

२ वर्ष पहिले
मंसिर-२६, फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईः विरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।
फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको विरोध गर्न नहुने भन्दै स्थानीयहरुले अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका हुन् ।
अभियन्ता ईः महानगरपालिका अगाडि उभिएर विरोधमा उत्रिएका थिए । तर, स्थानीयले सडकमा व्यापार गर्न नपाइने भन्दै अभियन्ता ईः को विरोध गरेका थिए ।
स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईः लाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाकाबीच सुरक्षाकर्मीले अभियन्ता ईः लाई त्यहाँबाट निकालेको थियो ।
महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल-मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर, अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गरेका थिए ।
यसअघि पनि काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाएका थिए । त्यसपछि काठमाडौं महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो ।