

३ वर्ष पहिले
फागुन-३०,चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को सेवा प्रवाह सम्बन्धमा प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

इच्छाकामना वडा नं.५ मुग्लिन स्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाईको अध्यक्षता गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र विशिष्ट अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी रहेका थिए ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले कर्मचारीहरुले आफ्नो सेतो ड्रेसमा कुनै दाग नलाग्ने गरि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा गाउँपालिकाले गरेका प्रमुख कामहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले दिएका थिए।