

२३ असार २०७८, बिहीबार
असार-२४,युरोप फुटबलको दुई पावरहाउस इटाली र इङ्ग्ल्यान्ड उपाधिका लागि युरो कपको फाइनलमा भिड्ने भएको छ।
डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्डले युरो कपको उपाधि का लागि इटाली सँग भेट पक्का गरेको हो।

आज बिहान इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।
पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्यान्ड र यस अघि नै सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतवार खेल्नेछन् ।