× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज दशैँको फूलपाती, देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

    २ वर्ष पहिले

    कार्तिक४, प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता पर्देन ।

    हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहदै आएको छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

    आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ ।

    नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ ।

    आश्विन शुक्ल पक्षमा शक्तिपीठमा गई पूजा आराधना एवम् साधना गरेमा देवी प्रसन्न भई मनोकामना पूर्ण गर्नका लागि भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ । काठमाडौँ उपत्यकाका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराही, दक्षिणकाली, श्वेतबाराही, धूम्रबाराही, चामुण्डा, सुन्दरीमाई लगायत शक्तिपीठमा पूजाआजा एवम् बलिसहित विशेष पूजा गर्ने भक्तजनको पनि भिड लागेको छ ।

    यसैगरी काठमाडौँ उपत्यका बाहिर गोरखाको मनकामना, नुवाकोटका जालपादेवी र भैरवी, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभे्रपलाञ्चोकका नाला भगवती, पलाञ्चोक भगवती र चण्डेश्वरी, सिन्धुपाल्चोकका पाल्चोक भगवती र लिस्तीमाई, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा देवीस्थानलगायत शक्तिपीठमा पनि पूजाआजा गर्ने भक्तजनको भिड लागेको छ ।

    घटस्थापनाका दिन दसैँघर अथवा पूजाकोठामा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी राखिएको जमरामा सातौ दिन आज नवदुर्गाको छैटौँ रुप कात्यायनीको पूजा आराधना गरिएको छ ।