

७ आश्विन २०८३, बिहीबार
असोज-८,जिल्ला प्रशासन कार्यालय चितवन तथा धादिङले बिहिबार राती (असोज ८) ८ बजेदेखि शुक्रबार बिहान (असोज ९) ५ बजेसम्म मुग्लिन नारायणगढ सडकखण्ड तथा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरेको छ ।
कार्यालयले छुटाछुटै बिहीबार सूचना जारी गर्दै उक्त समयमा मुग्लिन नारायणगढ तथा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।
हाल मौसममा आएको परिवर्तनका कारण चितवन तथा धादिङ जिल्ला र आसपासका क्षेत्रमा हाल निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ ।
यसबाट बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न मुग्लिन नारायणगढ सडकखण्ड तथा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय भएको कार्यालयले स्पष्ट पारेको छ ।
“यात्रु तथा सवारीसाधन चालकहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।

