३ वर्ष पहिले
माघ-१९, तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् ।आजैबाट गाई वर्ष पूरा भई बाघ वर्ष सुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औं वर्ष पूरा भएर २८५८ औं वर्ष सुरु हुन्छ ।
माघ–शुक्ल प्रतिपदा अर्थात् चन्द्र वर्ष चन्द्र महिना आरम्भको पहिलो दिन नै तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसार प्रारम्भको पहिलो दिन हो। तिब्बती–संस्कृति परम्परामा सामीप्य राख्ने तामाङ समुदायमा पनि १२ वर्षका प्रत्येक वर्षलाई १२ जीवजन्तुका नाममा सम्बोधन हुने वर्ष चक्र प्रणाली चलिरहेको हुन्छ। १२ वर्ष पूरा भएपछि फेरि उनै जीवजन्तुका नाममा वर्ष दोहोरिइरहने क्रम देखिन्छ। अधिक मासको अवस्थामा भने १३ महिनालाई गणना गरिन्छ।
तामाङ समुदायमा बाह्र वर्ष चक्र प्रणालीलाई ल्होकोर च्युनी भनी सम्बोधन गरिन्छ। वर्ष–वर्षलाई प्रतिनिधित्व गर्ने १२ जीवजन्तुका नाम कसरी रहन पुगे भन्नेबारे पनि रोचक अनु श्रुतिहरू भेटिन्छन्। नयाँ बाली लगाउनुअगाडिको महिनामा मनाउने पर्व हुँदा कतिपयको भने कृषि वा कृषकसँग सम्बद्ध उत्सवका रूपमा सोनाम ल्होसार नामकरण गरिएको हुन सक्ने जिकिर रहेको छ।
तामाङ भाषामा १२ ‘ल्हो’ प्रतिनिधित्व गर्ने जीवजन्तु यस प्रकार छन्: १. जिवा (मुसा), २. लङ (साँढे÷गाई), ३. तक (बाघ), ४. हे÷कुरी (खरायो÷बिरालो), ५. डुक (गरुड÷ड्रागन), ६. डुल (सर्प), ७. ता (घोडा), ८. लुक (भेडा), ९. टे (बाँदर), १० ज्या (चरा), ११. खि (कुकुर) र १२.फक (बँदेल)।
सोनाम ल्होसारमा बाटाघाटा, घर–आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य–विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, लत्ता–कपडा, खानपान एवं सांस्कृतिक कार्यक्रमका लागि प्रशिक्षण आदिको व्यवस्थापनमा ध्यान दिइन्छ।
ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टीकाटालो र परस्पर सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै तहअनुसार आशीर्वचन लिने–दिने अनि शुभकामना आदानप्रदान हुन्छ। अलुम, कुथुग्पा, दुची, छेमार आदि खानाका परिकार बनाउने, चढाउने तथा प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ।
तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएकाे छ ।