२ वर्ष पहिले
मुग्लिङ। सामुदायिक हस्पिटलको रुपमा संचालित ईच्छाकामना गाउँपालिकाको एक मात्र हस्पिटल मुग्लिङ हाईवे हस्पिटलले भरतपुर स्थित सरकारी हस्पिटलसँगको सहकार्यमा र ईच्छाकामना गाउँपालिका वडा नं ५ को समन्बयमा फाल्गुन २० गते शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिन लागेको छ।
स्वास्थ्य सेवाको सहज पँहुचबाट वञ्चित बर्गहरुलाई लक्षित गरी आयोजना गरिन लागेको सो निशुल्क स्वास्थ्य शिबिरमा भरतपुर अस्पतालका बरिष्ठ स्वास्थ्य बिशेषज्ञहरुको सहभागिता रहने जनाएको छ। शिबिरमा बरिष्ठ गाईनोकोलोजिष्ट डा. सजन केसी, इन्टरनल मेडिसिन बिशेषज्ञ डा. सन्दिप पाण्डे, बरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाश कँडेल, मेडिकल अफिसर डा. रामनाथ ठाकुर र स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउनेछ। सो दिन स्त्री तथा प्रसूति, पाठेघर क्यान्सर, प्रेसर, सुगर, थाईराईड, पेट, छाती, मुटु, हाड, जोर्नी, नसा, घुडा र कम्मरको दुखाई सम्बन्धी समस्याहरुको परीक्षण तथा उपचार सेवा हुने जनाएको छ। २४ घन्टानै आबासिय मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मीहरुको टिमले राजमार्गमा हुने सडक दुर्घटनाका घाईतेहरुलाई आकस्मिक स्वास्थ्य सेवा र सीमान्तकृत चेपाङ र बिपन्न बर्गका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने यस हस्पिटलमा फार्मेसी, ल्याब, एक्सरे, ईसिजी सेवा सहित सामान्य प्रकृतिको अप्रेसन पनि गरिन्छ।
सेवा बिस्तारको क्रममा यस हस्पिटलले काठमाण्डौ, महाराजगंज स्थित टिचिङ हस्पिटलसँगको सहकार्यमा टेलिमेडिसिन सेवा पनि उपलब्ध गराएको छ ।