× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भक्तपुरको मध्यपुरथिमिमा एकै घरका तीन जनाको हत्या

    ५ वर्ष पहिले

    भक्तपुर ।

    मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा आज शव फेला परेको छ ।

    महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

    आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोस्रो तलाको भर्याङ नजिकै कुकुरसमेत मरेका अवस्थामा भेटिएको बताइएको छ ।

    आज करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन जनाको शव फेलापछि प्रहरीलाई खबर गरेका थिए। उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिए ।

    तीन दिन अघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताए । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।

    महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिए। उनका अनुसार कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन ।रासस