४ वर्ष पहिले
चैत्र-२२, भारतको छत्तीसगढ राज्यस्थित बीजापुरमा शनिबार माओवादीसँग भएको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतीय सेनाले दिएको जानकारीअनुसार एक जना अझै बेपत्ता छन् ।
शनिबारको भिडन्तमा ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । भिडन्तपछि माओवादी लडाकुले हतियार, बुलेटप्रुफ ज्याकेट र सैनिकको बुटसमेत लुटेर भागेको अधिकारीहरुले बताएका छन् ।
भारतले पछिल्लो केही समययता मुलुकमा नक्सलविरोधी अपरेसन तीव्र पारेको छ । सोही क्रममा शनिबार सैनिकहरु शुक्मा–बिजापुर सीमा क्षेत्रमा अपरेसनमा निस्किएका थिए ।
उक्त अपरेसनमा गएका सैनिकमाथि माओवादीका लडाकुले आक्रमण गरेका हुन् । उनीहरुबीच करिब चार घण्टा भिडन्त भएको थियो । माओवादीले भिडन्तको क्रममा स्वचालित हतियार र ग्रिनेडको प्रयोग गरेका थिए ।
भिडन्तको क्रममा कम्तीमा एक महिलासहित नौ विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । सेनाले भने करिब १५ माओवादी लडाकुको मृत्यु भएको बताएको छ ।
सुरक्षाकर्मीको मृत्युप्रति शोक व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुको बलिदानी सधैँ सम्झिने बताएका छन् ।