।

    फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान छ। अबको काम निकै कडा भएकाले समय लाग्ने देखिएको छ। बाँकी दुई मिटर सडक नरोकेरै भत्काउन मिल्ने छ। पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

    निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको थापाले बताए। ढिस्को होचो मात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उनको भनाइ छ। त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो। बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो।

    गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो। सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो।

    विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो। पुलको लागत रु एक अर्ब २८ करोड छ। अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।

    सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।