× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपाल महिला साफ यू १५ च्याम्पियन, महिला फुटबलमा नेपालको यो पहिलो उपाधि

    २ वर्ष पहिले

    कार्तिक-२५, अपराजित रहँदै नेपाली टोलीले महिला साफ यू १५ च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशमा सम्पन्न च्याम्पियनसिपको अन्तिम दिन घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएपनि नेपाल अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो ।

    महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले यसअघि उपाधि जित्न सकेको छैन ।

    डबल राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिपका यसअघिका तीनै खेलमा जित निकालेको हो । सहभागी ३ टोलीमा १० अंकका साथ नेपाल च्याम्पियन बनेको हो ।नेपालले भुटानलाई पहिलो खेलमा ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो ।

    शुक्रबार रुमा अख्तेरको गोलमा बंगलादेशले खेललाई १–१ को बराबरीमा ल्याएको थियो । उनले ५४ औं मिनेटमा गोल गरेकी थिइन् । ढाकास्थित बीएसएसएसएमके स्टेडियममा त्यसअघि खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई १–० को अग्रता लिएको थियो ।

    रानी बहादुर कानोनको कमजोर क्लिरेन्सलाई नियन्त्रणमा लिदै सुशिलाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्दा बंगलादेशकी गोलरक्षक सोंगिता रानी दासले बचाउन सकिनन् । खेलको अन्तिम मिनेट बंगलादेशको पेनाल्टीलाई नेपाली गोलकिपर सुजता तामाङले रोक्दै टोलीको सम्भावित हारलाई टारेकी थिइन् । विपक्षी जोएनब बिबी रिताको पेनाल्टी प्रहारलाई कप्तानको जिम्मेवारी समेत निर्वाह गरेकी सुजताले रोकी थिइन् ।