× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    त्रिवेणी भगवती जसको जल अर्पण बिना मनकामनाको पूजा पूर्ण मानिदैन्।

    ३ घण्टा पहिले

    त्रिवेणीको जल : मनकामनाको बल। – राम बहादुर लामा

    त्रिवेणी भगवती मन्दिर एक पवित्र र ऐतिहासिक धार्मिक स्थल हो । पवित्र पावन मुक्तिदायनी त्रिशूली र मर्स्याङ्दी नदीको संगमस्थलको किनारमा अवस्थित त्रिवेणी मन्दिर आफ्नो भव्य ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक महत्ताका कारण भक्तजनहरु माँझ लोकप्रिय रहेका छन् ।  त्रिवेणी मन्दिर शक्ति स्वरूपालाई समर्पित पवित्र र शक्तिशाली मन्दिर हो। चण्डी रूप धारण गरेकी भगवतीलाई समर्पित गरी यो मन्दिरको स्थापना गरिएको हो। जहाँ  दुर्गा देवीकी एक स्वरूपको रूपमा नित्य  पूजा-अर्चना गरिन्छ। गण्डकी प्रदेशकै एक प्रसिद्ध यो शक्तिपीठमा देशभरका श्रद्धालु भक्तजनहरु पूजा अर्चनाको निम्ति यहाँ आउने गर्दछन्।  यो शिव भगवान स्वंयले उत्पन्न गरेको त्रिशूली नदी र विष्णु भगवानको जल स्वरूप  मानिने सप्त गण्डकी मध्येको एक मर्स्याङ्दी नदी जोडिएको पवित्र संगम स्थलको किनारमा अवस्थित छ । जसको कारण यस क्षेत्रलाई हरि हर क्षेत्र पनि भनिन्छ।  
    त्रिवेणी भगवती मन्दिर चितवनको मुग्लिङ वजारबाट करिब २०० मीटरको दूरीमा त्रिशूली पारी रहेको छ । १० मिनेटको पैदलदूरीमा मुग्लिङ वजारबाट सो  मन्दिरमा पुग्न सकिन्छ । सयौ बर्ष पुरानो आकाशै छुला जस्तो गरी उचालिएको भीमकाय अजङ्गको जोर पिपलको रूखको बीचमा अवस्थित यो मन्दिरको आगनीमा वेलगाम गतिमा उर्लेका त्रिशूली र मर्स्याङ्दी नदीको संगमस्थल रहेको छ। वरपर चारै तिर पहाडी थुम्की र वरपर मनोरम हरियाली दृश्यले ढाकिएको मन्दिर परिसर मानौ स्वर्गकै टुक्रा छुटाएर थपक्क सजाएको जस्तो लाग्छ। मुग्लिङ पारी गोरखा जिल्ला तर्फ रहेको त्रिवेणी भगवती जसलाई प्रसिद्ध शक्तिपीठ मनकामनाको ८ दिदी वहिनीहरु मध्ये कान्छी वहिनीको रूपमा मान्ने गरिन्छ ।

    उत्पत्ति कथा:

    त्रिवेणी भगवतीको उत्पत्तिका सम्वन्धमा प्रचलित तीन चार वटा किंबदन्ती रही आएका छन । त्रिवेणी भगवती रहेको स्थल  विष्णु भगवानको जल स्वरूप मानिने नारायणी नदीको शिर त्रिशूली र मर्स्याङ्दी नदीको संगमस्थल हो ।  भगवान विष्णुको जल स्वरूप मानिने सात गण्डकी मध्ये एक मर्स्याङ्दी नदी र देवाधि देव शिव भगवान स्वंयले त्रिशूल रोपी फुटाएको त्रिशूली नदीको संगममा हरिबोधिनी एकादशीका दिन सम्पूर्ण देव देवीहरु स्वर्ग र यस भेगमा आदि शक्ति माताहरु स्नान गर्न आउने चलन रहेको छ । जसलाई वराह पुराणमा पनि उल्लेख गरिएको छ। पवित्र पवन संगम स्थलमा पवित्र डुबुल्की मारी फर्किने क्रममा ढिलो हुदा कान्छी वहिनी त्रिवेणी माईले कुखुराको भाले बासेको सुनेछन् । लौ बर्बाद भयो , अपशकुन हुने भयो भनेर कान्छी वहिनी चाहि दिदीहरुलाई छोडेर भैगो अब म यही बस्छु भनेर नदी कै तीरमा रहेको जलकुण्डमा बसेछन। देख्दा पनि त्यस्तै देखिन्छ। त्रिवेणी भगवतीको बाकी ७ दिदि देवीहरु सबै वरपर रहेका डाडाँका टाकुरामा विराजमान छिन भने कान्छी वहिनी त्रिवेणी मात्र सो टाकुराको बेसीमा रहेको जलकुण्डमा स्थापित छिन ।

    अर्को प्रचलित किंबदन्ती अनुसार, जलको पर्यावाची शब्द नीर हो। संस्कृतमा यो शब्दलाई नर पनि भनिन्छ। हिमाच्छादित पर्वतमालाबाट स्वंय भगवान शिवले त्रिशूल रोपी फुटाएको मूलबाट बनेका गुसाईकुण्डबाट उत्पन्न भई बगेका त्रिशूली नदी र विष्णु भगवानकै जल स्वरूप मानिने सप्त गण्डकी मध्येको एक मर्स्स्याङ्दी नदीको संगल स्थल भएका कारण यो स्थललाई देवघाट भई बग्ने नारायणी नदीको शिर मानिन्छ। स्वभाविक रूपमा शिरको उच्चता र पवित्रता पृथकनै मानिन्छ। विष्णु भगवानलाई नारायण पनि भनिन्छ। नारायण भनेको जलको आसन वा  वासस्थल हो।  वैकुण्ठ धाममा रहेको क्षीरसागरको गहिराईमा भगवान विष्णु निवास गर्ने हुदा विष्णु भगवालाई नारायण भनिएको हो। फलस्वरुप नदीलाई माताको रूपमा सम्बोधित गर्ने हुदा भगवान विष्णुको जल स्वरूप यस नदीलाई नारायणी भनिएको हो। तीन नदीको संगमस्थल त्रिवेणीमा जल स्वरूपमा विष्णु भगवान बस्नु भएकोले  नदीलाई देवीको रूपमा मानी नदी किनारमै रहेको जलकुण्डलाई त्रिवेणी मानी पूजा गर्न थालिएको भन्ने विश्बास रहेको छ। 

    यसै गरी अर्को किंबदन्ती अनुसार , स्वर्गको राजा इन्द्रको पत्नी इन्द्रायणी नबदुर्गा देवीको एक गण देवीको रूपमा देवासुर संग्राममा राक्षसहरुको बध गरी फर्किने क्रममा बाटोमा बास बसेछन।  भाले बास्दा सम्म सुतेको कारण अपशकुन लाग्यो भनेर पृथ्वी मै बस्ने निर्णय गरी यही किनारमा रहेको जलकुण्डमा भगवती स्वरूपमा शिला धाराण गरी बसेको भन्ने जनश्रुती रहेको छ । त्यसकारण इन्द्रायणीलाई अपभ्रंश भई त्रिवेणी भनिन थालेको हो भन्ने भनाई रहेको छ। स्मरणिय रहोस इन्द्र भगवान बर्षाको देवता मानिन्छ। र यसकारण त्रिवेणीलाई अष्टमातृका मध्ये एक चण्डी भगवतीको स्वरूपमा मान्ने गरिएको हो भन्ने विश्चास गरिन्छ  ।

    यस सगै प्रचलित अर्को किंम्बदन्ती अनुसार एकपटक यहाको जंगलमा शिकार खेल्न एक राजकुमार लावालस्कर सहित आउदा अबेला भएको कारण यहीको घना जंगलमा बास बसेछन। राती बास बस्दा हाल त्रिवेणी मन्दिर रहेको जलकुण्डमा राती आकाशबाट ज्वालारूपी स्वरूपमा आकाशबाट एक पछि अर्को गरी लगातार देवी आई अलप भएछन् । दरबार फर्केपछि सो राजकुमारले यो कुण्ड देवीहरुको दरबार रहेछन भनी सो स्थल बरपर पर्खालले घेरी नित्य पुजा आराधनाको चलन चलाए।

    मनकामनामा त्रिवेणीको जल चढाउने प्रचलन कसरी शुरु भयो ?

    जनश्रुति अनुसार एक पटक मनकामना मन्दिरको मूर्तिमा पसिना आउन  थाल्यो। स्थानीय तान्त्रिक र पूजारीहरुले आफ्नो विधि विधान वमोजिम जति पूजा पाठ गर्दा पनि सो पसिना रोकिन सकेन। पसिना रोकिएन भने ठूलो अनिष्ट  र कष्ट आउने भएकोले सवै चिन्ता र डरले छटपटाउन थाले। स्थानीय तान्त्रिकहरुले जोखना हेर्दा  काठमाण्डौका गुरुवाचार्य तान्त्रिक पुजारी आई त्रिवेणी मन्दिरको जल माता मनकामनाको मूर्तिमा अर्पित गरी तान्त्रिक विधिको वज्र भैरव पूजा गरयो भने सो पसिना रोकिन सक्छ भन्ने कुरा देखिए पश्चात सोही बमोजिम काठमाण्डौं झबहालका गुरुवाचार्य तान्त्रिक बौद्ध गुरुहरुलाई आमन्त्रित गरी त्रिवेणीको गर्भगृहमा रहेको अक्षय कुण्डको जल मनकामनाको मूर्तिमा अर्पण गरी बिधिबत वज्र भैरवको तान्त्रिक पूजापाठ गरे पश्चात पसिना रोकी अनिष्ट टरेको भन्ने किंबदन्ती पाईन्छ  । सो दिनबाट मनकामनाको तान्त्रिक गरुवाचार्य पूजारीले गर्ने वार्षिक पर्व ( कातिक र वैशाख पञ्चमी ) पूजामा त्रिवेणीको जल  चढाई पूजा गर्ने चलन चलेको स्थानीय वासीको कथन रहेको छ। यसको अलवा काठमाण्डौ हनुमानढोकास्थित दशै घरमा गोरखाबाट लिएर आउने फूलपाती र जमरामा त्रिवेणीको जल चढाए पछि मात्र काठमाण्डौ प्रस्थान गर्ने चलन अद्यापि कायमै छ।

    यस कारण मनकामनाको नित्य पूजामा त्रिवेणीको जल अर्पण अनिवार्य मानिन्छ। 

    जन विश्वास अनुसार मनकामनाकी कान्छी वहिनीको रूपमा परिचित त्रिवेणी भगवती चितवनको मुग्लिङ पारी गोरखा जिल्लाको सबैभन्दा होचो भूभागमा अवस्थित रहेकी छन्। वरपर फैलिएको रमणीय वोट वृक्षहरुको विचमा र पवित्र पावन जीवनदायिनी त्रिशूली र मर्स्याङ्दी नदीको संगम स्थलको किनारमा अवस्थित त्रिवेणी भगवती अन्य  तीर्थस्थलको तुलनामा वढी पवित्र र शक्ति सम्पन्न हुन्छन् भन्ने शास्त्रीय र पौराणिक मान्यता रहि आएको छ। त्रिवेणी मन्दिरको गर्भ गृहमा कहिल्यै नसुक्ने अक्षय जलकुण्ड रहेको छ। सोही कुण्डले अभिसिञ्चित गरेकी शिलालाई देवीको स्वरूपमा पूजा गर्ने चलन रहेको छ।  पुराणमा पनि यस स्थलको पवित्रता र शुद्धताको विषयमा उल्लेख भएको पाईन्छ।  स्कन्द पुराणको हिमवत् खण्डको गण्डकी माहात्म्यमा यस क्षेत्रको वर्णन गरेको भेटिन्छ।

    न माधवसमो मासो न कृतेन युगं समम् ।
    न च बेदसमं शास्त्रं न तीर्थ गण्डकी समम् ।।

                                             स्कन्दपुराण ।

    अर्थात्  वैशाख समान कुनै महिना छैन। सत्ययुग समान कुनै युग छैन। वेद समान कुनै शास्त्र छैन। र गण्डकी समान कुनै तीर्थ छैन।

    यस्ता पवित्र पावन नदीको किनारमा स्वंय जलकुण्डमा विराजमान  रहेकी त्रिवेणीको जल लगेर मनकामनाको पर्व पूजा गर्ने  गरिन्छ। मनकामनाको पर्व पूजामा त्रिवेणीको जल चढाउनु अनिवार्य मानिन्छ।  शुरुमा दैनिक चल्ने नित्य पूजामा समेत त्रिवेणीको जल अर्पण गर्ने गरिन्थ्यो पछि वार्षिक गुठी पूजा वैशाख पूर्णिमा  र कात्तिक पूर्णिमाको पूजामा यो चलनलाई कायमै राखिएको छ।

    त्रिवेणी जलकुण्ड के हो ?
    त्रिवेणी मन्दिरको गर्भ गृहमा कहिल्यै नसुक्ने अक्षय जलकुण्ड रहेको छ। सोही कुण्डले अभिसिञ्चित गरेकी शिलालाई देवीको स्वरूपमा पूजा गर्ने चलन रहेको छ। सो जलकुण्डको मूलनै त्यही रहेको छ भने,  त्यसको निकास त्रिवेणी मन्दिरको  किनारमा रहेको त्रिशूली र मर्स्याङदीको दोभानमा जमिन भित्रैबाट मिसिन्छ भन्ने लोकोक्ति रहेको छ। यो कुण्डको मूल बिशेषता भनेको यसको जल कहिल्यै धमिलो हुदैन्। बाह्रै मास सङलो पानी रहने यस कुण्डको बिशेषता हो। जस्तो सुकै चर्को खडेरीमा पनि यसको जलकुण्डको मूल सुक्दैन्। यो अक्षय जल कुण्डलाई भगवान विष्णु निद्रित अवस्थामा रहदाको क्षीर सागरको प्रतीक मानिन्छ। जनश्रुति अनुसार सृष्टिका पालनकर्ता भगवान विष्णु चतुर्मासमा क्षीर सागरमा निद्रित अवस्थामा रहदा जगत र जीवनको सन्तुलन खलबलियो। देवलोकमा आसुरी शक्ति र अनिष्टको प्रलय भयो। देवताहरु स्वंय बस्न र टिक्न कठिन भयो। चारैतिर हाहाकार मच्चियो। पवित्र पावन दुई नदीको संगमस्थलको किनारमा रहेको जलकुण्डमा बिराजित त्रिवेणी भगवतीले सो दुख हरण गर्न आफ्नो शक्ति जागृत गर्नु भयो। जागृत शक्तिको कम्पनले क्षीर सागरमा महा हलचल पैदा भयो। फलस्वरूप यो शक्तिरूपी जलकम्पनको कारण चीर निद्रामा निद्रित विष्णु भगवान जाग्नु भयो। साक्षत् देवी शक्तिको जागरणले ओतप्रोत भएकोले यस जलकुण्डको महिमा र महत्च अपरम्पार छ। अलौकिक छ। यस कारण यस्ता जागृत शक्तिको श्रोत भएकोले यो जलकुण्डमा रहेको जल लगी मनकामना देवीको मूर्तिलाई अर्पण गरेपछि मात्र मनकामनाको मूल पूजा पूर्ण हुन्छ। मनकामना देवीको शक्ति संचारित हुन्छ, जागृत हुन्छ भन्ने मान्यता रहेको छ।

    यसको साथै नेपालीहरुको महान पर्व वडादशैमा गोरखाबाट काठमाण्डौ हनुमानढोकामा लगिने फूलपाती मनकामना ल्याइपुरयाउँदा त्रिवेणी भगवतीको जलकुण्डबाट लगेको पवित्र जलले अभिषेक गरेपछि मात्र काठमाण्डौ पुरयाउने चलन रहेको छ। यस भेगमा रहेका मातृ शक्तिका प्रतीक शक्ति स्वरूपा मनकामा सहित वरपर रहेका ८ दिदी वहिनी देवीहरुको मूल निवासको  रुपमा त्रिवेणी भगवतीको जलकुण्डलाई मानिन्छ। जुन यस भेगमा प्रसिद्ध शक्तिपीठ ८ देविहरुको महामुद्रा ( तान्त्रिक साधना )  पनि हो । यस्तो ओजस्वी कुण्डको जललाई  सवै स्थानीय मातृ देवीहरूको समष्टि स्वरूप मानिन्छ। यसै कारण यो जल जहा अर्पण गरिन्छ त्यँहाको शक्ति झन तेज र बलशाली हुने मान्यता रहेको छ।

    मन्दिरको धार्मिक महत्त्व एवं महिमा:
    पौराणिक गाथाहरु सँग यस मन्दिरको उत्पत्तिको कथा गाँसिएकोले यस्को प्राचिनताको पुष्टि हुन्छ । यस कारण यसको धार्मिक महत्व धेरै पुरानो देखिन्छ। शास्त्रमा देबीको महात्म्यका बारेमा थुप्रै वर्णन पाईन्छ।। मन्दिरको संरक्षण र संचालनको निम्ति बि सं १९५१ मै त्रिवेणी भगवतीको नाममा गुठी ब्यबस्था गरेको लिखत पाईन्छ। विष्णु भगवानको  स्त्री स्वरूप नारायणी भएकोले नारायणीलाई दुर्गा पनि भनिन्छ। जसले राक्षसहरुको अन्त्य गर्न  महाकाली, महासरस्वती, महालक्ष्मीको तीनै रुप चण्डी भगवतीको रूप धारण गरेका थिए। यस कारण त्रिवेणी देवीको पूजा आराधना गर्नाले हामीलाई एकसाथ काली, लक्ष्मी र सरस्वतीको कृपा र आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। शास्त्र अनुसार शक्तिपीठलाई देवीको विशेष शक्ति वा शक्ति उत्पन्न भएको ठाउँको रुपमा लिने हुदा  यस्ता शक्तिपीठहरुमा पुगेर गरिने पूजाले देवीको साक्षात् शक्ति प्राप्त हुने र अधुरा अपुरा कामहरु पूरा हुने र महोकांक्षाहरु सजिलै पुरा  हुने धार्मिक मान्यता रहदै आएको छ। भगवान विष्णु चतुर्मासमा निद्रित अवस्थामा रहेको क्षीर सागरको प्रतीक मानिने यहाको जलकुण्डको महिमा अपरम्पार छ। 

    मनकामनाका चार देवीहरु सबै त्रिवेणी संगमस्थलकै वरपरका डाडाँहरुमा रहेको हुदा त्रिवेणी जलकुण्डमा रहेको जलले सबै देवीको पाउ अभिषेक गरेको हुदा सो जललाई चारै देवीको चरणामृत मानिन्छ। जुन जल अमृत र औषधी समान मानिन्छ। र अन्त्यन्त पवित्र र चोखो सगुन मानिन्छ। यसका साथै मनकामनामा हुने बार्षिक पर्व पूजामा त्रिवेणीको जल लगी मनकामनाको शिलालाई अर्पण गरे पश्चात मात्र पूजा शुरु हुन्छ। यसका साथै वडा दशैमा गोरखाबाट काठमाण्डौको हनुमान ढोकामा भित्र्याउने फूलपातीलाई मनकामना मन्दिरमा ल्याईपुरयाउँदा त्रिवेणी मन्दिरमा रहेको जलकुण्डको जल लगी अर्पण गरे पछी मात्र काठमाण्डौ तर्फ लगिने परम्परा रहेको छ। कात्तिक ठूलो एकादशीमा लाग्ने त्रिवेणी मेलामा देशभरबाट मेला भर्न र देवीको दर्शन गर्न नेपालका टाढा टाढाबाट भक्तजनहरुक भीड उर्लिन्छ। हिजोआज यहा पशुपतीनाथको दर्शन गर्न आएका भारतीय दर्शनार्थीहरु पनि त्रिवेणी देवीको दर्शन गर्न आउन थालेका छन।

    मन्दिरको सांस्कृतिक महत्त्च र महिमा:
    मन्दिर केबल उपासना, पूजा-अर्चनाको स्थल मात्र होईन । भक्तजनहरुको आस्था र श्रद्धाको ऊर्जा केन्द्र पनि हो। जहाँ धार्मिक, सांस्कृतिक एवं परम्परा लक्षित विविध गतिविधिहरु आयोजना गरिन्छ। संचालित हुन्छ। समाजको एक अभिन्न अंगको रूपमा मन्दिर रहने भएकोले यसले एकसाथ समाज र सम्पदालाई भावनात्मक रूपमा जोडने कार्य गरेको छ ।  सांस्कृतिक, आध्यात्मिक र वास्तुकलाको अद्धितीय उदाहरणको रूपमा मन्दिर रहेको हुन्छ।  प्राचिन कालमा मन्दिर सो स्थलको ज्ञान, ध्यान र समर विज्ञानको शिक्षालय समेत हुने गर्दथ्यो।  शाक्त, शैव र वैष्णव तीनै सम्प्रदायका भक्तजनहरुले श्रद्धा र आस्थाका साथ पूजा गर्ने भएकोले यो मन्दिर धार्मिक एवं सांस्कृतिको एकताको प्रतीकको रुपमा समेत रहन गएको छ । तान्त्रिक साधना गर्ने वज्रयान बौद्धमार्गीहरुले वज्रयोगिनीको रूपमा त्रिवेणी भगवतीलाई मान्ने हुदा यहा वज्रायान बौद्धमार्गीहरुले समेत पूजापाठ र अनुष्ठानहरु गर्ने गर्दछन्।

    जल अर्पणको अर्थ र महत्व:

    देवी मन्दिर र मूर्तिमा जल अर्पण गर्नु सनातन कालदेखि चल्दै आएको प्राचीन पराम्परा हो। वेद र पुराणमा पनि यसको महत्त्वको बारेमा उल्लेख गरिएको छ।  यो केवल धार्मिक कर्मकाण्ड मात्र नभई आध्यात्मिक, वैज्ञानिक र सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिने पद्धति हो। जल सृष्टि र प्रकृतिको श्रोत हो, जीवन र जगतको मूल हो। हाम्रो संस्कार र संस्कृतिको एक अभिन्न तत्त्व हो। तसर्थ जल विना जगत् र जीवनको कल्पनै गर्न सकिदैन। जललाई शुद्धता, पवित्रता र सम्पन्नताको प्रतीक मानिन्छ। शास्त्रमा समेत जलको महिमा यसरी वर्णित गरेको पाईन्छ।

    जलं जीवस्य जीवनं, जलं धर्मस्य कारणम्। 
    जलं पुण्यं जलं तीर्थं, जलं सर्वस्य कारणम्॥

    गरुण पुराण

    अर्थात् :

    ” जल नै प्राणीको जीवन हो, धर्मको कारण हो, पुण्यको आधार हो र तीर्थको सार हो। जल समस्त सृष्टिको मूल हो। ” यसकारण हामी पूजा वा कुनै पनि धार्मिक अनुष्ठानमा जलको प्रयोग गर्ने गर्छौ। भगवानको मूर्ति वा आकारलाई स्नान गराउन, पूजाको दौरान आरतीमा छर्किन र मन्त्र जप पहिले र  पछि आचमन गर्नको लागि जलको प्रयोग गर्दछौ। कुनै पनि मांगलिक कार्यमा जललाई राख्नु पवित्र मानिन्छ। शास्त्रमा जललाई अमृत समान महत्त्व दिएको छ। भगवानको पूजा गर्दा भोगको साथमा जल समर्पित गर्नु अनिवार्य मानिन्छ। अन्यथा भगवानलाई गरिएको भोग पूर्ण हुदैन।   र जहा जललाई शुद्धतापूर्वक राखिएको छ त्यस तर्फ सकारात्मक उर्जा आकर्षित हुन्छ र त्यस वरपरको वातवरणमानै ऊर्जाको संचार गराउँदछ जसको कारण मन शान्त हुन मद्धत पुग्छ। जापानका विश्च विख्यात बैज्ञानिक ईमोतो मासारुले पानीमा स्मरण शक्ति हुन्छ र हाम्रो भाव अनुसार पानीको रूप परिवर्तन हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ। यसकारण शास्त्र र विज्ञानले पनि  मांगलिक कार्यमा जल अर्पण गर्नुको पृथक महत्त्व रहेको बताएको छ, प्रमाणित गरेको छ। त्रिवेणीको जलमा सबै स्थानीय मातृ शक्तिहरुको शक्तिको समष्टि स्वरूप सजिएकोले सो जलले जहा अर्पण गर्दा पनि आफ्ना प्रार्थना र सो स्थलको शक्ति झन बढ्ता मुखरित र तेजस्वी हुने मान्यता रहेको छ।

    – संयोजक,  मनकामना देवी धार्मिक सर्किट विकास अभियान।